राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद मिनासिंह रखालले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रञ्जित कर्णले राखेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
सांसद रोशनी मेचेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्’ भनी राखेको प्रस्तावलाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।
बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले थारु आयोगको २०८१, ८२ को वार्षिक प्रतिवदेन पेस गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक असार ११ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

LEAVE A REPLY