काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय भएको हो । समितिको सदस्यमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन् ।
आयोगलाई २०६२, ६३ साल पछिका सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्ने कार्यादेश दिइएको छ।
सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय
लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते ‘एलएस होराइजन १२’ बन्दमुखी योजनालाई स्वीकृति दिएको हो ।
१२ बर्ष अवधि रहेको उक्त योजनाअन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ । बन्दमुखी योजना भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । साथै कम्पनीले यस अधि सफलता पूर्वक उच्च प्रतिफल दिने सफल योजनाहरु सन्चालन गरिसकेको छ ।
धितोपत्र बोर्डको यस निर्णयसँगै नेपाली पूँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने कम्पनीले अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।
सामसङ नेपालद्वारा आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना
काठमाडौं । सामसङ नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिंगलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ । यस मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए ।
यस कार्यक्रम मा मोडर्न माइक्रोवेभ प्रविधि द्वारा घरमै खाना बनाउदा स्वाद र पोषण कसरि कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरि सजिलो बनाउछ भन्ने प्रदर्शन गरिएको थियो । सहभागीहरूले सामसंगका सोलो, ग्रिल र कनभेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ्ग सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाए ।
सामसंगका माइक्रोवेभ मार्फत खाना छिटो तताउने र ग्रिल गर्ने देखि बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू शेफ उलकले प्रस्तुत गरे । यसले गर्दा, सामसंगको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, स्मार्ट र सहज अनुभव प्रदान गर्ने कुरा प्रष्ट पार्यो ।
यस कार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गर्यो, जो आधुनिक उपकरणहरूले कसरी आफ्नो दैनिक खानाको तयारीलाई अझ राम्रो बनाउन सक्छन् भनेर जान्न उत्सुक थिए ।
निःशुल्क दर्ता उपलब्ध भएकोले, सामसुङ नेपालले इच्छुक सहभागीहरूलाई मास्टरक्लासमा सहभागी हुन र माइक्रोवेभ खाना पकाउँदा दैनिक दिनचर्या कसरी परिवर्तन हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न आमन्त्रित गरेको थियो । कार्यक्रममा सामसंग स्मार्टथिङ्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जहाँ सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरू अन्वेषण गरेका थिए ।
सहभागीहरूलाई बेस्पोक एआई वाशिङ मेसिन र रेफ्रिजरेटरका रेन्ज जस्ता सामसुङ घरेलु उपकरणहरूसँग एपलाई कसरी लिङ्क गर्दा दैनिक दिनचर्यालाई सरल बनाउन र समग्र सुविधा बढाउन सकिन्छ भन्ने कुराको परिचय गराइएको थियो ।
यो पहल घरमै खाना पकाउन रुची राख्ने ग्राहकहरुलाई इनोभेटिभ किचन समाधानमार्फत सशक्त बनाउने सामसंगको निरन्तर प्रयासको एक हिस्सा हो । इनोभेटिभ एडभान्स्ड टेक्नोलोजी र विशेषज्ञ कलिनरी निर्देशन संयोजनमार्फत ब्रान्डले परिवारहरूलाई आफ्ना भान्सामा नयाँ परिकारहरु अन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।
सामसंग नेपालले निरन्तर रूपमा सुविधा र कार्यक्षमता बढाउने इनोभेटिभ घरेलु उपकरणहरू प्रस्तुत गर्दै आएको छ । यसको माइक्रोवेभ रेन्ज—सोलो, ग्रिल र कनभेक्सन मोडलहरू सहित—आधुनिक जीवनशैली अनुरूप बहुउपयोगी समाधान प्रदान गर्दछ। सामसंगका माइक्रोवेभहरू देशभरका आधिकारिक सामसंग स्टोरहरूमा उपलब्ध छन् ।
एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट दिने सम्झौता
काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका कार्यकारी निर्देशकसूरज क्षेत्री र प्रभु बैंकका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर राणाले एक कायक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८ प्रतिशत सम्म तथा ग्राहकहरुले अधिकतम ८ प्रतिशत देखि १५ प्रतिशत सम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन । क्रेडिटकार्ड प्रयोगकर्ताहरु लाई इन्स्टापे बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टममा प्राप्त गर्न सकिनेछ ।
बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बैंकले जनाएको छ ।
नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ ।
‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका साथ, उद्देश्यबाट प्रेरित, विश्वास, अनुशासन र अनुपालनमा आधारित, नवीनताद्वारा सञ्चालित, सुशासन, वातावरणीय, सामाजिक र प्रशासनिक दायित्वले निर्देशित र भविष्यका लागि तयार नेतृत्वको सिर्जना गर्दै, सेवाग्राहीलाई प्राथमिकता दिँदै उत्कृष्टता प्रदान गर्न प्रतिबद्ध,’ बैंकको पुनर्परिभाषित लक्ष्य रहेको छ ।
बैंकिङ प्रणाली द्रुत गतिमा परिवर्तन भइरहेको समयमा दीर्घकालीन मार्गचित्रको आवश्यकता महसुस गर्दै बैंक रूपान्तरणको बाटोमा अग्रसर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जनाए ।
‘सेवाग्राहीकेन्द्रित विश्वस्तरको नेपाली बैंक बन्ने उद्देश्यका साथ हामीले बैंकको उद्देश्य, लक्ष्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेका छौं,’ ज्ञवालीले भने । रूपान्तरित मूल्यमान्यतामा सेवाको उत्कृष्टतालाई मानकका रूपमा लिएको जनाउँदै उनले भने, ‘डिजिटल माध्यमलाई प्राथमिकता दिँदै, मानव स्रोत र नेतृत्व विकासमा निरन्तर लगानी गर्दै जवाफदेहिता र सहकार्यको बलियो संस्कृतिलाई बढावा दिनेछौं ।’
बैंकले आफ्ना मूल्यमान्यतालाई पाँच ‘टी’ का स्तम्भमार्फत अभिव्यक्त गरेको छ– विश्वास, पारदर्शिता, प्रतिभा, प्रविधि र रुपान्तरण । यी मूल्यमान्यता पञ्चतत्त्व दर्शनमा आधारित भएको उल्लेख गर्दै बैंकले धरतीले विश्वासलाई, पानीले पारदर्शितालाई, आगोले प्रतिभालाई, वायुले प्रविधिलाई र आकाशले रूपान्तरणलाई प्रतिनिधित्व गरेको जनाएको छ । यी तत्त्व मिलेर बैंकको संस्कृति, निर्णय प्रक्रिया र दीर्घकालीन विकासलाई निर्देशित गर्ने सन्तुलित र एकीकृत संरचना प्रदान गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकको बदलिँदो अपेक्षा, डिजिटल प्रविधिको विकास, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को बढ्दो भूमिका, दिगोपनालगायत आवश्यकताका आधारमा आफूलाई परिमार्जित गर्न लागेको बैंकको भनाइ छ ।
गुणस्तरीय बैंकिङ सेवामा सबै पुस्तालाई समेट्ने उद्देश्यका साथ बैंकले आफ्नो स्लोगनलाई ‘सँधैं सँगै अघि’ बनाएको छ ।
उत्थानशीलता, प्रशासनिक अनुशासन र न्यायसंगत विकास आफ्नो प्रतिबद्धता रहेको जनाउँदै बैंकले आफ्ना सेवाग्राही, सरोकारवाला र बृहत्तर समुदायप्रतिको जिम्मेवारी रहेको पनि जनाएको छ ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सधैं सँगै अघि बढ्ने विश्वास राखेको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गरिरहेको कांग्रेसले कार्यसम्पादन समितिमा त्यसको निष्कर्ष, प्रतिनिधि सभामा संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्ने बुझिएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक रहेको जनाएका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पश्चिम एसियामा जारी शत्रुता समाप्त गर्न भइरहेको वार्तामा केही अवरोध देखिए पनि स्थिति सकारात्मक रहेको र इरान सम्झौताका लागि निकै उत्सुक रहेको दाबी गरे ।
अमेरिका रणनीतिक रूपमा निकै बलियो अवस्थामा रहेको उल्लेख गर्दै उनले तेहरानले वार्तामार्फत छिट्टै समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, वासिङ्टन र तेहरानबीच इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावनाको चर्चा सुरु भएको छ । सिएनएनका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा हुनसक्ने वार्तामा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ ।
ट्रम्पका सल्लाहकारहरूले इरानी अधिकारीहरूसँग कूटनीतिक बाटो खोज्न २१ घण्टा लामो छलफल गरिसकेको भए पनि अर्को चरणको वार्ताको निश्चित समय र तालिका भने अझै तय भइनसकेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्दै
काठमाण्डौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गर्र्दै छन्।
प्रधानमन्त्रीका प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री बालेनले बुधबार समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे हुने अन्तरक्रिया कार्यक्रममा सांसदहरू आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् ।
‘अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ बजगाईंले जनाए ।
प्रदेशगत रूपमा सबै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्रीले अन्तरक्रिया गरिसकेका छन्। प्रत्यक्ष निर्वाचित सांसदसँगमात्रै प्रधानमन्त्रीले छलफल गरेको भन्दै समानुपातिकबाट निर्वाचित सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए।
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ ।
आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् ।
त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू जनाउँछन ।
सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी सङ्कल्प गर्दछन् ।
आज बिहानै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने, मठमन्दिरमा गई पूजाआराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।
भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ । तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्व र विशेषता रहेको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ठ व्यक्तित्वले शुभकामना सन्देशमार्फत नेपालीको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन ।
नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुनुपर्छ ः गगन थापा
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै जारी गरिएको शुभकामना सन्देशमा सो कुरा जनाएका हुन्।
उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे ।
थापाले आफ्नो सन्देशमा भनेका छन, ‘नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ। नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो।’
उनले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे। मुलुक, मुलुकवासी र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले जोड दिए।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन।
सन्देशको अन्त्यमा उनले भने, ‘यो नयाँ वर्षले हामी सबैलाई आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा र उत्साह प्रदान गरोस्।’

















