काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेका छन् ।
जसअनुसार त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् ।
यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको हो ।
यस्तै पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन् ।
बालेनले नियुक्त गरे ७ विश्वविद्यालयमा उपकुलपति, त्रिविमा डा. थापा
मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस
काठमाण्डौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।
शुक्रबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।
यस्तै पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
प्राइम कमर्सियल बैंकको ३ अर्बको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
बैंकका अनुसार मागभन्दा बढी आवेदन परेमा भने तोकिएको मितिअगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिनेछ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।
कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ ।
१० वर्ष अवधिको उक्त डिबेञ्चरमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण निष्काशित कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ ।
डिबेञ्चरबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिने व्यवस्था बैंकले गरेको छ ।
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् ।
नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो ।
प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।
दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।
उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ । साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् ।
सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिए ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मणबाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व।सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रति विद्यार्थी रु. ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।
यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ । विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र नतिजामुखी कार्यसम्पादन सम्बन्धी १०० बुँदे कार्ययोजना तथा प्रभावकारी ग्राहक सेवाको मर्मलाई आत्मसात् गर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाएको छ ।
कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा तथा अन्योललाई पूर्णरूपमा सम्बोधन गर्न बैंकले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु मार्फत कर्जा, निक्षेपसहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको जनाएको छ ।
मेलम्चीको मुहानमा बाढी पस्दा आपूर्ति बन्द
काठमाण्डौं । मेलम्ची खानेपानीको मुहानमा बाढी पसेपछि पानी आपूर्ति बन्द भएको छ ।
मेलम्ची खानेपानीको आयोजनाको मुहानमा धमिलो पानी पसेपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दले जानकारी दिए ।
उनका अनसार काठमाण्डौं उपत्यकामा आपूर्ति भइरहेको पानी शुक्रबारदेखि अस्थायी रूपमा बन्द भएको छ ।
‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ’, प्रवक्ता चन्दले भने ।
पूर्णबहादुरले बोलाए कांग्रेस इतर समूहको बैठक
काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज (शुक्रबार) बस्दै छ ।
शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन् ।
काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ ओं महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन् ।
विश्वकप फुटबल ः स्पेन र पोर्चुगल अन्तिम १६ मा
काठमाण्डौं । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।
अमेरिकाको लस एन्जल स्टेडियममा भएको खेलमा अस्ट्रियालाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।
स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो । सन् २०१० को विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन ।
स्पेनले खेलको ३६औँ मिनेट मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८९औँ मिनेटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को सहज जित निकाल्यो ।
यस्तै गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो ।
टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
जनकपुरधाम। नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले गौशालाबाट कोइरीलाई पक्राउ गरेको हो ।
उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा बुधबार पाँच वर्ष कैद सजाय सुनाएका थिए । सोही मुद्दामा उनलाई पक्राउ गरिएको हो । यसअघि महोत्तरी जिल्ला अदालतबाट कोइलीले सफाइ पाएका थिए ।
कोइरीमाथि दुई मुद्दा लगाइएको थियो, आगलागी र कर्तव्य ज्यान मुद्दा । आगलागीसम्बधी मुद्दामा जिल्ला अदालतकै फैसलालाई सदर गरिएको छ । कर्तव्य ज्यान मुद्दामा केही उल्टी गर्दै पाँच वर्ष कैद सजाय फैसला सुनाएको हो ।
दोस्रो मधेस आन्दोलनको क्रममा महोत्तरीमा असई थमन विकको हत्या भएको सरकारको दाबी छ । सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते अभिराम शर्मासहित पाँचजनालाई जन्मकैदको सजाय सुनाएको थियो भने कोइरीले सफाइ पाएका थिए ।
यही फैसलाबाट असन्तुष्टि जनाउँदै दोषी ठहर भएका सातजनाले वारेसमार्फत २०८१ वैशाख ९ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालतले २७ महिनापछि फैसला सुनाएको हो ।
















