काठमाण्डौ । एनएमबि बैंकले नागरिक एप इन्टिग्रेसनका लागि नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ।
यस सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फारामहरू सहज रूपमा भर्न सक्नेछन्। यसबाट ग्राहकले आफ्ना व्यक्तिगत विवरण बारम्बार टाइप गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई बैंकिङ सेवा थप सहज र छिटो हुने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षामा विशेष ध्यान दिइनेछ। ग्राहकले आफ्नो नागरिक एपबाट विवरण प्रयोग गर्ने अनुमति नदिएसम्म बैंकले ती विवरण हेर्न वा प्रयोग गर्न पाउनेछैन।
नागरिक एपबाट प्राप्त जानकारी जुन प्रयोजनका लागि मागिएको हो, सोही प्रयोजनमा मात्र प्रयोग गरिने बैंकले स्पष्ट पारेको छ।
इन्टिग्रेसनका लागि एनएमबि बैंकद्वारा नागरिक एपसूचना प्रविधि विभागसँग सहकार्य
सेयर बजारमा ४१.७० अंकको उछाल, साढे पाँच अर्बको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेको छ । गत शुक्रबार नेप्से २६७७.५४ विन्दुमा थियो । सोमबार त्यो १.५५ प्रतिशतले बढेर २७१९.२४ विन्दुमा पुगेको छ ।
नयाँ सरकार गठनपछि घट्दो क्रममा रहेको सेयर बजार गत सातादेखि बढ्दो क्रममा छ । यसअघि मंगलबार ६.११, बुधबार १४ र बिहीबार ७.५० अंकले नेप्से बढेको थियो । त्यसपछि शुक्रबार ७९.७४ अंकले बढेको नेप्से सोमबार ४१.७० अंकले बढेको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको विभिन्न सार्वजनिक अभिव्यक्ति, बोर्डले ल्याएको १० वर्षे मार्गचित्र र आगामी आवको पूँजी बजार नीतिले बजार बढाउने सहयोग पुगेको देखिन्छ । यस्तै, आज प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार सम्बद्ध अधिकारीसँग भेटवार्ता गरेका छन् । त्यसले गर्दा पनि सोमबार नेप्से बढ्न सहयोग पुगेको देखिन्छ ।
सोमबार पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको छ । एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयरको ६७ हजार १५५ पटक कारोबार भएको छ । आज ३४३ वटा स्क्रीप्ट कारोबारमा आएका छन् ।
सोमबार एभरेष्ट कलर लिमिटेडेको सेयर मूल्य १४.९७ प्रतिशतले बढेको छ । यो आज देखि नै कारोबारमा आएको कम्पनी हो ।
यस्तै, रिज लाइज इनर्जीको १४.६४ प्रतिशत, श्रीनगर एग्रीटेकको १०.९५ प्रतिशत, सोलु हाइड्रो पावरको ९.५६ प्रतिशत र रिलायन्स स्पीनिङ मिल्सको ९.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज अंखु खोला जलविद्युत कम्पनीको सबै भन्दा धेरै २९ करोड १५ लाख ५२ हजार रूपियाँको सेयर कारोबार भएको छ । यसैगरी रिलयान्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख ५७ हजार, रिडी पावरको २० करोड ६६ लाख ४८ हजार, कर्पोरेट डेभलपमेन्टको १९ करोड आठ लाख १० हजार र नेशनल हाइड्रोपावार डेभलपमेन्टको १५ करोड ८९ लाख पाँच हजार रूपियाँको सेयर कारोबार भएको छ ।
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २, १ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइमको गोल नै निर्णायक गोल बनेपछि अर्जेन्टिना विश्वकप २०२६ को फाइनल प्रवेश गरेको हो ।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरे ।
तनावपूर्ण बनेको पहिलो हाफमा दुवै टोलीले गोलका लागि अवसर बनाउन नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा तीन गोल भयो । खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । गोर्डनले मोर्गन रोजर्सको क्रसमा गोल गरेका थिए । तर, अन्तिम समयमा अग्रता जोगाउन नसक्दा इंग्ल्यान्ड सेमिफाइनलमै रोकिन पुग्यो ।
इरानमा फेरि अमेरिकी हवाई हमला, जवाफमा बहराइन, कुवेत र जोर्डनमाथि तेहरानको क्षेप्यास्त्र आक्रमण
काठमाडौं । अमेरिकाले इरानको सैन्य लक्ष्यहरूमा फेरि हवाई हमला गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बिहीबार बिहानै गरिएको आक्रमणहरूले सिस्तान–बलुचिस्तानमा रहेका क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू, प्रतिरक्षा संरचनाहरू र ब्रिगेडको ब्यारेकलाई लक्षित गरेको हो ।
जवाफी कारबाहीमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । बहराइन र कुवेतमा क्षेप्यास्त्रसम्बन्धी चेतावनी जारी गरिएको थियो । जोर्डनले इरानका तीनवटा क्षेप्यास्त्र खसालेको दाबी गरेको छ ।
यसैबीच, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले यदि अमेरिका पछि नहटेमा इरान ठूलो सैन्य भिडन्तका लागि तयार रहेको जनाएका छन् ।
यस्तै, इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मध्यपूर्वबाट हुने तेल तथा ग्यासको निर्यात रोक्ने चेतावनी दिएको छ ।
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, १५ दिने अल्टिमेटम
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ।
सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिइएको छ।
उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्।
अनुपस्थित हुनेहरूमा नवौँ तहका क. रेडियोलोजिष्ट डा. अमित रौनियार र क। पेडियाट्रिक सर्जन डा. मृदुल प्रसाद जोशी, विभिन्न तहका मेडिकल अधिकृतहरू, नर्सिङ अधिकृत, अस्पताल नर्सिङ निरीक्षक, मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा स्टाफ नर्सहरू रहेका छन्।
मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र आफ्नो आधिकारिक सफाइ पेस गर्न निर्देशन दिएको छ र सो अवधिभित्र सफाइ पेस नगरे कानुन बमोजिम कारबाही अघि बढाइने जनाएको छ।
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्।
मंगलबार राति गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार गौतम केही दिनयता मानसिक तनावमा थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाह प्रयास गरेका डीएसपी आचार्यले जनाए ।
घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्याएका थिए। उक्त अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ ।
उनलाई बिहानै कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ । प्रहरीका अनुसार सहनी गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गरी परिवार पालनपोषण गर्दै आएका थिए।
कर्णालीमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाएका छन् ।
प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । तर उनीहरूको राजिनामा स्वीकृत भइसकेको छैन ।
राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले जनाए ।
प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए ।
मन्त्रीहरुले राजीनामा बुजाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । एमालेका यामलाल कँडेल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री छन् ।
अनेरास्ववियु अध्यक्ष धामीसहितका विद्यार्थी नेताहरु पक्राउ
काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहितका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंका विभिन्न मिडिया हाउसको गेट अगाडि र सडकमा शंकास्पद गाडी पार्किङको विरोधमा अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा अध्यक्ष धामीसहितका विद्यार्थी नेताहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा अनेरास्ववियु अध्यक्ष धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदिप थापा र अनेरास्ववियु सिटीभिटी सदस्य सिरिस बुढा रहेका छन् । पक्राउ विद्यार्थी नेताहरूलाई विनाशर्त रिहा गर्न अनेरास्ववियुले माग गरेको छ ।
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो । पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका (होल्ड गरिएका) सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।
गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो । बाढीबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण कार्य अहिले जारी रहेको छ ।
हाल खोलामा डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको छ । अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले खोलामा पानीको सतह बढ्ने बित्तिकै सुरक्षाका कारण सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।
वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिएको छ ।
आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु
काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ ।
असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो ।
उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।
उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
















