काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’
सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा
बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट
काठमाडौं । ‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् । यसरी यातना दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले महिलाको उद्धार गरेको छ ।
श्रीमतीलाई यातना दिने सन्तोषसहित सातजना पक्राउ परेको सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए ।
एसपी सिलवालका अनुसार शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी छन् । श्रीमान् सन्तोषसँग अदालती प्रक्रियाबाट नै ‘डिभोर्स’ गर्न भन्दै सिन्धुली पुगेपछि उनीमाथि कुटपिट भएको हो ।
डिभोर्सकै विषयमा विवाद हुँदा गाउँलेसँगै मिलेर सन्तोषले यातना दिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाउने तयारी गरेको छ ।
नबिलले २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति बिक्री गर्दै
काठमाडौं । नबिल बैंकले विभिन्न २५ जिल्लामा रहेका गैह्र बैंकिङ सम्पत्ति लिलाम गर्ने भएको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवधिमा बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।
उक्त सम्पत्ति खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थालाई बैंकले तोकेको शर्तको अधिनमा रही आफुले के कति मूल्य तिरी लिन चाहनेको हो त्यो खुलाएर १५ दिन भित्र बैंकको कर्जा असुली विभाग बिजुली बजारमा शीलबन्दी बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।
विभिन्न २५ जिल्लामा बैंकको नाममा घर तथा जग्गा रहेको जनाएको छ ।
अध्यक्ष ओलीद्वारा उधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले मार्गशीर्ष शुक्ल पूर्णिमा दिन आज मनाइँदै गरिएको उधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना व्यक्त गरेका हुन् ।
‘तिथि एक–पर्व अनेक पूर्वी नेपालमा उल्लासमय रूपमा मनाइने उधौली पर्व आजै हो । काठमाडौं उपत्यकामा यःमरी पुन्हि पनि आजै पर्छ । देशका विभिन्न भागमा विभिन्न कुल वंशको कुलपूजा गर्ने धान्य पूर्णिमा पनि आजै’, अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो विविधता, हाम्रो पूँजी उधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना ’
अर्थतन्त्र सुधारोन्मुख भएको अर्थमन्त्री महतको दावी

चितवन । देशमा आर्थिक मन्दी भएका कारण अर्थतन्त्र दिन दिनै धरासायी बन्दै गएको महशुस गरेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको जनाएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका जनाएका हुन् ।
अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले जनाए ।
अर्थमन्त्रीले भने, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ ।” उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको स्पष्ट गरे ।
सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्रीले भने, “घरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ ।” अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे । विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको दोहोर्याए ।
राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले जानकारी दिए । उनले भने “नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ ।” असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ । “बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ”, अर्थमन्त्रीले भने ।
पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
पोखरा । कारले ठक्कर दिँदा पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराति पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
कास्की प्रहरीका अनुसार कारको ठक्करबाट बाग्लुङको ढोरपाटन नगरपालिका ६ घर भै पोखरा नदिपुर बस्ने ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
छन्त्याल २० वर्षका हुन भने अर्का पुरुषको उमेर ३५ वर्ष रहेको प्रहरीको अनुमान छ ।
घाइते उनीहरुलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।
एक वर्षमा नयाँ रेकर्ड बनाएर काम गरेको प्रधानमन्त्रीको दाबी
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको पहिलो एक वर्षमा विकास, सेवा र सुशासनको क्षेत्रमा धेरै रेकर्डहरू बनेको दाबी गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा १३१औँ माओ दिवसलाई सम्बोधन गर्दै उनले बितेको १ वर्षमा पनि रेकर्ड बनेको र अबको एक वर्षमा सेवा, विकास र सुशासनका क्षेत्रमा थप नयाँ रेकर्ड बन्ने जानकारी दिएका हुन् ।
‘आजको सम्बोधनमा म एक वर्षमा भएका काम, गर्न नसकेका काम र गर्नुपर्ने कामको विषयमा जनतालाई जानकारी दिनेछु । मैले एक वर्षको परम्परा तोडेर जाने भनेको छु र मैले त्यसो गरेको छु भन्ने मेरो दाबी छ ।’, उनले भने ।
रणवीर र आलियाले पहिलोपटक देखाए छोरीको अनुहार
काठमाण्डौ । बलिउड रियल कपल रणवीर कपुर र आलिया भट्टकी एक छोरी छिन्।
एक वर्षसम्म रणवीर र आलियाले राहालाई मिडियादेखि सामाजिक सञ्जालबाट टाढा राखे।
तर, क्रिसमसको अवसर पारेर पहिलोपटक रणवीर र आलियाले राहाको लुक सार्वजनिक गरेका छन्। उनीहरुले क्रिसमसको कार्यक्रममा भारतीय मिडियासामु पहिलोपटक छोरीको अनुहार देखाएका हुन्।
सोमबार उनीहरु क्रिसमसको कार्यक्रममा पुगेका थिए। जहाँ दुबैले छोरी राहासँग खुसी हुँदै फोटो समेत खिचाए। यतिखेर दुवैको छोरीसँगको फोटो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
राहालाई देखेसँगै फ्यानहरु पनि निकै उत्साहित भएका छन्। सेतो रंगको फक्रमा राहा निकै सुन्दर देखिएकी छिन्। धेरैले राहालाई हजुरबुवा राजकपुरजस्तै भनेर समेत समेत प्रतिक्रिया दिइरहेका छन्।
रणवीर र आलियाले १४ अप्रिल सन् २०२२ मा विवाह गरेका थिए। त्यसैवर्षको ६ नोभेम्बरमा राहाको जन्म भएको थियो।
अभिनेता अरबाज खानले गरे दोस्रो बिहे
काठमाण्डौ । बलिउड अभिनेता एवं चलचित्र निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा दोस्रो बिहे गरेका छन्।
अरबाजले प्रेमिका मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार विवाह गरेका हुन्। आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा उनीहरूको बिहे भएको हो।
विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै अरबाजले लेखेका छन्, ‘हाम्रा आफन्तको उपस्थितिमा हामीले अनन्त प्रेम र एकताको सुरुवात गरेका छौँ। हाम्रो यो विशेष दिनमा तपाईंहरूको आशीर्वाद र शुभकामना आवश्यक छ।’
यसअघि अरबाजले अभिनेत्री तथा मोडल मलाइका अरोरासँग विवाह गरेका थिए। उनीहरूबीच ६ वर्षअघि डिभोर्स भएको थियो।
विवाह समारोहमा अरबाज र मलाइकाका छोरा अरहान खान पनि सहभागी भएका थिए। अरहान आमासँग बस्छन्।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका ५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।
एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने, गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।
पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।