काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको समावेशी संविधानका कारण एउटै पार्टीको बहुमत आउन नसक्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस तनहुँले सोमबार आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘संविधान समावेशी छ । संविधानका कारण एउटै पार्टीको बहुमत आउँदैन । गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रूपमा निर्माण गर्न सकिन्छ ।’
उनले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको जानकारी दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको उनले जनाए ।
उनले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको जनाए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तब मात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’