काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२, ८३ को आर्थिक सर्वेक्षण पेस गर्ने छन् ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
साथै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२, ८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ ः बुर्लाकोटी
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक हप्ताभित्र सम्बोधन गर्ने जनाएका छन्।
प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा कहिले सम्बोधन गर्ने हो भन्दै विषय उठाएपछि सभामुख डोलप्रसाद अर्यालले बुर्लाकोटीलाई बोल्ने समय दिए ।
त्यसपछि बुर्लाकोटीले भने, ‘मैले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरेर विपक्षी सांसदहरूले उठाएको विषय राखे । सम्भवतः उहाँ एक हप्ताभित्र आउने जानकारी गराउन चाहन्छु।’
तत्पश्चात् नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलका उपनेता पद्मा अर्यालले सभामुखले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीअनुसार बैठकमा सत्तापक्षको प्रस्तुति नआएको उल्लेख गर्दै सदन सरकारको प्रशंसा गर्ने थलो बन्न सक्ने जिकिर गरे ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले प्रधानमन्त्री संसद्मा उपस्थित हुने सम्बन्धमा सत्ता पक्षका मुख्य सचेतकले राखेको विषयमा सभामुखबाट रुलिङको माग गरे । राप्रपाका सचेतक खुश्बु ओलीले कार्यव्यवस्था परामर्श समितिमा भएको समझदारीको पालना गर्न सत्ता पक्षलाई आग्रह गरे ।
श्रम संस्कृतिका सांसद ध्रुवराज राईले संयमित भएर सदनमा प्रस्तुत हुन आग्रह गर्दै विपक्षीको आवाज सुन्न आग्रह गरे । विपक्षी दलले संसद्मा प्रधानमन्त्री शाहको उपस्थिति र उठेका विषयमा जवाफ दिन माग गर्दै आइएका छन् ।
मधेशमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त ५ मन्त्रिले लिए शपथ
काठमाण्डौं । अन्ततः मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् ।
सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति भएपछि मन्त्रिमण्डल विस्तार भएको हो ।
कांग्रेस सभापति गगन थापा निकट मानिएका रौतहटका नागेन्द्र प्रसाद साहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै एमालेका महम्मद समीरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एमालेबाट शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै नेकपा मधेश प्रदेश संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत वैशाख २२ गते जनमत पार्टी नेपालले नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि संघीय राजनीतिक समीकरण परिवर्तन भएसँगै कांग्रेस, एमाले र नेकपाबीच नयाँ सहकार्य बनेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी
वीरगगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले आज पक्राउ पुर्जी जारी गरेको हो। सिंहविरूद्व चार वटा मुद्दा परेकामा लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो।
उनले ‘नक्कली’ बाबु बनेर एक युवतीलाई नागरिकता दिलाएको आरोप छ ।
सिद्धार्थ बैंकद्वारा तनहुँको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस.नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य उनीहरूले हासिल गर्ने ज्ञान र सीपमा निर्भर हुने मान्यताको साथ बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको हो ।
यस प्रविधिमैत्री कार्यबाट १२ सामुदायिक विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
उक्त प्रविधिले कक्षाकोठाको शिक्षणलाई दृश्यात्मक र अन्तरक्रियात्मक बनाउनुका साथै पाठ्यवस्तु बुझ्न अझ सजिलो बनाउदै भिडियो, चित्र तथा डिजिटल सामग्रीको प्रयोगबाट विद्यार्थीहरूले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने भएकाले सिकाइ प्रक्रिया अझ रोचक र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।
नेपाल लाइफद्वारा एएमएल तथा सीएफटीसम्बन्धी प्रशिक्षण सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल, सीएफटी, सीपीएफ) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा। हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयनसम्बन्धी प्रस्तुती दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षक डा. नेपालले एएमएल, सीएफटी, सीपीएफसम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेको गतिविधिका विषयमा विस्तृत जानकारी दिएका थिए ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एएमएल, सीएफटी अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण पक्षका रूपमा रहेको जनाउँदै प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गरे । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले एएमएल सीएफटी सीपीएफसम्बन्धी प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र नभई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू भइरहेको जनाए ।
कम्पनीले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिँदै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ १७ गतेबाट आयोजना हुने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ संस्करण ५, जेठ १७ गतेदेखी जेठ २० गतेसम्म चुनिखेल, काठमाडौं स्थित रोयल स्पोर्टस् पार्कमा सञ्चालन गर्ने भएको छ ।
हरेक वर्ष झै यो वर्ष पनि वार्षिक उत्सवको अवसरमा उक्त क्रिकेट लिग गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहने क्रिकेट लिग समग्र कर्पोरेट क्षेत्रमा एक प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको छ ।
४ दिनमा कुल ४५ खेलहरु हुने र २४० जना खेलाडीहरु रहने उक्त लिगमा ९ वाणिज्य बैंकहरु, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंकको सहभागिता रहने छ । उक्त लिगको उद्घाटन समारोह जेष्ठ १७ गते र समापन तथा पुरस्कार वितरण समारोह जेठ २२ गते हुनेछ ।
आज आयोजित पूर्व प्रतियोगिता भेटघाट तथा टाई सिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ भने सोेही कार्यक्रममा टिम कप्तानहरुलाई जर्सी समेत वितरण गरिएको छ ।
लिग कम नक आउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलिलाई ६ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिंग्सको हुनेछ ।
प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ऐभरेष्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेड, मञ्जुश्री फाईनान्स लिमिटेड, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा जि.आइ.सी इन्स्योरेन्स लिमिटेड, सिदार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड र एनआइएमबि एस क्यापिटल लिमिटेडको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्ड लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ
बैंकको देशभर १०३ शाखा कार्यालयहरु करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ९।५० प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ५४२४.५७ रुपियाँ कायम भएको छ । यसअघि रु. ५९३९.९० थियो ।
समायोजन गरिएको मूल्यबाट बुधबारदेखि नै कारोबार शूरु हुने नेप्सेले जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो । सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।
रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ । एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ । साथै, खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न र दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत कृषकहरूलाई भनिएको छ ।
यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ । पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने र मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ । यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है
काठमाडौं । भारत भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सीमा विवादबारे बोल्न अनुरोध गरेका छन्।
हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है । पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भाथ्यो ।’
लामिछाने भारत भ्रमणमा जाने तयारीमा छन् । त्यस क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिइएको छ ।
















