काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने भएका छन्।
बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० सम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
छुट योजना माघ महिनाभरी मात्र लागू हुनेछ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ। यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टमा छुट
पशुपतिको जलहरी प्रकरणमा मुछिएका सदस्यसचिव थापा ३ लाख धरौटीमा रिहा
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव डा. मिलन कुमार थापा ३ लाख धरौटी बुझाएर रिहा भएको खुलेको छ । विशेष अदालतले निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो ।
पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै निलम्बनमा परेका थापासँग विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
अदालतले मागेको धरौटी बुझाएर थापा गत पुस २५ गते नै रिहा भएका हुन् । विशेष अदालतका प्रवक्ता धनबहादुर थापाका अनुसार गत पुस २५ गते नै उक्त आदेश भएको हो ।
प्रधानमन्त्रीले हटाए सचिवालयका १३ जना कर्मचारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जना कर्मचारी हटाएका छन ।
माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।
प्रधानमन्त्री प्रचण्डले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाएका हुन ।
प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै आफ्नै सचिवालयबाट शुद्वीकरण थाल्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
ग्लोबल आइएमई क्यापिटलको सीइओमा लुइटेल
काठमाडौं। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मन्दिप लुइटेल नियुक्त भएका छन्। उनी माघ १ देखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त भएका हुन्।
सप्तरीको राजविराजका लुइटेल यसअघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ प्रमुखका रुपमा कार्यरत थिए। उनले सानिमा क्यापिटलमा साढे ६ वर्ष काम गरेका थिए। भारतको पुनेबाट एमबीए गरेका उनले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
उनीसँग भारतको मुम्बईस्थित आईसीआईसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भइ काम गरेका अनुभव छ। उनी पूँजी बजारबारे विशेष दख्खल राख्छन्।
नेपाल टेलिकम र महालक्ष्मी विकास बैंकको लाभांश सीधै सेयरधनीको खातामा
काठमाडौं । नेपाल टेलिकम र महालक्ष्मी विकास बैंकले सीधै सेयरधनीको खातामा लाभांश जम्मा गरेका छन् ।
टेलिकमको पुस २९ मा सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९, ८० को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आज माघ २ गतेदेखि सेयरधनीको अद्यावधिक बैंक खातामा जम्मा गर्ने जनाईएको छ ।
मर्जरपछि गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीको खाता नम्बर परिवर्तन हुने हुँदा परिवर्तित नयाँ खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले अनुरोध गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीले भने ‘नो अब्जेक्सन लेटर’ वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार एनएमबि क्यापिटल रहेको छ ।
यता महालक्ष्मी विकास बैंकले पनि सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । पुस २८ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई ६.४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई तत्काल अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीले डिम्याट खोली अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने बैंकको जनाएको छ ।
नगद लाभांश बैंक खातामा नगएका सेयरधनीले सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीले ‘नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
शेयर बजारमा ५४.५४ अंकको उछाल, ८ अर्ब नाघ्यो कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.५४ अंकले उचालिएको हो । बजार २.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २१७५.१७ अंकमा पुगेको छ ।
आज ३०४ कम्पनीका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६.६९ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न २० कम्पनीका लगानीकर्ताहरुले आज ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
समग्रमा बजार बढे पनि ज्योति विकास बैंकको बण्ड २०८७ र हिमालयन ८०–२० का लगानीकर्ताहरुले सबैभनदा बढी ९.९९ र ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २८ करोड ३१ लख ५५ हजार ८ सय २.४० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो ।
त्रिशूली नदीमा खसेको जीप निकालियो
चितवन, । मंगलबार बिहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेको छ ।
प्रहरीका अनुसार बिहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो ।
त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् । ‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले भने ।
जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले जनाए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आजबाट निर्वाचन आचारसंहिता लागु हुने
काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट आचारसंहिता लागू गर्न लागेको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुनेछ। आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
आचारसंहिता लागू भएपछि अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइने छैन।
कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ।
आचारसंहिता अनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन पाइँन। यसैगरी सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउन, दुष्प्रचार गर्न, भ्रामक सूचना सम्प्रेषण गर्न, अपमान गर्न, द्वेषपूर्ण भाषण गर्न र भ्रामक टिका टिप्पणी गर्न वा गराउन समेत नपाइने व्यवस्था छ।
आयोगका अनुसार यो अवधिमा निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाइँदैन। यस्तै मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेल अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न बन्देज लगाइएको छ।
माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ। जसका लागि ८ दलका ५२ उम्मेदवार मैदानमा छन्।
दक्षिण कोरियाको विजयी सुरुआत
काठमाडौं । एएफसी एसियन कपमा बहराइनविरुद्ध ३–१ को जित निकाल्दै दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ ।
सोमबार कतारको अल रायनस्थित जासिम बिन हमद रंगशालामा भएको खेलमा दक्षिण कोरियालाई जित दिलाउन लि काङ–इनले दुई गोल गर्दा ह्वाङ इन–बिओमले अर्को एक गोल थपे । बहराइनका अब्दुल्लाह अल हसासले एक गोल फर्काएका थिए ।
३८औँ मिनेटमा इन–बिओमले गोल गरेपछि दक्षिण कोरियाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५१औँ मिनेटमा हसासले गोल फर्काएपछि बहराइन खेलमा फर्किएको थियो ।
त्यसको पाँच मिनेटपछि नै काङ–इनले गोल गर्दै पुनः कोरियालाई २–१ को अग्रतामा राखेका थिए । ६८औँ मिनेटमा काङ–इनले नै गोल गरेपछि दक्षिण कोरियाले अग्रतालाई ३–१ मा पुर्यायो । यसपछि थप गोल हुन नसक्दा दक्षिण कोरियाले ३–१ को जितसहित प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
जितसँगै तीन अंक जोडेको दक्षिण कोरिया समूह ‘ई’को शीर्ष स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको बहराइन तालिकाको पुछारमा छ । यो समूहमा दक्षिण कोरिया र बहराइनसँगै जोर्डन र मलेसिया छन् ।
मोटुल लुब्रिकेन्टको डिलर्स मिट सम्पन्न
काठमाडौं। मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले डिलर्स मिट गरेको छ। आईएमई इलेक्ट्रिकले आधिकारिक वितरक नियुक्त भएको डेढ महिनापछि काठमाडौंमा डिलर्स मिट गरेको हो।
नेपालमा यसअघि मोटुल ब्रान्डको आधिकारिक वितरक विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्स थियो। आईएमई ग्रुपअन्तर्गतको कम्पनीले गरेको डिलर मिटमा उपत्यकाका विभिन्न डिलरका संचालक सहभागी थिए।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वकै प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको जानकारी दिए।
मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे।
आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नयाँ उत्पादन र स्किम सार्वजनिक गरिएको थियो। डिलरहरुहरुले ठूलो मात्रामा अर्डर गरेका छन्।
भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण हुँदै आएको छ।
टु–ह्विलर, फो–ह्विलर, ट्रक, बस, ट्रयाक्टरदेखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ। यी सबै रेन्ज नेपाली बजारमा उपलब्ध हुने आईएमई इलेक्ट्रिकले जनाएको छ।

















