काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन १ वर्षभित्रै गरिने जनाएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३, ०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षभित्रै सबैको व्यवस्थापन गरिने जानकारी दिए ।
सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या वर्षौंदेखि कायमै रहँदै आएको छ ।
भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन १ वर्षभित्रै गरिने
रक्सी र चुरोटमा कर बढ्यो
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८३, ८४ मा मदिरा र चुरोटको कर बढाइएको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको जनाएका हुन्।
सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो।
आर्थिक वर्ष २०८३, ८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्को दायरामा ल्याउने जनाएका छन्।
नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३, ८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
यसैगरी महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोडबजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३, ८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको जनाउँदै यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरिएको जनाए ।
उनले भने,‘सबै नागरिकलाई गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन गरेको छु । यसमध्य स्वास्थ्य बीमामा १५ अर्ब बजेट विनियोजन गरेको छु ।’
उनले विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्ने उनले जानकारी दिए ।
उनले भने,‘विपन्न नागरिकको उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि १३ अर्ब १५ करोड विनियोजन गरेको छु । रोगको बद्लिँदो प्रकृति र भार एवम् लागत प्रभावकारीताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौं ।’
बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ ।
दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।
शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३, ८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’
कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि
काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरेका हुन्।
आजको बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउनेछन् । महंगी भत्तालाई कायम राखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको जनाए ।
आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने सरकारको लक्ष्य
काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३, ०८४ को आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३, ०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमा सीमित राख्ने जानकारी दिए ।
चालू आर्थिक वर्ष २०८२, ८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान छ ।
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३, ०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।
त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले जनाए।
यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।
चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए।
गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो ः प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको जनाएका छन् ।
गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् । उनले भने, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो । यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो ।’ उनले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको उल्लेख गरेका छन् ।
प्रचण्डले भने, ‘संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो ।’
उनले ‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो’ भन्दै समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखे । साथै, उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
प्रचण्डले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको जनाए । उनले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उल्लेख गरे ।
उनले भने, ‘हामीबीच राजनीतिक मतभेद हुन सक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो ।’ परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गर्दै उनले समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्ने आह्वान गरेका छन् ।
आज १९औँ गणतन्त्र दिवस, विशेष समारोहलाई प्रधानमन्त्रीले सम्बोधन नगर्ने
काठमाण्डौं । नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २४० वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको त्यही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ ।
विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ । तीन तहको सरकारले काम गरिरहेका छन् ।
सरकारी सेवा सुविधाको लागि जिल्ला सदरमुकाम र काठमाण्डुसम्म धाउनुपर्ने बाध्यता हटेको छ । महिला, दलित, जनजाति लगायत समावेशी प्रतिनिधित्व बढेको छ । तर बेरोजगारी, भ्रष्टाचार, महँगी लगायतका समस्या उस्तै रहेको नागरिकको गुनासो छ । जनादेश, मतादेश र संविधान प्रदत्त व्यवस्थाअनुरूप एक ढिक्का र एकीकृत भई अघि बढ्न सके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्र विन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड दिँदै आएका छन् । राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ ।
गणतन्त्र दिवसको अवसरमा काठमाण्डौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । अघिल्ला वर्षहरूमा राट्रपतिसहित विशिष्ट व्यक्ति सहभागी हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यस पटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी समारोहमा उपस्थित भए पनि सम्बोधन गर्ने कार्यक्रम भने छैन । प्रधानमन्त्रीले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निवासमा पत्र पठाएका थिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।













