काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ ।
निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन
नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन ।
सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । हाल बैंकमा ३०० जना कर्मचारी कार्यरत रहेका छन् भने ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
आज पहाडी जिल्लामा होलीको उल्लास
काठमाडौँ । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।
फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसंगीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ ।
तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्बोधनको समय भने उल्लेख गरिएको छैन ।
झापा– ५ ः ओली र बालेन अन्तिम घरदैलोमा
काठमाण्डौं । निर्वाचनको इपिसेन्टर बनेको झापा– ५ मा भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवारहरू सोमबार चुनावी प्रचारप्रसारको अन्तिम दिन घरदैलौ अभियानललाई तीव्रता दिएका छन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि सोमबार चुनाव प्रचारप्रसारको अन्तिम दिन रहेको हो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार अन्तिम घरदैलोमा छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले झापा–५का चारवटै पालिकामा घरदैलो गर्दैछन् ।
ओलीले दमक नगरपालिका– ४ मा श्रमिकहरूसँग भेटघाट, गौरादह नगरपालिका–७ स्थित खावाघाट, गौरीगञ्ज गाउँपालिका– ३ को रिमाल टोल, गौरीगञ्ज–६ स्थित आत्माओझा, कमल गाउँपालिका– ४ स्थित लिम्बू गाउँलगायतका स्थानमा घरदैलो गर्दैछन् ।
त्यस्तै, बालेनले दमक नगरपालिकाभित्र नै घरदैलो गर्दैछन् । उनले दमकको गोर्खा डिपार्टमेन्टबाट घरदैलो सुरु गरेका छन् ।
दमकको जेसीज चोक, इलाका प्रहरी कार्यालय, लेखनाथ चोक, सिरपाली चोक, आँखा शिविर, दुर्गा मन्दिर, बेलडाँगी, बाघखोर, आमचोक, मिलडाँगा, नयाँ आम्दा, संगम चोक, कृष्ण मन्दिर, उदय टोल, टुक्रे, इन्द्रेणी ताल, संगम चोक, सगरमाथा चोक, पखटे, शान्तिमार्ग रोड, अमरचोक, बालुवाटार, किराँत चोकबाट दमकको मुख्य चोक गणतन्त्र चोक हुँदै पसुहाटमा पुगेर बालेनको घरदैलो समापन हुनेछ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपां) का उम्मेदवार रञ्जित तामाङले पनि अन्तिम घरदैलो गर्दै छन् ।
यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलालगायत पार्टीका उम्मेदवारले पनि अन्तिम दिन घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनको अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले जनाए ।
आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए ।
उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको अन्तिम मिति चैत मसान्तसम्म
काठमाडौं । कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्त सम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालयहरु तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको हो ।
अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।
आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यता प्राप्त स्नातकोत्तर वा एमफिल विषयमा भर्ना भएको हुनुपर्नेछ ।
बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीहरुलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना सोधकर्ता विद्यार्थीहरुलाई बैंकिङ, अर्थतन्त्र र सूचना तथा प्रविधिसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।
उक्त अनुदान प्राप्त गर्नको लागि सम्बन्धित कलेजको सिफारिससहित १३ अप्रिल २०२६ (चैत मसान्त) भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ । सम्बन्धित विषयका विज्ञ समेत रहेको छनौट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरुको छनौट गर्नेछ ।
विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टीकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ । बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाए ।
नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट फेलोसिप रिसर्च ग्रान्ट प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलव्ध गराउने भएको हो ।
यूएईमा इरानी मिसाइल आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु
काठमाण्डौं । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट भएका शृंखलाबद्ध आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२६ फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणमा हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, २ वटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनहरू प्रहार गरिएका गल्फ न्युजले जनाएको छ ।
आक्रमणका क्रममा ३ जना विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरूमा नेपाल, पाकिस्तान र बंगलादेशका १–१ जना नागरिक रहेका छन् । आक्रमणमा परी विभिन्न १५ देशका ५८ जना व्यक्तिहरू सामान्य घाइते भएका छन् । घाइते हुनेहरूमा इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, श्रीलंका र यमन लगायतका नागरिकहरू छन् ।
यूएईको रक्षा मन्त्रालयका अनुसार प्रहार गरिएका १६५ ब्यालिस्टिक मिसाइलमध्ये १५२ वटालाई बिचमै नष्ट गरिएको छ भने १३ वटा समुद्रमा खसेका छन् । ५४१ वटा ड्रोनमध्ये ५०६ वटालाई आकाशमै ध्वस्त पारिएको छ भने ३५ वटा ड्रोनहरू देशका विभिन्न स्थानमा खस्दा भौतिक क्षति पुगेको छ ।
आक्रमणको दोस्रो दिन आईतबार बिहान मात्रै सशस्त्र बलले २० वटा ब्यालिस्टिक मिसाइल, २ वटा क्रुज मिसाइल र ३११ वटा ड्रोनहरू नष्ट गरेको विज्ञप्तिमा उल्लेख छ । २१ वटा ड्रोनहरू भने नागरिक बस्तीका निशानामा खसेका छन् । मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गर्दा त्यसका टुक्राहरू विभिन्न स्थानमा खस्दा केही सर्वसाधारणको घर र सम्पत्तिमा सामान्यदेखि मध्यम खालको क्षति पुगेको छ ।
यूएई सशस्त्र बलले कुनै पनि खतराको सामना गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको र नागरिक, बासिन्दा तथा आगन्तुकहरूको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अनावश्यक हल्ला वा अपुष्ट जानकारी नफैलाउन आग्रह गरेको छ ।
मध्यपूर्वमा १७ लाख नेपाली छन्, सुरक्षा उच्च प्राथमिकतामा छ ः परराष्ट्र मन्त्रालय
काठमाण्डौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ ।
अमेरिकासँग इजरायल र इरानबिचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव कमलप्रसाद ढकालले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको जनाउँदै नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए ।
उनले भने, ‘मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन् ।’
उनले अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित रहेको र मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरू त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराए ।
‘अहिलेसम्मको जानकारी अनुसार मध्यपूर्वमा रहेका नेपालीहरू सुरक्षित हुनुहुन्छ । मध्यपूर्वस्थित विभिन्न मूलुकमा रहेका १० वटा नेपाली नियोगहरू त्यहाँ रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेर अवस्था बुझेर परराष्ट्र मन्त्रालयमा रिपोर्ट गरिरहनुभएको छ,’ उनले भने ।
मन्त्रालयका अनुसार हाल मध्यपूर्वमा करीब १७ लाख २९ हजार २८८ नेपाली रहेका छन् ।
सूर्यज्योति लाइफको २५ प्रतिशत लगानीमा धनगढीमा पाँचतारे होटल बन्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमै पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल निर्माणका लागि धनगढीस्थित क्लब चौलानी लिमिटेडमा २५ प्रतिशत शेयर लगानी गर्ने सम्झौता गरेको छ। उक्त होटल अन्तर्राष्ट्रिय होटल समूह आईएचजी होटेल्स एन्ड रिसोट्र्स अन्तर्गतको ‘होलिडे इन धनगढी’ ब्रान्डमा सञ्चालन हुनेछ।
सम्झौतापछि क्लब चौलानी लिमिटेडका अध्यक्ष डा. राजेन्द्र केसीले धनगढीमा अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन पाउनु महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनले धनगढीलाई पश्चिम नेपालको व्यावसायिक तथा पर्यटन प्रवेशद्वारका रूपमा उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवाको ठूलो सम्भावना रहेको जनाएका छन्। आईएचजीको अनुभव र गुणस्तर मापदण्डअनुसार अतिथिलाई विश्वस्तरीय सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ।
होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ वटा प्रिमियम सुइटसहित ११५ आधुनिक अतिथि कक्ष रहनेछन्। करिब १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्याङ्क्वेट हल, रुफटप स्विमिङ पुल, बहुपरिकार रेस्टुरेन्ट, पूर्ण सुसज्जित फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्ष र विशेष निजी भोजन सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई ध्यानमा राख्दै स्थिर प्रतिफल र क्षेत्रीय पूर्वाधार विकासमा योगदान गर्ने उद्देश्यले लगानी गरिएको हो। यस साझेदारीले कम्पनीको लगानी आधार बलियो बनाउनुका साथै पश्चिम नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
सूर्यज्योति लाइफ नेपालकै पहिलो आईएसओ ९००१–२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो। कम्पनीको हाल चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। जीवन बीमा कोष ४६ अर्ब १७ करोड रुपैयाँ, कुल लगानी ५१ अर्ब २० करोड रुपैयाँ र नेटवर्थ ६ अर्ब १८ करोड रुपैयाँ रहेको जनाएको छ। देशभर १ लाख ७ हजारभन्दा बढी अभिकर्ता, ३६ लाख ३० हजार बीमालेख र १७६ शाखा सञ्जालमार्फत कम्पनीले सेवा दिइरहेको छ। साथै ३५ प्रकारका घातक रोगविरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्म आर्थिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।

















