काठमाण्डौं । वैदेशिक रोजगारीका लागि आवेदन दिएका व्यक्तिले अब एक दिनमै श्रम स्वीकृति पाउने भएका छन् ।
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने भएको छ ।
हाल श्रम स्वीकृति लिन टोकन प्रणालीमार्फत तोकिएको दिनमा मात्रै स्वीकृति प्रदान हुँदै आएकोमा अब टोकन प्रणाली खारेज गरेर सोही दिन स्वीकृति लिने व्यवस्था गरिएको छ।
पूर्वप्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।
मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले अभिमूखीकरण तालिम पनि पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित बनाइने निर्णय गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम् ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, कार्य वातावरण र स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरी वैदेशिक रोजगारीको न्यूनतम् मापदण्ड तयार गर्ने, रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने गरी सीप विकास तालिम प्रदान गरी रोजगारमा आबद्ध गर्ने विषयमा पनि मन्त्री शाहले छलफल गरेका हुन् ।
यस्तै श्रमाधान योजनालाई आन्तरिकीकरण गर्दै श्रमाधान कल सेन्टरलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउने तथा औद्योगिक प्रतिष्ठानहरूमा जोखिम मूल्याङ्कन गरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रवर्द्धन गर्ने, उत्पादन र उद्यमशीलता प्रवर्द्धन गरी आन्तरिक रोजगारी सिर्जना गर्ने र थप पाँच देशसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने निर्णय बैठकले गरेको छ ।
अब एकै दिनमा श्रम स्वीकृति, टोकन लिन नपर्ने
अमेरिकी–इजरायली आक्रमणले तेहरानमा विद्युत आपूर्ति बन्द, सडकमा लाग्यो ‘अल्लाहु अकबर’को नारा
काठमाडौं । अमेरिकी–इजरायली आक्रमणपछि इरानको राजधानी तेहरानमा विद्युत आपूर्ति बन्द भएको छ ।
इरानको ऊर्जा मन्त्रालयका अनुसार आक्रमणका भग्नावशेषहरूले अल्बोर्ज प्रान्तको पावर ग्रिडमा क्षति पुर्याएको छ, त्यसकारण तेहरान र काराजका धेरै क्षेत्रहरूमा अन्धकार भएको छ ।
बिजुली गएपछि ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र ‘अल्लाह हु अकबर’को नारा लगाए । मानिसहरूले आफ्नो घर र छतबाट नारा लगाइरहेका देखिएका थिए । साथै, मन्त्रालयले चाँडै नै विद्युत आपूर्ति पुनर्स्थापित हुने र स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
काठमाण्डौं । शासकीय सुधारका १०० कार्यसूचीहरूको प्रत्यक्ष निगरानी गर्न सरकारले वेवासाइट ल्याएको छ ।
आफूले ल्याएको शासकीय सुधारका कार्यक्रमहरूलार्य प्रत्यक्ष निगरानी गर्न सरकारले ‘प्रतिपक्ष डटकम’ नामको वेवसाइट सुरु गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएपनि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शुक्रबार स्वीकृत गरी शनिबार सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूचीलाई निगरानी गर्न वेबसाइट सुरु गरेको हो ।
उक्त वेवसाइटमा सरकारका १०० बुँदे प्रतिबद्धतालाई मुख्य आधार बनाएर कामको प्रगतिको आधारमा वर्गीकरण गरिएको छ ।
वेबसाइटमा सरकारले कति वटा प्रतिबद्धता जनाएको थियो, तीमध्ये कति पूरा , कति काम भइरहेका छन्, कति तोडिए र कतिको सुरुवात नै भएको छैन भन्नेबारे विस्तत जानकारी राखिने छ ।
यसका साथै कुन काम कहिलेसम्म सम्पन्न गर्ने भनिएको थियो र हाल त्यसको अवस्था के छ भन्ने जानकारी पनि त्यहाँ समावेश छ ।
हरेक बुँदा सम्पन्न गर्न कति दिन बाँकी छ भन्ने जानकारी सूची पनि वेवसाइटमा छ । वेवसाइट सबैको सहजताका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढ्न मिल्ने बनाइएको छ ।
रवि लामिछानेको मुद्दा संशोधनको निर्णय विरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पेश हुने फैसला भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले आईतबार रिट पूर्ण इजलासमा पेश हुने फैसला गरेको हो ।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज पौडेल र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको ७ पृष्ठ लामो ‘टिप्पणी आदेश’मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य २ गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज बिहान पक्राउ परेका खड्कालाई म्याद लिन जिल्ला अदालत काठमाडौं लगिएकोमा न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।
पूर्व उर्जामन्त्री रहेका खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी नै रहेको आधार देखाउँदै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई ५ दिनका लागि प्रहरी हिरासतमा राख्ने अनुमति प्रदान गरिएको जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो । लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रूपमा उपस्थित गराइएको थियो ।
सिटिजन्स बैंकद्वारा विद्यालयका छात्रछात्रालाई पोशाक वितरण
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कायक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयका २०५ बालबालिलाई ट्रयाकसुटहरु सहयोग प्रदान गरेकोे छ । यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई सञ्चालनमा आएको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकका सर्केगाड शाखामार्फत सहयोग स्वरुप ट्र्याकसुटहरु हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तर्गत बैंकले विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट पोशाक वितरण गरेको छ, जसले विद्यार्थीहरूलाई खेलकुद, व्यायाम र दैनिक विद्यालय गतिविधिमा आरामदायी र न्यानो पोशाक उपलब्ध गराउनेछ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख २ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रूपियाँ निक्षेप तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैँकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ४० अर्ब रूपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
२१ दिन अर्थात् आगामी बैशाख ६ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।
महालक्ष्मी क्यालेन्डरको डिजिटल संस्करण सार्वजानिक
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी क्यालेन्डर २०८३’ को डिजिटल संस्करण बैंकको केन्द«य कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।
महत्वपूर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।
नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।
शेयर बजारमा ७१.०५ अंकको पहिरो, सबै समूह राताम्मे
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वका नयाँ सरकार गठन भएपछि आम जनता आशावादी भएको भनिएका बेला शेयर बजारमा भने निराशा छाएको छ ।
अर्थमन्त्रीमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले नियुक्त भएसँगै शेयर बजारमा उत्साह छाउने आँकलन गरिएका बेला नयाँ सरकार बने पछि पहिलो दिन खुलेको बजारमा ठूलो पहिरो गएको हो । कारोबार रकम पनि १५ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजारमा ७१.०५ अंकको पहिरो गएको हो । २.४० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८७९.११ अंकमा ओर्लिएको छ ।
आज सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी फाइनान्स समूह ३.३८ अंकले घटेको छ ।
आज ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८ सय ६७.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले भने ९ प्रतिशत बढी नाफा कमाएका छन् । रिलायन्स स्पिनिङ, सुपरखुदी हाइड्रो, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेष्ट इनका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९, ९.९८ र ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
त्यस्तै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.१७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिडी पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७१ करोड ११ लाख ७३ हजार ५ सय ५६.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

















