काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस जाने भएका छन् । चैत २७ र २८ गते मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल बिहीबार मौरिसस जान लागेका हुन् ।
परराष्ट्रमन्त्रीको यो पहिलो विदेश भ्रमण हो ।
मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नवौं संस्करणको मुख्य नारा ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ रहेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्री खनाल सम्मेलनमा सहभागी हुन मौरिसस जान लागेको जानकारी दिए । कार्यक्रममा भारतका विदेशमन्त्री एस। जयशंकरसहित विभिन्न मुलुकका मन्त्रीहरू सहभागी हुँदै छन् । मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग ‘साइड लाइन’ भेटवार्तासमेत गर्नेछन् । अन्य मुलुकबाट आएका नेताहरूसँग पनि मन्त्री खनालको भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि सम्बोधन गर्नेछन् । त्यस्तै कम्बोडिया, इजिप्ट, माडागास्कर, साउदी अरेबिया, सिंगापुर, कोम्बो, थाइल्यान्ड, यूकेका अधिकारीहरू पनि सहभागी हुने आयोजक इन्डिया फाउन्डेसनले उल्लेख गरेको छ ।
इन्डिया फाउन्डेसनले सन् २०१६ देखि यो कार्यक्रम गर्दै आएको छ । सम्मेलनमा नेपालका तर्फबाट सहभागिता रहँदै आएको छ । गतवर्ष फेब्रुअरीमा मस्कटमा भएको आठौं सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी भएकी थिइन् ।
हिन्द महासागर क्षेत्रमा सुरक्षा र स्थिरता, समुद्री व्यापार, आर्थिक सहकार्य, जलवायु परिवर्तन र समुद्री स्रोतको संरक्षणमा संयुक्त रणनीति बनाउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिँदै आएको छ ।
८ वर्षमा यो सम्मेलन हिन्द महासागर क्षेत्रका मुलुकहरूका लागि पारस्परिक मुद्दाहरूमा छलफल गर्ने प्रमुख मञ्च बनेको इन्डिया फाउन्डेसनको वेब साइटमा उल्लेख छ ।
क्षेत्रीय सुरक्षा र विकासका लागि सहयोगको सम्भावनाहरूमाथि छलफल गर्न यस क्षेत्रका साझेदारहरूलाई साझा मञ्चमा ल्याउने कार्य सम्मेलनले गर्दै आएको पनि फाउन्डेसनले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालको पहिलो विदेश भ्रमण, पर्सि मौरिसस जाँदै
काठमाडौंमा प्रहरीले चलायो गोली, दुई जना पक्राउ
काठमाडौं । काठमाडौंमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गएराति पिंगलास्थान क्षेत्रमा गोली चलाएर दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुला रहने
काठमाण्डौं । सरकार मातहतका कार्यालयहरू सोमबारदेखि बिहान ९ बजे नै खुल्ने भएको छ । कार्यालय बेलुकी ५ बजेसम्म खुला रहने छ ।
इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषदले गरेको निर्णयअनुसार सोमबारदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ ।
यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेको छ।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट ः सुनुवाइ आज निरन्तर
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि निरन्तर हुने भएको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । सम्भवतः आजै निर्णय आउन सक्नेछ ।
भदौ २३ र २४ को घटनामा जाँचबुझका लागि गठित आयोगको सिफारिसअनुसार, ओली र लेखक अनुसन्धानका लागि पक्राउ परेका थिए । दुवै जना चैत १४ गते बिहान पक्राउ परेका थिए ।
संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
काठमाडौं । संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ । दलहरुबीच सहमति जुटाउन संसद् सचिवालयले आज बिहान ११ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको हो ।
बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने जनाईएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।
आजको सर्वदलीय बैठकमा सदनको कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि छलफल हुनेछ ।
पूर्वमन्त्री खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सम्पत्ति शुद्वीकरणको मुद्दामा पक्राउ परेका पूर्वउर्जामन्त्री एवम् नेपाली काँग्रेसका नेता दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
खड्कामाथि दोस्रो पटक म्याद थप भएको हो । यसअघि पहिलो पटक सात दिनकै म्याद दिएको थियो ।
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन् ।
आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन् ।
बाग्लुङको बिहुँमा जन्मिएका कँडेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि २००७ मा नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययन र २००९ मा बेलायतको अल्स्टर युनिभर्सिटीबाट कानुनमा स्नातकोत्तर गरे ।
उनले सन् २०२३ मा उत्तरी आयरल्याण्डस्थित क्विन्स युनिभर्सिटीबाट ’नेपालमा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा विद्यावारिधि गरेका हुन् ।
पत्रकारितादेखि कानूनसम्म
कँडेलले आफ्नो पेशागत यात्रा भने पत्रकारिताबाट सुरु गरेका थिए । २०४९ सालदेखि पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिक जस्ता सञ्चार माध्यममा समाचारदाताको रूपमा काम गरेका थिए ।
२०५८ देखि २०६० सम्म नेपाल पत्रकार महासंघ, धौलागिरी शाखाको सभापति रहेका उनले २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिए । त्यससँगै उनको व्यावसायिक कानुनी यात्रा सुरु भयो ।
उनले फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल, मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थाहरूसँग आबद्ध भएर पनि काम गरेका थिए ।
बेलायतबाट नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कानुनी सल्लाहकारको रुपमा पनि सक्रिय थिए।
केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
काठमाण्डौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
आईतबार निवेदक पक्षका वकिलहरूको बहस सकिए पनि सरकार पक्षको बहस सोमबारका लागि तोकिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाइमा रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक आधार नरहेको जिकिर गरेका छन् ।
हेर्दाहेर्दैमा सोमबार सरकारी पक्षका वकिलले त्यसको प्रतिवाद गर्दै बहस गर्नेछन् । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीको मृत्यु भएको घटनामा जाँचबुझ आयोगका प्रतिवेदनका आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
बैंकहरू पनि अब हप्तामा २ दिन बन्द हुने
काठमाडौं । सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको अभाव बढ्दै गएको छ भने इन्धनको मूल्य पनि उच्च भएको छ ।
जसका कारण सरकारले इन्धनको खपत घटाउन सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै अन्य ५ दिन भने कार्यालय समय बढाउने भएको छ । सोमबारदेखि शुक्रबारसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्णय सरकारले गरेको हो ।
सरकारको निर्णयसँगै नेपाल राष्ट्र बैंक पनि सरकारी कार्यालय नै भएकाले सरकारकै निर्णयअनुसार नै २ दिन बिदा हुने राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल जनाउँछन । सरकारको निर्णयको प्रति पर्खिरहेको भन्दै निर्णयको आधिकारिक सूचना आएपछि राष्ट्र बैंकले निर्णय गर्ने उनले जनाए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन नम्बर १४ मा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बिदा गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक बिदा भएको समयमा कारोबार सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ । यस आधारमा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बन्द हुने देखिन्छ ।
‘नेपाल राष्ट्र बैंक खुलेको दिन तथा यस बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म इजाजतपत्रप्राप्त संस्थाहरूले अनिवार्य रूपमा आफ्नो कार्यालय खोली बैंकिङ कारोबार सञ्चालन गर्नुपर्नेछ,’ एकीकृत निर्देशनमा भनिएको छ, ‘तर, बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य बिदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रूपमा जानकारी दिनुपर्नेछ ।’
राष्ट्र बैंक बिदाको दिनमा राष्ट्र बैंकलाई लिखित जानकारी गराएर मात्रै बैंकिङ सेवा दिनुपर्ने भएकाले सीमित कर्मचारीबाट प्रवाह हुने केही काउन्टर र डिजिटल बैंकिङ सेवा बाहेक अन्य सेवा बन्द हुने राष्ट्र बैंकका प्रवक्ता पौडेल जनाउँछन ।
राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०ः०० बजेदेखि दिउँसो १स्३० बजेसम्म बैंकहरूले आवश्यक विभाग तथा कार्यालय सञ्चालन गरी सेवा सुचारु गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख छ ।
















