बैंकको निक्षेप पहिलो पटक ६९ खर्ब नाघ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पहिलो पटक ६९ खर्ब नाघेको छ । निरन्तर बढ्दो निक्षेपकाबीच बैंकहरुले लगानीको दायरा बढाउन नसकिरहेका बेला पछिल्लो समय यस्तो निक्षेपको आकार ६९ खर्ब एक अर्ब पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार मे २१ अर्थात् जेठ ७ गते सबै बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६८ खर्ब ९७ अर्ब रहेकोमा पछिल्लो दिन जेठ ८ गते यस्तो निक्षेप चार अर्बले बढ्दै ६९ खर्बमाथि पुगेको हो । यो कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १२० प्रतिशतको हिस्सा हो ।
आर्थिक वर्ष २०८१, ८२ मा मुलुकको जीडीपीको आकार ५७ खर्ब ४ अर्ब ८४ करोड रुपियाँ रहेको केन्द्रीय तथ्यांक कार्यालयको अनुमान छ ।
यता निरन्तर निक्षेप बढ्दैगर्दा बैंकहरु लगानीको सकसमा छन् । सोही अवधिमा सबै बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ३२ अर्ब रुपियाँ लगानी गरेका छन् ।
समीक्षा अवधिमा जम्मा ७८.९७ सीडी रेसिया (कर्जा, निक्षेप) अनुपात कायम गरेका बैंकहरुसँग लगानीयोग्य पुँजी (तरलता) ७ खर्बमाथि रहेको बुझिएको छ । तर बैंक तथा वित्तीय संस्थाहरुले लगानीको उपयुक्त क्षेत्र भेटिरहेका छैनन् ।
यसै परिस्थितिलाई मध्येनजर गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले अब दैनिक ९० प्रतिशत नगद मौज्दात राख्नुपर्ने व्यवस्था गर्ने भएको छ । आइतबार आर्थिक वर्ष २०८१, ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको केन्द्रीय बैंकले यस्तो जनाएको हो ।
तथापि, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ ३ खर्ब ६१ अर्ब ३ करोड (७.१ प्रतिशत) कर्जा प्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ २ खर्ब २२ अर्ब २१ करोड (४.६ प्रतिशत) कर्जा प्रवाह भएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोड (५.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप रु.४०९ अर्ब ४ करोड (७.२ प्रतिशत) ले बढेको थियो । २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा ८.२२ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

LEAVE A REPLY