Page 3

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।
बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधार मानिएको छ ।
नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

आज बकर ईद, देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायको पर्व बकर ईद (ईद–उल–अजहा) आज मुस्लिम समुदायहरूले धुमधामका साथ मनाउँदैछन्।
हरेक वर्ष इस्लाम धर्मावलम्बीहरूले विशेष धार्मिक महत्वका साथ मनाउने बकर ईदमा मस्जिद तथा ईदगाहमा सामूहिक नमाज पढ्ने परम्परा रहेको छ। नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्दै पर्व मनाइन्छ।
यस पर्वको अवसरमा नेपाल सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। यससँगै आज सरकारी कार्यालय, शैक्षिक संघसंस्था, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायत बन्द रहनेछन्।

सिटिजन लाइफद्वारा एनएफआरएस १७ का लागि केपीएमजी इन्डिया परामर्शदाता नियुक्त

काठमाडौं । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्र्याक्ट्स) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रणनीतिक पहल गरेको छ।
यसै सन्दर्भमा नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृति पश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाता (इम्प्लिमेन्टेसन पार्टनर) का रूपमा नियुक्त गरेको हो।
केपीएमजी विश्वका प्रमुख “बिग फोर” व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो जसले एस्योरेन्स, कन्सल्टिङ, ट्याक्स तथा रिस्क एड्भाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ। यसको बलियो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी पेशागत जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण केपीएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूका लागि एक विश्वसनीय र स्थापित साझेदारको रूपमा पहिचान बनाएको छ।
विशेषगरी आईएफआरएस १७रएनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्वपूर्ण मानिन्छ। दक्षिण एशिया क्षेत्र, विशेषगरी भारतमा यसको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझदारीले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको छ।
यस नियुक्तिसँगै सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै नलेज ट्रान्सफरमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ।
सम्झौता अवधि साढे तीन (३.५) वर्ष रहनेछ जसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्ट सेवा समेत समावेश हुनेछ। यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई २ लाख ४० हजार आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले उक्त बाल आश्रममा आश्रित बालबालिकाहरु मध्ये शाम्भवि स्कुलमा अध्ययन गर्ने ८ जना बालबालिकाहरुको लागि वार्षिक पढाई शुल्क ३० हजारका दरले जम्मा २ दुई ४० हजारको आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले मानव कल्याण र समाज हितका क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ । यस प्रकारका कार्यप्रति कम्पनिले सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको जनाएको छ । यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, १७,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

आज र भोलि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने

काठमाडौँ । आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रूपमा खुला हुने भएको छ ।
सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औँल्याउँदै विहीबार र शुक्रवारका लागि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रूपमा खुला हुने जनाएको हो ।
बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको वार्षिक उत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीको काठमाण्डौं स्थित प्रधान कार्यालयमा आयोजना गरेको सो कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको कुरा कम्पनीका सहायक महाप्रवन्धक तथा बजार विभाग प्रमुख डोरिन्द्र राज दहालले जानकारी गराएका छन् ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा बजेट अधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।
आगामी आर्थिक वर्ष २०८३, ८४ को बजेट भोलि (जेठ १५ गते) संसदमा प्रस्तुत हुनेछ ।

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन् । ।
सम्झौतामा योगदानमा आधारित भए–नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीहरूले मासिक वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।
त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानी सहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ ।
कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ ।
योसँगै आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंकको कर्मचारीहरूका अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ ।

तराईमा आज तातो दिन, पहाडका केही स्थानमा वर्षा

काठमाण्डौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाण्डुलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।

इरानमा ८८ दिनपछि सर्वसाधारणका लागि इन्टरनेट

काठमाडौं । इरानमा ८८ दिनपछि सर्वसाधारणका लागि इन्टरनेट सेवा आंशिक रूपमा सुरु गरिएको छ । अमेरिकासँग युद्धमा रहेको इरानले फेब्रुअरी २८ मा इन्टरनेट प्रतिबन्धलाई कडा गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार हालै इरानी राष्ट्रपति मसूद पेजेश्कियानले देशमा इन्टरनेट सेवा पुनर्स्थापित गर्न आदेश दिएका थिए ।
इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सले यसलाई आधुनिक इतिहासको सबैभन्दा लामो राष्ट्रिय इन्टरनेट ब्ल्याकआउटको रूपमा वर्णन गरेको छ । नेटब्लक्सका अनुसार, इरानले मंगलबार अन्तर्राष्ट्रिय नेटवर्कहरूमा आंशिक रूपमा कनेक्टिभिटी पुनर्स्थापित गरेको देखिएको छ । यद्यपि, संस्थाले इन्टरनेट पुनर्स्थापना स्थायी हुनेछ कि छैन भन्ने कुरा अझै स्पष्ट नभएको जनाएको छ ।
इतिहासमा सबैभन्दा लामो तीन महिना राष्ट्रव्यापी इन्टरनेट बन्द भएको जनाईएको छ । लामो समयसम्म इन्टरनेट बन्दले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । डिजिटल अधिकार समूहहरूले यसलाई सूचना र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठूलो प्रतिबन्धको संज्ञा दिएका छन् ।
सरकारविरुद्ध व्यापक विरोध प्रदर्शनपछि गत डिसेम्बरमा इरानमा पहिलोपटक इन्टरनेट ब्ल्याकआउट लागू गरिएको थियो । पछि फेब्रुअरी २८ मा अमेरिका र इजरायली आक्रमणपछि इन्टरनेट प्रतिबन्ध थप कडा बनाइएको थियो ।

लेटेष्ट समाचार

आज हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो...

फिफा विश्वकप २०२६– दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाण्डौं । जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ । ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको...