Page 8

एनआईएमबी बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०प्रतिशत एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो।
ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। बैंकले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति पाएको हो। बैंकले २ अर्ब ४२ करोड ४० लाख बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ।
१० प्रतिशत ब्याजदरको ऋणपत्रको १० वर्षमा परिपक्व हुनेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।

अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउन नसक्ने देउवाको दाबी

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समावेशी संविधानका कारण एउटै पार्टीको बहुमत आउन नसक्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रूपमा निर्माण गर्न सकिन्छ ।’
उनले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको जानकारी दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको उनले जनाए ।
उनले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको जनाए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’

प्रधानमन्त्रीले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।

एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं। एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । उक्त कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा रहेकी थिईन् ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आएको छ ।

नवलपुरको जंगलमा सासू–बुहारी मृत फेला

काठमाडौं । नवलपरासी पूर्व (नवलपुर) को विनयी त्रिवेणी गाउँपालिका १ मा सासु–बुहारीको शव फेला परेको छ ।
खहरे जंगलमा ओम शान्ती टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर) का डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।
आइतबार दिउँसो घाँस काट्न जंगलमा गएका उनीहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो ।

बसको ठक्करबाट सिन्धुलीमा एकजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको सुनकोसी ३ मा भएको दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको हो ।
“एकजनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते भएका छन्,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालले भने, “मृतकको पहिचान हुन बाँकी छ ।”
मृतकका आफन्ताले अहिले उक्त सडकखण्डमा अवरोध गरेको डीएसपी दाहालले जानकारी दिए । अवरोधका कारण सयौं सवारी साधन रोकिएका छन् ।

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएका छन् ।
विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने जनाएका छन् ।

नेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला

काठमाडौं । नेपाल प्रहरीका नायब निरीक्षक (सई) भक्तपुरमा फेला परेका छन् ।
मृत फेला पर्नेमा सई बालकृष्ण उपाध्याय घिमिरे रहेका छन् । उनी आज बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।
४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।
उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

बागलुङका पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ ।
विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन् ।
उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए ।
‘फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो’, खत्रीले भने, ‘लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।’
आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख आम्दानी गर्दै आएका छन् ।
‘चार÷पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु’, खत्रीले भने ।
अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको जनाउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले जनाए । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाए ।
तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको जानकारी दिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...