काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५ औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा देशैभर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोस्टिकमार्फत प्रदान गरिएको थियो ।
शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका निःशुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरुबाट निःशुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो ।
दुई दिने शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन् । यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३० प्रतिशतसम्मको बजार हिस्सा ओगट्दै आएको छ । विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको यस विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, शेयरधनीहरु, सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथै सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन् । साथै, आगामी दिनमा पनि कम्पनीले यसरी नै सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा रहेको उनले जनाएका छन् ।
नेपाल लाइफको २५ औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, देशैभर रक्तदान कार्यक्रम
कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुनेछ ।
ओमानविरुद्ध नेपालको खराब सुरुआत
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध खराब सुरुआत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ओमानविरुद्ध सुरुआती १० ओभरमा एक विकेट गुमाएर २९ रन बनायो । नेपालले ११ औँ ओभरमा ३४ रन जोडेको छ ।
हाल क्रिजमा रहेका अर्जुन कुमालले १५ रन बनाएका छन् । आशिफ शेख १८ रनमा खेलिरहेका छन् । त्यसअघि पभेलियन फर्किएका ओपनर विनोद भण्डारी ‘डक’ आउट भए । ओमानका निम्ति जितेन रमानन्दीले एक विकेट लिए।
खेलमा यी दुवै जितसहित लिग–२ अन्तर्गत ओमान, नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिदेशीय श्रृंखला टुंग्याउने लक्ष्यमा छन् । तालिकाको सातौँ स्थानमा रहेको नेपालले प्रतियोगितामा १६ अंक जोडेको छ । नेपालले २३ खेल खेल्दा सात खेलमा जित र १४ खेलमा हार व्यहोरेको छ ।
दुई खेल भने रद्द भएको थियो । यता, ओमान भने १५औँ जितको खोजीमा छ । ओमान ३१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । टोलीले २७ खेल खेल्दा १४ जित र १० हार व्यहोरेको छ ।
टोलीको तीन खेल भने रद्द भएको थियो । ओमान र नेपालको यो दोस्रो खेल हो । यसअघि श्रृंखलाअन्तर्गत भएको पहिलो खेलमा ओमानले घरेलु टोलीलाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको थियो ।
विद्यार्थीले राजनीति गुरुबाट सिकून, नेताको भीडबाट होइनः प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने आफ्नो स्पष्ट अडान राखेका छन्। विद्यालय र कर्मचारीतन्त्रबाट दलीय राजनीति हटाउन सरकारले गरेको प्रयासमा दलनिकट विद्यार्थी र कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएसँगै उनले आफ्नो अडान स्पष्ट पारेका हुन्।
‘वषौंदेखि धेरै विद्यार्थी संगठन र कर्मचारीको हितभन्दा बढी दलका स्पिलर सेल बने। योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।’ उनले लेखेका छन्।
रास्वपाले आफूले संगठन बनाउन नसकेर नभई आम जनताको चाहना बमोजिम शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा तलको झोला निषेध गरिएको जनाएका छन्। यसले कसैको अधिकार खोस्ने नभई बरु पेशागत स्वतन्त्रता बलियो बनाउने र नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि क्षमता र दक्षता बन्नुपर्ने जनाएका छन्।
‘हाम्रो प्रसाय यत्रि मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन। यो कुनै पार्टीविरुद्धको लडाईं होइन। यो प्रणाली बचाउने प्रयास हो। भविष्य बचाउने प्रयास हो।’ उनले लेखेका छन्।
देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउन र शिक्षालय अनि कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास स्वरूप आम जनताको चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाइएको जनाएका छन्। यसमा सरकारलाई सबैको साथ र विश्वासको अपेक्षा समेत रहेको जनाएका छन्। अन्त्यमा उनले सरकारले गर्ने हरेक काम आम नेपाली जनताकै हितमा हुने प्रतिबद्धता पनि जनाएका छन्।
आज यी तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौं । देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल लाग्ने र धेरैजसो क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै हिमाली, पहाडी र तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका केही क्षेत्रमा भने तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ।
गएराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै आएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साढे १० बजे बोलाइएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतका अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् ।
त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ । ‘४ वटा मन्त्रालय खारेज भएर ६ वटाको नाम फेरिनेछन् । केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले त्यससम्बन्धी खाका आजको मन्त्रिपरिषद् बैठकमा पेस हुने जनाकारी दिए ।
मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका तयार पार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।
कार्यदलले संघमा १७ मन्त्रालय रहने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा टेकेर सरकारले यस्तो तयारी गरेको स्रोतले जनाएको छ ।
नेपाललाई भारतको जवाफ– लिपुलेक हुँदै मानसरोवर जाने बाटो पुरानै हो, कुनै नयाँ विषय होइन
काठमाडौं । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने मार्ग कुनै नयाँ नभई विगतदेखि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको जनाएको छ । भारत र चीनबीच उक्त मार्ग प्रयोगसम्बन्धी सहमतिपछि नेपालले आपत्ति जनाउँदै दुवै देशलाई ध्यानाकर्षण गराएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा स्पष्ट र स्थिर रहेको उल्लेख गर्दै भनेका छन्, ‘लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग हो, यो कुनै नयाँ विषय होइन ।’
उनले नेपालका केही भू–भागसम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उल्लेख गर्दै त्यस्ता एकतर्फी दाबीहरू अस्वीकार्य रहेको पनि जनाएको छ । साथै, भारतले सीमा विवाद लगायत द्विपक्षीय विषयहरू समाधानका लागि संवाद र कूटनीतिक माध्यमबाट नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको जनाएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाउँदै उक्त विषयमा औपचारिक ध्यानाकर्षण गराएको थियो ।
नेपाल लाईफ इन्स्योरेन्सले २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान गर्ने
काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘जीवन अनमोल छ, यसको सँगै उत्थान गरौं’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।
स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।
रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । देशभरका ७ वटै प्रदेशमा वैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।
कम्पनीले कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।” प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उनको भनाइ छ ।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।”
बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रोसामु भएको उल्लेख गर्दै राष्ट्रपति पौडेल त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरेका छन् ।
मुग्लिन–नारायणगढ सडक ः तुइन खोलामा बाटो दुईतर्फी सञ्चालनमा
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइन खोला पुलनजिकै बाटो पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार (वैशाख २०) बिहान करिब ६ बजेतिर पहिरो खस्दा उक्त स्थानमा सडक अवरुद्ध भएको थियो ।
सुरुमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले साबेललगायत औजारको प्रयोग गरी बाटो एकतर्फी खुलाएको थियो । अलि ठूला ढुंगा हटाउन नसकेपछि प्रहरीले सडक डिभिजन भरतपुरलाई जानकारी गराएको थियो ।
त्यसपछि मेसिनको सहायतामा बिहान करिब साढे ९ बजेतिर बाटो दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजनले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै माथिबाट ढुंगाहरू झर्दा एकतर्फी सञ्चालनमा रहेको सडक हाल दुवैतर्फ सञ्चालनमा आएको जानकारी गराउँदछौँ,” सडक डिभिजनको सूचनामा उल्लेख छ ।
















