काठमाण्डौं । आत्मदाहको प्रयास गरेका मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने भएको छ।
सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी नेपालीलाई तत्कालै भारत नलगिने भएको हो । उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उनलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए ।
साथै सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने जनाएको थियो।
तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ।
चिकित्सकहरूको टोलीले उनको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका थिए ।
आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई भारत नलगिने
अमेरिका–इजरायलको आक्रमणमा मारिएका खामेनीको १३१ दिनपछि अन्त्येष्टि
काठमाडौं । अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको १३१ दिनपछि अन्त्येष्टि गरिएको छ । उनको शव १३१ दिनसम्म चिसोमा सुरक्षित राखिएको थियो ।
शुक्रबार बिहान खामेनीलाई उनको गृहसहर मशहदस्थित इमाम रेजा तीर्थस्थलको ‘दार अल–जिक्र’ परिसरमा गाडिएको हो । इमाम रेजा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र धार्मिक स्थलहरूमध्ये एक मानिन्छ ।
हजारौं सर्वसाधरणहरुको उपस्थितिमा खामेनीको गृहनगर मशहदमा उनलाई अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टि यात्राका क्रममा ठूलो संख्यामा मानिसहरू शोकमा डुबे र आफ्नो छाती पिट्दै गरेको देखिएका थिए ।
अन्त्येष्टि समारोहमा उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनी भने सम्पूर्ण प्रक्रियाका क्रममा कतै देखिएनन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, सुरक्षा खतराका कारण मोज्तबा अन्त्येष्टिमा सार्वजनिक रूपमा सहभागी भएनन् ।
अन्त्येष्टि समारोहमा संसदका सभामुख मोहम्मद बागेर घालिबाफ, प्रधानन्यायाधीश गुलामहोसेन मोहसेनी एजेई र खामेनीका छोरा मुस्तफा खामेनी लगायत इरानका धेरै वरिष्ठ नेताहरू उपस्थित थिए ।
२८ फेब्रुअरी २०२६ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनी मारिएका थिए । सोही आक्रमणमा खामेनीका परिवारका धेरै सदस्यहरू पनि मारिएका थिए ।
विश्वकप फुटबल ः मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
काठमाण्डौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।
फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।
खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो ।
फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । पराजित मोरक्कोको यसपटकको विश्वकप यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ ।
आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन आएका होइनन् ः विभाग
काठमाडौं । आज त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका व्यक्ति राहदानी सम्बन्धी सेवा लिन नआएका विभागले स्पष्ट पारेको छ ।
रादहानी सेवा लिन आएको व्यक्तिले आत्मदाहको प्रयास गरेको भन्ने अफवाह फैलिएको भन्दै राहदानी विभागले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
“उक्त घटनाको सम्बन्धमा राहदानी विभागको सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीहरू र सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार घाइते हुनुभएका व्यक्ति राहदानीरकन्सुलर सेवा लिन आएको नदेखिएको प्रारम्भिक जानकारी प्राप्त हुन आएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” विभागले विज्ञप्तिमा भनेको छ ।
प्रहरी प्रशासनको सहयोगमा घाइतेलाई अस्पताल लगेर उपचार चलिरहेको विभागले जनाएको छ ।
सुकुमबासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न मानवअधिकार आयोगको निर्देशन
काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले सुकुमबासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न तथा वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई विस्थापित नगर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
आयोगका उपसचिव तथा सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा २०८३ वैशाख १२ गतेदेखि काठमाण्डौं जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानबाट सुकुमबासीका घरटहरा हटाई होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरूलाई त्यहाँबाट समेत हटाइएको तथा हटाउने तयारी भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका अनुसार अनुगमनका क्रममा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुमबासीलाई सूचना टाँस गरेर ५ दिनभित्र सेन्टर खाली गर्न निर्देशन दिइएको र त्यसपछि थप ७ दिनको समयावधि तोकिएको पाइएको छ । राज्यका निकायहरूले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको, पर्याप्त खाद्यान्नको व्यवस्था नगरेको तथा उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति आवश्यक जिम्मेवारी नलिएको आयोगको निष्कर्ष छ ।
आयोगले यस्ता गतिविधिबाट आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जन लगायतका बहुआयामिक अधिकार गम्भीर रूपमा प्रभावित भएको जनाएको छ । आवासको अधिकार सम्बन्धी ऐन, २०७५, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, बालअधिकारसम्बन्धी महासन्धि तथा अन्य अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना नभएको आयोगले उल्लेख गरेको छ ।
विज्ञप्तिमा आयोगले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा २०६६, २०६९, २०७७ र २०८३ मा नेपाल सरकारका विभिन्न निकायलाई दिएको सिफारिस तथा पत्राचारको प्रभावकारी कार्यान्वयन नभएकै कारण अहिलेको अवस्था सिर्जना भएको ठहर पनि गरेको छ ।
आयोगले सुकुमबासीहरूको कुनै पनि मानवअधिकार जोखिममा पर्ने कार्य नगर्न, उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको पूर्ण सम्मान गर्न तथा वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री शाहद्वारा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेका छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका शाहले स्वास्थ्यका ६ वटा प्रतिष्ठानमा सिफारिस समितिको सिफारिसअनुसार उपकुलपति नियुक्त गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नवीसमान सिंह प्रधान नियुक्त भएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्रलाई नियुक्त गरिएको छ ।
उपकुलपति नियुक्तिका लागि सरकारले ‘छनोट तथा सिफारिस समिति’ले गठन गरेपछि समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो ।
जन्मदिनमा श्रीमानलाई रिलायबल नेपाल लाइफको १० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनलाई स्मरणीय बनाउने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–५ निवासी सुमित्रा गौतमले आफ्ना श्रीमान् सुरेश रेग्मीलाई १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार प्रदान गरेकी छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमार्फत खरिद गरिएको उक्त जीवन बीमा पोलिसी जन्मदिनको विशेष अवसरमा उपहारस्वरूप प्रदान गरिएको हो। आर्थिक सुरक्षा र परिवारको भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा पोलिसी उपहार दिने संस्कार विस्तार हुँदै गएको सन्दर्भमा यो कार्यलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हात्तीसुँडे शाखाका शाखा प्रमुख नवीन खड्काले बीमितकै निवासमा पुगेर एक कार्यक्रमका बीच जीवन बीमा पोलिसी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम मात्र नभई दीर्घकालीन आर्थिक योजना, बचत तथा परिवारको भविष्य सुरक्षित गर्ने प्रभावकारी उपाय भएको जानकारी गराइएको थियो। साथै जन्मदिन, विवाह, वार्षिकोत्सव लगायतका विशेष अवसरमा जीवन बीमा पोलिसी उपहार दिने संस्कृतिले आर्थिक सचेतना बढाउनुका साथै प्रियजनप्रतिको जिम्मेवारी र मायालाई पनि झल्काउने शाखा प्रमुख खड्काले जनाएका छन्।
सरकारले गर्यो एकैदिन १७ अर्ब भुक्तानी, असार लागेपछि मात्रै करिब २ खर्ब बजेट खर्च
काठमाडौं । असार मसान्त नजिकिएसँगै सरकारले बजेट खर्चमा पनि तिव्रता दिएको छ । सरकारले एकैदिन १७ अर्ब रुपैयाँसम्म भुक्तानी गरेको छ ।
महालेखा नियन्त्रककको कार्यालयको तथ्यांकअनुसार असार २४ गते मात्रै एकैदिन १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ ।
असार २३ गतेसम्म सरकारको बजेट खर्च कुल १५ खर्ब १४ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ रहेकोमा असार २३ गते १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
कानुनअनुसार सरकारले असार २५ गतेभित्र भुक्तानी गर्ने चेक काटिसक्नुपर्छ । सोहीकारण असार मसान्तमा विगतदेखि नै सरकारले भुक्तानी गर्दा भुक्तानी प्रणालीमा जाम हुने समस्या आउने गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार असार २५ गते राति १२ बजेदेखि सरकारी प्रणालीमा बजेट निकासा बन्द हुनेछ । सोहीकारण अहिले अन्तिम केही घण्टामा सरकारी प्रणालीमा भुक्तानीको अत्यधिक चाप छ ।स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ ।
असार २४ गते सरकराले गरेको कुल भुक्तानीमध्ये चालु तर्फ ८ अर्ब ६९ करोड २२ लाख, पूँजीगत तर्फ ६ अर्ब ७४ करोड २१ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ छ । असार मसान्त आउन लाग्दासरकारको बजेट खर्च ७८ प्रतिशत पुगेको छ । जसमध्ये चालु तर्फ ८७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९०.१७ प्रतिशत पुगेको छ ।
पुँजीगत खर्चको अवस्था भने निराशाजनक छ । सरकारले चालु आर्थिक वर्षमा पूँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये असार २४ सम्म १ खर्ब ५६ अर्ब ४३ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ। जुक कुल विनियोजनको ४० प्रतिशत मात्रै हो ।
असार मसान्त नजिकिदै जााँद सरकारको खर्चमा पनि हरेक दिन वृद्धि देखिएको हो । २४ असारमा एकैदिन १७ अर्ब रुपैयाँ भुक्तानी गरेको सरकारले २३ असारमा ११ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको थियो । जसमध्ये चालु खर्च ७ अर्ब २० करोड ४ लाख रुपैयाँ र पूँजीगत खर्च ४ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ थियो ।
असार २२ गते सरकारले २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।
सरकारले असार लागेपछि मात्रै करिब २ खर्ब रुपैयाँ भुक्तानी गरेको छ । गत जेठ मसान्तमा सरकारको कुल बजेट खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ रहेकोमा असार २४ सम्म आउँदा १ खर्ब ८५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
जेठ मसान्तमा ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ रहेको चालु खर्च असार २४ मा आउँदा बढेर १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै पूँजीगत खर्च जेठ मुसान्तमा १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ रहेकोमा आसार मसान्तमा १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय व्यवस्थातर्फ जेठ मसान्तसम्म ३ खर्ब ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ रहेकोमा असार २४ मा ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
टेलिकम बिलिङको ३३ करोड भ्रष्टाचार प्रकरणमा सबैलाई सफाइ, संगीता पहाडी प्रवन्ध निर्देशकमै फर्कने
काठमाडौं। नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा ३३ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा नेपाल टेलिकमका कर्मचारीसिहत १८ जनालाई नै अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीहरु नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले टेलिकमकी बहालवाला प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध गत वर्ष २०८२ जेठ २५ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाई गर्दै विशेषले टेलिकमको बिलिङ प्रणाली खरिदमा भएको भनिएको भ्रष्टाचारमा दाबी नपुग्ने ठहर गर्दै सबैलाई सफाइ दिएको छ ।
अख्तियारले प्रतिवादीहरूबाट कूल ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो। अनुसन्धानका क्रममा बिलिङ प्रणालीको ठेक्का अस्वाभाविक रूपमा लम्ब्याएर संस्थालाई ९ करोड ८८ लाख रुपैयाँ प्रत्यक्ष हानिनोक्सानी पुर्याएको भेटिएको अख्तियारको दाबी गरेको भएपनि विशेषले यो दाबीमा प्रमाण नभएकोले सफाइ दिएको हो ।
अख्तियारले टेलिकमको बिलिङ प्रणाली खरिद र त्यसपछिको मर्मतसम्भार सम्झौतामा मिलेमतो गरेर आर्थिक अनियमिता गर्दै राज्यलाई हानीनोक्सानी गराएको दाबी गरेको थियो ।
नेपाल टेलिकमले २०६८ पुस ६ गते चिनियाँ कम्पनी एसिया इन्फो लिंकेज टेक्नोलोजिजसँग एकीकृत बिलिङ प्रणाली (सीआरटीबी एन्ड सीएस) खरिदको सम्झौता गरेको थियो। सम्झौताको सर्तअनुसार वारेन्टी सकिएपछि वार्षिक मर्मतसम्भार शुल्क भुक्तानी गर्दा ५ प्रतिशतको घट्दो दरमा गर्नुपर्ने व्यवस्था थियो।
तर, अख्तियारले टेलिकमका अधिकारीहरूले उक्त सर्त उल्लंघन गरी बदनियतपूर्वक आपूर्तिकर्तासँग सम्झौता गरेको र कम्पनीलाई ३३ करोड ४८ लाख रुपैयाँ हानि पुर्याएको दाबी गरेको थियो। यो सेवा खरिद गर्दा सम्झौताभन्दा बढी रकम भुक्तानी गरिएको र नयाँ फिचर थप्ने नाममा अस्वाभाविक मूल्य देखाइएको अख्तियारको अभियोग थियो।
यो मुद्दामा टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र बहालवाला प्रबन्ध निर्देशक रहेकै अवस्थामा निलम्बनमा परेकी संगीता पहाडी अर्याल मुख्य प्रतिवादी थिए। यसमा टेलिकमका कर्मचारीहरू प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, विनिता श्रेष्ठ, अमूल प्रधान, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा कर्ण र परमात्मा भट्टराईलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।
कर्मचारीका अतिरिक्त चिनियाँ कम्पनी एसिया इन्फो, त्यसका निर्देशकहरू र स्थानीय एजेन्ट अरनिको इन्टरनेसनलका निर्देशक शैलेश श्रेष्ठविरुद्ध पनि मुद्दा चलाइएको थियो।
अदालतको यो फैसलासँगै निलम्बनमा परेकी संगीता पहाडी अर्यालसहितका कर्मचारीहरूलाई पुनः सेवामा फर्कने भएका छन् । पहाडीका अनुसार अदालतले न्याय दिएकोले भोलिसम्म आदेश लिएर मन्त्रालय जाने र टेलिकम गएर काम गर्ने जनाईन ।
उनले केही गरी भोलि नभ्याएको अवस्थामा मात्रै सोमाबारदेखि नियमित कार्यालय जाने र पुनः प्रवन्ध निर्देशककै जिम्मेवारी सम्हाल्ने जनाईन ।
उनलाई सरकारले ४ वर्षको लागि टेलिकमको प्रवन्ध निर्देशक नियुक्त गरेको थियो । उनको नियुक्ति आगामी भदौमा २ वर्ष पुग्ने भएकोले अर्को २ वर्ष कार्यकाल बाँकी नै रहेकोले आफ्नो जिम्मेवारीमा फर्कने पनि पहाडीले जनाईन ।
राष्ट्रिय वाणिज्य बैंक बैंकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै
काठमाडौँ । मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जनाए । उनका अनुसार अघिल्लो आवमा रु पाँच खर्ब तीन अर्ब रहेको निक्षेप यस आवको हालसम्म रु छ खर्ब २६ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा करिब रु १२३ अर्ब अर्थात् करिब २४ प्रतिशतले बढी रहेको छ ।
यस अवधिमा त्यस बैंकको निक्षेप समग्र बैंकिङ उद्योगको हिस्सामा ७.५९ प्रतिशत पुगेको छ । बैंकले यस आवको चैत मसान्तसम्म रु तीन खर्ब ३९ अर्ब कर्जा विस्तार गरेको छ । प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार, आव २०७८÷७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२÷८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ ।
समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले वार्षिक १३.२६ प्रतिशतको कर्जा वृद्धि गर्दै कुल रु तीन खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिए ।
उनले भने, “सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा वृद्धि रु २७७ अर्ब भई ७।४३ प्रतिशतको वार्षिक कर्जा वृद्धि गरी कुल रु ५२ खर्ब ५१ अर्ब मात्र कर्जा प्रवाह गरेका छन् ।”
बैंकको व्यवसाय वृद्धि सँगसँगै शेयर मूल्यमा पनि वाणिज्य बैंकले सुधार गरिरहेको छ । विसं २०८२ चैत मसान्तमा बैंकको किताबी मूल्य बढेर रु ३५१÷९८ प्रति शेयर पुगेको र प्रतिशेयर आम्दानी रु २३÷५५ पुगेको बैंकले जनाएको छ । समयसापेक्ष ग्राहकको मागबमोजिम परिस्कृत रुपमा सेवा प्रवाह र सुविधा प्रदान गर्दै आएको सो बैंकले गत चैत मसान्तसम्म रु दुई अर्ब ७६ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।
चैत मसान्तसम्म समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले निष्क्रिय कर्जा कम गर्ने सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा त्यस बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत रहनु बैंकका लागि सकारात्मक पक्ष रहेको जनाए ।
खराब कर्जालाई निरन्तर घटाउँदै लैजाने बैंक व्यवस्थापनले रणनीतिक योजना बनाई कार्य गरिरहको उनले स्पष्ट पारे ।
बैंकले सातै प्रदेश, ७७ जिल्लामा ३१६ शाखा कार्यालय, ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट र २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित मुलुकको ग्रामीणदेखि सहरी क्षेत्रसम्म ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । वर्तमान आर्थिक परिवेश, न्यून कर्जा माग तथा बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीकै अवस्थामा पनि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको साख मूल्याङ्कनले बैंकको संस्थागत साखलाई ‘ए’ प्लसमा पुनःपुष्टि गर्नुले आफूलाई थप हौसला बढाएको प्रमुख कार्यकारी अधिकृत खनालले जनाए । देशको सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंकका रुपमा सो बैंक राष्ट्रियस्तरमा पुरस्कृत भइसकेको छ ।
















