काठमाडौं । महालक्ष्मी विकास बैंकले यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ । यस सुविधाको सुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्कयान गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंकका अनुसार विशेष गरी चीन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।
सन् २००२ मा स्थपना भएको यूनियनपे विश्वका सबैभन्दा ठूला भुक्तानी सेवा प्रदायकहरु मध्ये एक हो जसको ९.६ अर्बभन्दा बढी कार्डहरु जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृती रहेको छ । यस सेवाको सरुवातसँगै हाल नेपालमा प्रदान भइरहेको क्यूआर पूर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले वर्ष २०८३ लाई डिजिटल प्रवर्द्धन वर्षको रुपमा मनाउने बैंकको योजना अनुरुप मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत बैंकका सबै सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ प्लेटफर्ममाफर्त वैशाख महिनाको पहिलो हप्तामा कम्तिमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्नसक्ने सुविधा समेत बैंकले घोषणा गरेको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरु रहेका छन् ।
महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
नेपाल लाइफद्वारा व्यतीत बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।
वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थामा सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बीमालेखहरू पुनः सक्रिय गरी बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै कम्पनीले आजदेखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गर्नेगरी विशेष बीमा पुनर्जागरण योजना २०८२, ०८३ लागू गरेको छ ।
कम्पनीका अनुसार रजत जयन्तीको अवसरमा बीमितहरूका लागि पहिलोपटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याइएको हो । ३० दिनको अवधिका लागि ल्याइएको यस अवसरलाई बीमालेख व्यतीत भएका आम बीमितहरूले भरपूर रूपमा उपयोग गरी विलम्ब शुल्क छुटको लाभ लिन सक्नेछन् ।
नेपाल लाइफले आफ्ना सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, “नेपाल लाइफ इन्स्योरेन्सले विगतदेखि नै ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिहरूको परिणाम हुन सक्छ भन्ने यथार्थलाई मध्यनजर गर्दै, ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो । हामी सम्पूर्ण बीमित महानुभावहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो तथा आफ्नो परिवारको भविष्यलाई थप सुरक्षित र सुनिश्चित बनाउन हार्दिक अनुरोध गर्दछौँ । नेपाल लाइफ सधै तपाईंको विश्वासको सहयात्री रहिरहनेछ ।”
विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन्।
बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या र समाधानका उपायबारे विमर्श हुनेछ। यस्तै, कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।
बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी हुनेछन्। त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित हुनेछन्। नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी हुनेछन्।
साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन्। शाहले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल गर्दैछन्।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने सचिवालयले जनाएको छ ।
काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी तीनदिने नेपाल भ्रमणका लागि आज बिहान सवा ६ बजेतिर त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, काठमाडौं रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले प्रधानमन्त्री बालेन्द्र साह, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने जनाईएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेपछि नेपाल आएका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन् । यसअघि फेब्रुअरीमा बंगलादेशमा नयाँ सरकार बनेपछि कपुर ढाका पनि पुगेर त्यहाँका शीर्ष नेताहरूसँग भेट गरेका थिए ।
उनी वैशाख ९ गते स्वदेश फर्कने तालिका छ ।
नेपाल र युएई टी – २० आई खेल्दै
काठमाण्डौं । नेपाल र यूएईबीच सोमबार टी–२०आई शृङखला सुरु हुँदैछ ।
खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ। नेपालले फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपालका लागि ऐतिहासिक क्षण हुनेछ। नेपालले दोस्रो टी–२० मंगलबार खेल्ने छ ।
नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। नियमित कप्तान रोहित पौडेल आजको खेलमा उपलब्ध हुने छैनन्। तसर्थ दीपेन्द्रलाई जितसँगै सिरिजको सुरुवात गर्ने चुनौती छ। रोहितलाई स्क्वाडमै राखिएको छैन।
नेपाल र यूएई चीर परिचित प्रतिद्वन्द्वी हुन्। टी–२०आईमा दुई टोलीबीच ११ खेल भएका छन्। नेपालले ६ खेल जित्दा यूएई ५ पटक विजयी भएको छ। कीर्तिपुरमा एकमात्र खेल हुँदा उक्त खेल यूएईले जितेको थियो।
नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् ।
जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइते
काठमाण्डौं । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको–८ थारादेखि कालिमाटी गाउँपालिका–१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०२७१ नम्बरको गाडी शनिबार साँझ बनगाड कुपिन्डे नगरपालिका–१० धाइरेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका दुर्घटनामा बनगाड कुपिन्डे नगरपालिका–८ थाराका ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्ण बहादुर पुन र ३० वर्षीय मन बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ का भुपेन्द्र कँवर,भुल बहादुर थापा, जुग सिंह पुन ,कुल बहादुर राना, अम्मर सिहं कँवर, डम्मर घर्ती र जनक थापा गम्भीर घाइते छन्।
घाइतेको जिल्ला अस्पताल सल्यान र सुर्खेतको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । तीन वटा गाडीमध्ये एउटामा राँगा र एउटामा दुलाहा–दुलही सवार थिए । एउटा गाडीमा भने १८ जना जन्ती सवार थिए । त्यही १८ जना जन्ती सवार गाडी दुर्घटनामा परेको हो । दुलहाको घर थाराबाट छुटेको करिब आधा घण्टामै गाडी दुर्घटनामा परेको थियो ।
अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु
काठमाडौँ । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ ।
डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।
सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरणलगायतको प्रयोग गरेर घर टहरा भत्काउन सुरु गरिएको छ ।
राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू) को १५२ औं महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको जनाए । दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।
आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको जनाए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको जनाए ।
टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे ।
भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।
भारतमा महिला आरक्षण विधेयक फेल, सरकारलाई ५४ मत अपुग
काठमाण्डौं । भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट फेल भएको छ ।
भारतीय संसद्को तीन दिने विशेष सत्रमा पेस गरिएको १३१ औँ संविधान संशोधन विधेयक ५४ मत नपुग्दा लोकसभामा फेल भएको छ ।
महिला आरक्षणका लागि आवश्यक दुई तिहाइ बहुमत जुट्न नसकेपछि सरकारले ल्याएको विधेयक पास हुन नसकेको हो। विधेयकको पक्षमा आवश्यक ३५२ मत हुनुपर्नेमा ५४ मत कम अर्थात् २९८ मत मात्रै परेको थियो।
विधेयकमाथि भएको अन्तिम मतदानमा कुल ५२८ जनाले मतदान गरेका थिए। विधेयकका पक्षमा २९८ र विपक्षमा २३० मत खसेको थियो। संविधान संशोधनका लागि सदनमा उपस्थित र मतदान गर्ने सदस्यहरूको दुई तिहाइ संख्या अनिवार्य हुन्छ।
सत्तारुढ एनडीएसँग लोकसभामा पर्याप्त संख्या नहुनु र विपक्षी दलहरूलाई साथमा लिन नसक्नु नै विधेयक असफल हुनुको मुख्य कारण बनेको हो ।
यससँगै सरकारले सीमांकन विधेयक र केन्द्र शासित प्रदेश कानुन संशोधन विधेयकलाई पनि अगाडि नबढाउने निर्णय गरेको छ। मुख्य संवैधानिक संशोधन नै असफल भएपछि दिल्ली, पुडुचेरी र जम्मु कश्मीर जस्ता क्षेत्रमा आरक्षण लागू गर्ने अन्य विधेयकहरू स्वतः रोकिएका हुन्।
विधेयकमाथिको छलफलमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दललाई समर्थनका लागि अपिल गरेका थिए। उनले विपक्षीले विरोध गर्दा राजनीतिक फाइदा हुने भए पनि आफू सबैलाई साथमा लिएर जान तयार रहेको जनाएका थिए।
प्रस्तावित संशोधनमा लोकसभा सिटहरूको सङ्ख्या ५४३ बाट बढाएर ८५० पुर्याउने र सीमांकनपछि महिलालाई ३३ प्रतिशत आरक्षण दिने भनिएको थियो। यदि पारित भएको भए सन् २०२९ को चुनावदेखि नै लागू हुन्थ्यो।
निर्वाचन क्षेत्रहरूको आकार निकै ठूलो भएको र सांसदहरूलाई मतदाता भेट्न समेत कठिन भइरहेको भन्दै सरकारले लोकसभा सिट सङ्ख्या बढाउन यो विधेयक ल्याएको थियो जसमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो ।
विधेयक असफल भएसँगै ‘नारी शक्ति वन्दन ऐन’ लाई संशोधन गर्ने सरकारको प्रयास तत्कालका लागि रोकिएको छ। सरकारले यसलाई महिला प्रतिनिधित्वको प्रमुख कदम भने पनि विपक्षीले यसलाई राजनीतिक रणनीतिको रूपमा व्याख्या गरेका छन्।
सर्वोच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ ः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको निर्णयले कांग्रेस पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनेको प्रतिक्रिया दिएका छन् ।
पार्टीको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णयबारे प्रक्रिया दिँदै सभापति थापाले यस्तो जनाएका हुन् ।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुनै जितहारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’
साथै, उनले पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु, र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु’, उनको प्रतिबद्धता छ ।
उनले १५औँ महाधिवेशनलाई सफल बनाउन र उपयोग गर्न अनुरोध गर्दै अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्नसक्ने र समुन्नत नेपाल बनाउन योगदान दिनसक्ने पार्टी बनाउन एकढिक्का भएर लाग्नुपर्ने जनाए ।

















