काठमाण्डौं । नेपाल र बेलायतबीच आर्थिक साझेदारीको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बेलायतको लन्डनस्थित नेपाली दूतावासले ‘व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीको प्रवर्द्धन’ भन्ने नाराका साथ नेपाल–बेलायत आर्थिक साझेदारी फोरम २०२६ आयोजना गरेको छ।
उक्त सम्मेलनमा नेपाल र बेलायतले दुईवटा छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
पहिलो सम्झौता बेलायतको वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ बीच तथा दोस्रो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच भएको हो ।
वेस्ट लन्डन चेम्बर अफ कमर्सका तर्फबाट सीईओ एलेन राइड्स र डेपुटी चेयर डा. रेनु राजले हस्ताक्षर गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे र नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष डा. रोशन राठीले काठमाण्डौंबाट भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका थिए।
यी सम्झौताहरूको उद्देश्य द्विपक्षीय व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने, व्यापार तथा लगानीका अवसरहरूको प्रवर्द्धन गर्ने, र दुवै देशका निजी क्षेत्रबीच सहकार्य तथा व्यापारिक सञ्जाल विस्तार गर्ने रहेको छ।
दूतावासले दुई देशका निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर आपसी सहकार्यका सम्भावना पहिचान गर्न यस पहलको सुरुवात गरेको जनाएको छ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले पछिल्ला वर्षहरूमा नेपाल–बेलायत आर्थिक सम्बन्धमा आएको तीव्रता उल्लेख गर्दै नेपाली बजारमा लगानी विस्तार गर्न व्यवसायी समुदायलाई आह्वान गरे। उनले दोहोरो कर हटाउने सम्बन्धी सम्झौताबारे छलफल भइरहेको पनि जनाए ।उल्लेख गर्दै यी समझदारीपत्रहरूले व्यापार र लगानीका नयाँ अवसरहरू खोल्ने विश्वास व्यक्त गरे।
परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भिडियो सन्देशमा नेपाल सरकारले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, पर्यटन विस्तार, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना तथा विश्वव्यापी मूल्य श्रृंखलामा नेपाललाई अझ सुदृढ रूपमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उनले जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार, उत्पादन, सूचना प्रविधि तथा डिजिटल सेवाजस्ता प्राथमिक क्षेत्रमा बेलायती लगानी स्वागतयोग्य रहेको उल्लेख गरे।
फोरममा व्यापार, लगानी र डिजिटल अर्थतन्त्रसम्बन्धी रणनीतिक छलफलहरू सञ्चालन गरिएका थिए। बजार पहुँच, लगानी सहजता, कृत्रिम बुद्धिमत्ता, प्रविधि नवप्रवर्तन, आउटसोर्सिङ, व्यावसायिक सेवा र व्यापारिक सहकार्यका विषयमा गहन विमर्श भएको थियो। सहभागीहरूले नीतिगत स्पष्टता, संस्थागत सहकार्य, दक्ष जनशक्ति विकास र सरकार तथा निजी क्षेत्रबीच निरन्तर संवादको आवश्यकता औंल्याएका थिए।
फोरममा १५० भन्दा बढी नीति निर्माता, सांसद, व्यवसायी, लगानीकर्ता, प्रविधि विशेषज्ञ, चेम्बर प्रतिनिधि, उद्यमी तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो।
नेपाल – बेलायत आर्थिक साझेदारीसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर
अमेरिकी स्वतन्त्रताको २५० औं वार्षिकोत्सव ः ट्रम्पले भने– अमेरिका विश्वको गौरवको प्रतीक
काठमाडौं । संयुक्त राज्य अमेरिकाले आज स्वतन्त्रताको २५० औं वार्षिकोत्सव मनाइरहेको छ ।
यस अवसरमा आज अमेरिकाको पेन्सिलभेनिया, न्युयोर्क र वासिङ्टन डिसी लगायत सबै राज्यमा परेड, ऐतिहासिक कार्यक्रम र सांगीतिक कन्सर्टहरू आयोजना भइरहेको छ ।
यसैबीच, वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन सुरु भएको छ । राष्ट्रपति ट्रम्पले विगत साढे दुई शताब्दीदेखि अमेरिका विश्वका लागि आशा, विश्वास, प्रकाश र गौरवको प्रतीक रहँदै आएको दाबी गरे । उनले भने, ‘भगवानको कृपाले हामी भविष्यमा पनि यस्तै रहनेछौँ र वास्तवमा, अझ उत्कृष्ट बन्नेछौँ ।’
ट्रम्पले ४ जुलाई १७७६ देखि ४ जुलाई २०२६ सम्मको अवधिमा अमेरिकाले निरंकुशतामाथिको विजय, स्वतन्त्रताको दमनमाथिको जित र अमेरिकी भावनाको शक्ति विश्वसामु प्रदर्शन गरेको जनाए ।
राष्ट्रपति ट्रम्पले भने, ‘आज हाम्रो देश पहिलेभन्दा बढी बलियो, स्वतन्त्र, समृद्ध र सुरक्षित छ, साथै यहाँ गर्वको भावना पनि अझ बढेको छ ।’
यस्तै, सम्बोधनका क्रममा ट्रम्पले कम्युनिज्मको आलोचना गरे । उनले भने, ‘हामी हाम्रो देशमा कम्युनिष्टहरू चाहँदैनौँ ।’
ट्रम्पले अमेरिकाको पहिचान स्वतन्त्रता, लोकतन्त्र र देशभक्तिबाट हुने र यी मूल्यमान्यताहरूसँग कुनै सम्झौता नगरिने पनि जनाए ।
वर्षा र खराब मौसमका कारण कार्यक्रम ढिला सुरु भएको थियो ।
ह्वाइट हाउसका अनुसार ट्रम्पको सम्बोधनपछि इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरिनेछ ।
डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, ६ जना घाइते
डोल्पा । डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आज बिहान करिब ३ बजे गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
बाढीमा परी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन् । उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।
बाढीमा परेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन् ।
प्रहरीका अनुसार घाइतेहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।
विश्वकपमा मेस्सीको अर्को कीर्तिमान, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।
अमेरिकाको मियामीमा भएको फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।
खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै साविक विजेता अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । यससँगै उनको विश्वकपमा व्यक्तिगत गोल संख्या २० पुगेको छ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनले आफ्नो कीर्तिमान अझ मजबुत बनाएका छन् ।
तथ्यांक संस्था अप्टाका अनुसार मेस्सी विश्वकपका दुई फरक संस्करणमा सात–सात गोल गर्ने पहिलो फुटबलर पनि बनेका छन् । उनले कतारमा सम्पन्न २०२२ को विश्वकपमा सात गोल गरेका थिए भने जारी २०२६ संस्करणमा पनि सात गोल पूरा गरेका छन् । यससँगै उनी गोल्डेन बुटका प्रमुख दाबेदारमध्ये एक बनेका छन् ।
नकआउट चरणको यो खेलअघि मेस्सी र फ्रान्सका कप्तान किलियन एम्बाप्पे समान ६–६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा अग्रस्थानमा थिए । केप भर्डेविरुद्धको गोलपछि भने मेस्सी एक्लै शीर्ष स्थानमा उक्लिएका छन् ।
पहिलो हाफमा अग्रता लिए पनि अर्जेन्टिनाले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफको ५९ औं मिनेटमा केप भर्डेका डेरोय डुआर्टेलेले बराबरी गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए ।
त्यसपछि मेस्सीले लगातार आक्रमण सिर्जना गरे पनि केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।
यस खेलअघि नै मेस्सीले विश्वकपमा ३० औं खेल खेलेर अर्को कीर्तिमान बनाएका थिए । उनी फिफा विश्वकपमा सर्वाधिक ३० खेल खेल्ने पहिलो फुटबलर बनेका छन् । साविक विश्वविजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा छ ।
अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए । त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केप भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काए । तर, १११ औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।
साविक विश्व विजेताविरुद्ध नवप्रवेशी केप भर्डेले उत्कृष्ट प्रदर्शन गरे पनि हारबाट जोगाउन सकेन ।
केप भर्डेलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग खेल्नेछ ।
इरानका पूर्वसर्वोच्च नेता खामेनीको अन्त्येष्टि सुरु, विश्वका नेता तेहरानमा
काठमाण्डौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि प्रक्रिया शुक्रबारदेखि तेहरानमा सुरु भएको छ।
अन्त्येष्टि तथा शोकसभामा सहभागी हुन विश्वका १०० भन्दा बढी देशका राष्ट्रप्रमुख तथा उच्च कूटनीतिक प्रतिनिधिहरू इरान पुगेका छन्।
अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा परी गत फेब्रुअरी २८ मा खामेनी मारिएका थिए ।
खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको हो ।
विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र दशकौंदेखि गम्भीर आर्थिक संकट झेलेको इरानले पनि खामेनीलाई धार्मिक प्रतीकवादले भरिएको भव्य विदाइ दिन कुनै कसर बाँकी राखेको छैन । संयोगवश यो कार्यक्रम अमेरिकाको २५०औं स्वतन्त्रता दिवसको आसपास परेको छ ।
खामेनीको कफिनमा श्रद्धाञ्जली दिन पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, सेनाप्रमुख आसिम मुनिर, साउदी अरेबियाका उपपरराष्ट्रमन्त्री वालिद अल–खुरैजी र अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकी तेहरान पुगेका छन्।
सोही आक्रमणमा ज्यान गुमाएका खामेनीकी छोरी, बुहारी, ज्वाइँ र ३ वर्षीया नातिनीको शव पनि सँगै राखिएको छ। इरान र इराकका विभिन्न धार्मिक सहरहरू हुँदै आगामी ९ जुलाईमा खामेनीको जन्मस्थान मशहदमा अन्तिम संस्कार गरिनेछ।
इरानी अधिकारीहरूका अनुसार यो इस्लामिक गणतन्त्रको इतिहासकै सबैभन्दा ठूलो व्यवस्थापन अभियानमध्ये एक हो ।
सरकारी कर्मचारी, विश्वविद्यालय, श्रमिक संगठन, दमकलकर्मी, सैनिक, उद्धारकर्मी तथा धार्मिक शोक समूहहरूलाई परिचालन गरिएको छ । इरान र छिमेकी इराकका विभिन्न सहर तथा पवित्र धार्मिकस्थलहरूमा लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गरिनेछ । शिया मुस्लिम बहुसंख्यक रहेको इराकले पनि लाखौँ मानिस सहभागी हुने जनाएको छ ।
इरानले यसअघि यति ठूलोस्तरको अन्त्येष्टि केवल इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनी (१९८९) र कुद्स फोर्सका कमाण्डर कासिम सुलेमानी (२०२०) का लागि मात्रै आयोजना गरेको थियो । दुवै कार्यक्रममा भीड नियन्त्रण गर्न नसक्दा धेरै मानिसको ज्यान गएको थियो ।
यस पटक खामेनीको शव सुरक्षित राख्न, लाखौँ श्रद्धाञ्जली दिन आउनेहरूको व्यवस्थापन गर्न तथा विदेशी पाहुनाको स्वागत गर्न अभूतपूर्व सुरक्षा योजना लागू गरिएको छ ।
शनिबार बिहान तेहरानस्थित इमाम खोमेनी मोसल्ला मस्जिद परिसरमा पार्थिव शरीर राखिएको छ । गर्मीबाट जोगाउन ६ हजारभन्दा बढी पानी छर्किने उपकरण जडान गरिएको छ ।
अन्त्येष्टिका क्रममा तेहरानका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल बन्द गरिएको छ । लाखौँ मानिस आउने भएकाले निजी सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ भने ७ सयभन्दा बढी पार्किङ स्थल खुला गरिएको छ ।
श्रद्धाञ्जली दिन आउनेहरूका लागि ५ करोड रोटी पकाइनेछ भने १६ वटा मोबाइल बेकरी सञ्चालन गरिने छन् ।
उद्धार तथा स्वास्थ्य सेवाका लागि २,५०० एम्बुलेन्स, २१ हेलिकप्टर, १०० ड्रोन, हजारौँ उद्धारकर्मी, ५ लाख लिटर सलाइन, २० हजार कक्षाकोठा तथा दुई दर्जनभन्दा बढी अस्पताल तयारी अवस्थामा राखिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारले तेहरान, मशहद र कुम आउने श्रद्धाञ्जलीकर्तालाई आफ्नै घरमा बस्न दिने अभियानसमेत सञ्चालन गरेको छ ।
मस्जिद, खेलकुद हल, पार्क र सांस्कृतिक केन्द्रहरूलाई पनि अस्थायी आवासका रूपमा तयार पारिएको छ ।
अन्त्येष्टिको तेस्रो दिन शवयात्रा तेहरानको पूर्वी भागबाट पश्चिमसम्म लैजाने कार्यक्रम छ । त्यसपछि धार्मिक नगर कुम हुँदै पार्थिव शरीर इराकका पवित्र सहर नजाफ र कर्बला पुर्याइनेछ । अन्ततः खामेनीको जन्मस्थल मशहदस्थित इमाम रेजाको पवित्र समाधिस्थलमा उनको अन्तिम संस्कार गरिनेछ।
इराकसम्म पार्थिव शरीर लैजानुलाई इरानले आफूलाई सीमाहीन इस्लामिक क्रान्तिको नेतृत्व गर्ने शक्तिका रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।
यसबीच तनावपूर्ण क्षेत्रीय परिस्थितिका बीच इरानी अधिकारीहरूले कडा राजनीतिक र सैन्य सन्देशहरू जारी गरेका छन्।
इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्ध अन्त्य गर्ने प्रतिबद्धताहरू पालना नभए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
विश्लेषकहरूका अनुसार यो आक्रमणले इरानभित्रको आन्तरिक राजनीतिक समीकरण बदलिदिएको छ। सरकार विरोधी प्रदर्शनकारीहरूलाई पनि राष्ट्रिय झण्डामुनि ल्याएको छ। सेन्टर फर मिडल इस्ट स्ट्रेटेजिक स्टडिजका वरिष्ठ अनुसन्धानकर्ता अबास असलानीले अल जजिरासँग कुरा गर्दै भनेका छन्, ‘अमेरिका र इजरायलले जे गरे, त्यो उनीहरूका लागि प्रत्युत्पादक भयो। उनीहरू देशमा सत्ता परिवर्तन चाहन्थे, तर जे भयो त्यसले उल्टै राष्ट्रिय एकताको लहर पैदा गरिदियो।’
विश्वकप फुटबल ः घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा, अब प्रि– क्वाटरफाइनलका खेल हुने
काठमाण्डौं । फिफा विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कन्सास सिटी रङ्गशालामा शनिबार बिहान भएको खेलमा कोलम्बियाले घानालाई १ गोलले हराएको हो ।
खेलको १४ औँ मिनेटमा कोलम्बियाका जोन आरियासले गरेको गोल नै निर्णायक भयो । कोलम्बिया समूह केको विजेता र घाना समूह एलबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।
फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । योसँगै विश्वकप फुटबलमा अन्तिम–१६ को समीकरण पनि पुरा भएको छ ।
अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने छन् ।
प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा आइतबार बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच हुनेछ ।
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासको सुनुवाइ गर्दै विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो।
पंकज विक्रम नेम्बाङसहितको तर्फबाट दायर गरिएको उत्प्रेषणयुक्त परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले लिखित जवाफ प्राप्त भई अन्तिम सुनुवाइ हुँदा थप विवेचना हुने उल्लेख गरेको छ । त्यसअघि तत्कालका लागि एन्फा पदाधिकारीहरूको यात्रामा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अदालतले राष्ट्रिय खेलकुद परिषद्ले २०८२ चैत ११ गते एन्फालाई निलम्बन गरेको भएपनि उक्त निलम्बन २०८३ जेठ १ गते फुकुवा भइसकेको अवस्थालाई आदेशको आधार बनाएको छ ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाका अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको अन्तर्राष्ट्रिय सहभागिता तथा वैदेशिक भ्रमण रोक्न गृह मन्त्रालय र अध्यागमन विभागमा पत्राचार गर्न युवा तथा खेलकुद मन्त्रालयलाई लेखेको पत्रसहित त्यसपछिका विभिन्न निकायमा भएका पत्राचारसमेत तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम जारी गरिएको अन्तरिम आदेशमा एन्फाका पदाधिकारी तथा सदस्यहरूको यात्रामा कुनै अवरोध नगर्न विपक्षीहरूलाई निर्देशन दिइएको छ ।
अदालतले आदेशको जानकारी सम्बन्धित विपक्षी निकायहरूलाई उपलब्ध गराउन पनि आदेश दिएको छ। अब उक्त रिटमाथि विपक्षीको लिखित जवाफ प्राप्त भएपछि अन्तिम सुनुवाइमार्फत विवादको टुंगो लाग्नेछ।
‘गौँथली’को ट्रेलरमा सासुको यातना र बुहारीको पीडा
काठमाण्डौं । डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । साउन १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको साढे ३ मिनेट लम्बाइको ट्रेलर मर्मस्पर्शी देखिन्छ । अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई केन्द्रमा राखिएको ट्रेलरमा महिलामाथि हुने घरेलु हिंसा र उत्पीडनलाई देखाइएको छ ।
सिम्रनको पात्रलाई पढ्न मन छ । तर, परिवारले सानै उमेरमा विवाह गरिदिन्छन् । त्यसपछि श्रीमान्को घरमा उनले भोग्नुपर्ने दुःख, पढ्नका लागि गरेको संघर्ष, सासुले दिने यातना र श्रीमान्को अस्वभाविक क्रियाकलापका कारण सामना गर्नुपर्ने कठिनाइलाई ट्रेलरले मार्मिक ढंगले प्रस्तुत गरेको छ । तपाईंलाई पारिवारिक कथावस्तु मनपर्छ भने यो फिल्म रुचिकर हुनसक्छ ।
डा. भोला रिजालको कथामा बनेको यस फिल्ममा सिम्रन र अरुणसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।
‘अल्फा’ले दर्शकलाई बनायो निराश, समीक्षकले दिए १ रेटिङ
माठमाण्डौं । जासूसी फिल्म निर्माणमा अब्बल मानिएको यशराज फिल्म्सलाई फेरि अर्को झड्का लाग्ने संकेत देखिएको छ । ‘टाइगर ३’ र ‘वार २’ अपेक्षित नचल्दा ठूलो दबाबमा परेको यशराजलाई शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘अल्फा’ले ‘स्पाई यूनिभर्स’लाई थप संकटमा पार्ने सम्भावना देखिएको छ । किनकि, फिल्मलाई दर्शक र समीक्षकबाट कमजोर प्रतिक्रिया मिलेको छ ।
भारतका चर्चित समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मलाई १.५ स्टार रेटिङ दिएका छन् । उनले एक्सन दृश्यहरू आकर्षक भए पनि कमजोर लेखनका कारण फिल्मले दर्शकसँग भावनात्मक सम्बन्ध जोड्न नसक्ने उल्लेख गरेका छन् । अभिनेत्री आलिया भट्ट एक्सन भूमिकामा फिट नदेखिएको समेत उनको दाबी छ ।
अर्का समीक्षक सुमित कँडेलले फिल्मलाई जम्मा १ रेटिङ दिँदै कथावस्तु तर्कहीन, हास्यास्पद र हलिउडबाट प्रभावित रहेको उल्लेख गरेका छन् । कमजोर लेखनका कारण फिल्मले मनोरञ्जन दिनुको सट्टा झर्को लाग्ने उनको भनाइ छ । उनी लेख्छन्, ‘न रोमाञ्च छ, न तर्क । न कुनै भावनात्मक सन्तुष्टि । केवल २ घण्टा ३० मिनेटको निराशाजनक अनुभव ।’
फिल्मलाई समीक्षकसँगै दर्शकले पनि रुचाएका छैनन् । एक्सन र भिजुअलको प्रशंसा भए पनि फिल्मको कथा, पटकथा र तर्कहीन प्रस्तुतिलाई लिएर दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाएका छन् । धेरैले फिल्मको स्क्रिप्ट लेखनलाई ‘अल्छीको पराकाष्ठा’ भन्दै हलिउडका एक्सन फिल्महरूको सोचविचार नै नगरी नक्कल गरिएको आरोप लगाएका छन् ।
शिव रवैलको निर्देशनमा बनेको ‘अल्फा’ले १० करोड हाराहारी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । तर, दर्शकबाट कमजोर प्रतिक्रिया मिलेका कारण दोस्रो दिनबाट फिल्मको व्यापारमा भारी गिरावट आउन सक्ने देखिन्छ । १२५ करोडको लागतमा बनेको यस फिल्ममा आलियासहित अनिल कपूर, बबी देओल, शर्वरी वाघलगायतको अभिनय रहेको छ ।
दयाहाङ र मिरुनाको ‘रातो घेरा’ मंसिर १८ मा आउने
काठमाण्डौं । ‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहने फिल्म ‘रातो घेरा द रेड सर्कल’ आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहूर्त गर्दै प्रदर्शन मितिबारे जानकारी गराइएको हो । फिल्मको छायांकन भने यही असार २५ गतेबाट सुरु हुनेछ ।
‘घरज्वाइँ’ र ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्ने यस फिल्ममा दयाहाङ र मिरुनासहित रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन (खबपु), सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, रामबाबु रेग्मी, डिबी गुरुङलगायतका कलाकारहरूको अभिनय रहनेछ ।
विश्राम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता जीवन गुरुङ हुन् । लौरो अभियानका गण्डकी प्रदेश संयोजक समेत रहेका उनले यसअघि गुरुङ भाषाको फिल्म ‘ङोल्स्यो रानी’ बनाएका थिए । उनका अनुसार ‘रातो घेरा’ सत्य घटनामा आधारित भएर बन्न लागेको हो । फिल्मलाई दुई श्रृंखलामा निर्माण गर्ने योजना रहेको उनले जनाए ।
फिल्मको निर्माणमा जीवनलाई कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले सघाउने छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । राजु स्याङ्तानको लेखन रहेको फिल्ममा शिशिर बिसंखेको छायांकन तथा मनोज थापा मगर र सागर आले मगरको संगीत रहनेछ । निर्माण नियन्त्रणमा सन्देश राई र कस्ट्युम डिजाइनमा जानकी कठायत रहेका छन् ।
















