Page 2

असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने जनाईएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
धान दिवस विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

काठमाडौं । सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
सोफी स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए।
निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो।
तर इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान युस्ताकियोले बललाई जाली चुमाउँदै क्यानडालाई ऐतिहासिक जित दिलाए।
उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो भने दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ।
अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (सोमबार) बस्दैछ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

रास्वपा महाधिवेशन नसकिएपछि फेरि सर्‍यो प्रतिनिधि सभा बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ ।
आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार रास्वपाको महाधिवेशनमा सहभागी मन्त्री तथा सांसदहरू अझै चितवनमै रहेकाले बैठक स्थगित गरिएको हो।
आजको बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो।
कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्रम थियो।
सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक पनि सदनमा पेस गर्ने तयारी थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने कार्यसूची थियो।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको थियो।
यसैगरी, आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल र पारित गर्ने कार्यसूची पनि आजकै बैठकमा राखिएको थियो।
चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी रास्वपाको प्रथम महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। यद्यपि पदाधिकारी चयनको प्रक्रिया अझै बाँकी रहेकाले महाधिवेशन जारी छ।

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।
महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी हुन् ।
यसअघि कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।

महामन्त्रीको दौडबाट पाँच उम्मेदवार बाहिरिए, विपिनकुमार आचार्यलाई समर्थन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महामन्त्री पदबाट पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
महामन्त्री पदको दाबेदारी प्रस्तुत गरेका कविन्द्र बुर्लाकोटी, शिशिर खनाल, जगदीश खरेल (ललिलतपुर), प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन घोषणा गरेका हुन्।
उम्मेदवारी फिर्तापछि जारी संयुक्त अपिलमा उनीहरूले पार्टीको एकता, संगठनको मजबुती र साझा नेतृत्व निर्माणलाई प्राथमिकता दिँदै आचार्यको पक्षमा उभिने निर्णय गरेको जनाएका छन्।
उनीहरूले प्रतिनिधिहरूलाई पनि आचार्यलाई मतदान गर्न आग्रह गरेका छन्।

भेनेजुएलामा भूकम्प ः मृतकको संख्या १६४ पुग्यो, ९७१ जना घाइते

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार विनाशकारी भूकम्पका कारण अहिलेसम्म १६४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९ सय ७१ जना घाइते भएका छन् ।
यसैबीच, फ्रान्स र नेदरल्याण्ड दुवैले भेनेजुएलामा उद्धार टोली पठाउने घोषणा गरेको छ ।

रास्वपा पदाधिकारीको मतदान आजै मध्यराति हुने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशनको परिमार्जित निर्वाचन कार्यतालिका २०८३ सार्वजनिक गरेको छ ।
आयोगले राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ को दफा ९ बमोजिम नयाँ कार्यतालिका पुनः प्रकाशन गरेको छ ।
पहिलो चरणको केन्द्रीय सदस्यको परिणाम घोषणा भएपश्चात् पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण तथा दर्ताको समय बेलुका ६ः३० देखि ७ः०० बजेसम्म तोकिएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७ः३० बजे प्रकाशन गरिनेछ भने उम्मेदवारविरुद्ध दावी वा विरोध गर्नका लागि साँझ ८ः०० बजेसम्मको समय दिइएको छ ।
दावी–विरोधमाथि जाँचबुझ गरी उम्मेदवारी फिर्ता लिने अन्तिम समय साँझ ८ः३० बजेसम्म रहने र त्यसको १५ मिनेटपछि अर्थात् साँझ ८ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशनसँगै साँझ ८ः४५ देखि ९ः१५ बजेसम्म आधा घण्टाको मौन अवधि रहनेछ ।
मौन अवधि सकिएलगत्तै असार ११ गते बिहीबार राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म पार्टी पदाधिकारी चयनका लागि मतदान हुनेछ । मतदान सम्पन्न भएपछि असार १२ गते राति १२ः१५ बजेदेखि १ः१५ बजेसम्म मतगणना गरिनेछ र सोही राति १ः३० बजे पदाधिकारीको अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रिया सम्पन्न हुने कार्यतालिकामा उल्लेख गरिएको छ ।

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।
विधेयक प्रमाणीकरणसँगै वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ ।

चेम्बर र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जमलस्थित चेम्बर भवनमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ तथा नेपाल मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित (पतिपत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान) ले नेपाल मेडिसिटीमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन् ।
सम्झौताअनुसार नेपाल मेडिसिटीले अस्पतालको भर्ना तथा बाह्यरोगी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ । यद्यपि औषधि, उपभोग्य सामग्री, इम्प्लान्ट, प्याकेज सेवा तथा बाह्य परीक्षणमा भने उक्त छुट लागू हुने छैन । बीमामार्फत प्रत्यक्ष क्यासलेस सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू नहुने व्यवस्था गरिएको छ ।
यस सहकार्यअन्तर्गत नेपाल मेडिसिटीले नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा कर्मचारीहरूका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, बेसिक लाइफ सपोर्ट तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।
दुबै संस्थाले सेवा प्रवाह, समन्वय तथा सूचना आदानप्रदानका लागि सम्पर्क व्यक्ति तोक्ने तथा प्राप्त सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उक्त सहकार्यबाट चेम्बरका सदस्य, उनीहरूका परिवार तथा व्यवसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे । नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा निवारणमुखी स्वास्थ्य सेवाले स्वस्थ व्यवसायिक समुदाय निर्माणमा योगदान पुग्ने उनको भनाइ थियो ।
उनले चेम्बर र मेडिसिटी बीचको साझेदारीले सामाजिक उत्तरदायित्वलाई थप मजबुत जनाउँदै अन्य संस्थाका लागि पनि अनुकरणीय उदाहरण स्थापित गर्ने विश्वास व्यक्त गरे । साथै उनले स्वास्थ्य र आर्थिक विकास एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै स्वस्थ मानव संसाधन नै आर्थिक समृद्धिको आधार रहेको जनाए ।
सो अवसरमा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच भएको सहकार्य सम्झौता नयाँ नभई विगतदेखिको सम्बन्धको निरन्तरता भएको जनाउँदै सम्झौता कार्यक्रममा बोल्दै उनले चेम्बरका सदस्य तथा व्यवसायीलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यस किसिमको सहकार्यले संस्थाप्रतिको जिम्मेवारी थप बढाएको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायले साझा प्रयास गर्नुपर्नेमा जोड दिए ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...