Page 14

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन ।
निर्माण व्यवसायीसँग अर्थमन्त्री डा. प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिएका हुन ।
प्रधानमन्त्रीले गत आर्थिक वर्षको रु एक अर्ब ७१ करोड र चालु आवको अहिलेसम्मको दायित्व रु छ अर्ब ३० तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
लाइफ इन्स्योरेन्स कम्पनीले सम्पन्न गरेको उक्त सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित भएको छ भने ६ जना संचालक समेत चयन भएका छन् ।
उक्त साधारण सभाबाट २०७८, ७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत भएको छ भने आर्थिक वर्ष २०७९, ८० को लेखापरीक्षक पनि नियुक्त भएका छन् ।
आज सम्पन्न साधारण सभाले कम्पनीको संस्थापक समूहबाट चार जनालाई चयन गरेको छ । संस्थापक समूहतर्फ वीरेन्द्र जंग पाण्डे, शिक्षा भट्टचन , सम्झना अर्याल र सुशन शेरचन रहेका छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट भने शंकर गौतम र ज्योति शेरचन गरी दुईजना निर्विरोध निर्वाचित भएका छन् ।
जाजरकोट भूकम्पमा परेका नागरिकहरुलाई दिइएको १० लाख रुपियाँ बराबरको रकम पनि साधारण सभाबाट पारित भएको छ ।

औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन ।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन । त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ । औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ । तपाईहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु ।”
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोड दिए । उनले भने, “देश आत्मनिर्भर बन्ने आशालाग्दो एउटा क्षेत्र यो पनि हो । सबै कुरा एकैपटक नहोला । तपाईहरू काम सुरू गर्नुस् । म पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु । यस क्षेत्रमा जनतालाई महसुस हुनेगरी काम गरौँ ।”
औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधिहरू उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष न्यौपानेले औषधि लिमिटेडले भुक्तानी गर्नुपर्ने विगतको दायित्वका कारण काम प्रभावकारी हुन नसकेको जनाउँदै केही प्राविधिक जनशक्तिको व्यवस्था, मेसिनहरूको गुणस्तर वृद्धि र केही नयाँ मेसिन खरिद गरी उत्पादनलाई व्यवस्थित तुल्याइने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभा निर्वाचन ः माघ २ देखि आचारसंहिता लागू हुने

काठमाण्डौ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचारसंहिता जारी गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ। जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।
२०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मिति २०८०।१०।०२ देखि मिति २०५०।१०।१२ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन हुँदैन,’ आचारसंहिता जारी भएपछि के गर्ने के नगर्नेबारे आयोगले विज्ञप्तिमा लेखेको छ, ‘त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालवालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन हुँदैन ।’
आचारसंहिताअनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था गरिएको छ ।
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ ।
यसैगरी निर्वाचन प्रचार प्रसारमा संलग्न हुने नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले आयोगको अनुमति लिई निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने तथा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत व्यवस्था रहेको छ ।
निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो अठ्चालिस घण्टा अर्थात ८ माघ रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको अठचालिस घण्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन रोक लगाइएको छ ।

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

काठमाडौं। हिमालयन बैंकको साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको आइतबार सम्पन्न ३१ औं वार्षिक साधारण सभाले कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थपेर एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले एफपीओ निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी भने संचालक समितिलाई प्रदान गरेको छ।
साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। हिमालयन बैंकले गत वर्ष सिभिल बैंकलाई प्राप्ति गरेको थियो। यस्तै, बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेको थियो।
सभामा संचालक समितिका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तन गरी हिमालयन लघुवीत्त वित्तीय संस्थाको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए।
श्रेष्ठले बैंकले धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिजको नाममा अर्को सहायक कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिएका थिए।

१८ वटा वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकहरुले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका हुन् ।
कृषि विकास बैंकले १.७५२ प्रतिशत बिन्दुल‍ले ब्याजदर घटाएको छ । माघमा ७.२६ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै माघ महिनाका लागि माछापुच्छ्रे, लक्ष्मी सनराईज, नेपाल र एभरेष्ट बैंकले ब्याजदर ८ प्रतिशतमा पुर्याएका छन् भने प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत पुर्याएका छन् ।
माघमा स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८.०७ प्रतिशत र सिद्धार्थ प्राइम कमर्शियल, ग्लोबल आइएमई र नबिल बैंकले ८.१ प्रतिशत ब्याजदर तोकेका छन् ।
कुमारी बैंकले ८.११ प्रतिशत, सानिमा र हिमालयन बैंकले ८.१५ प्रतिशत ब्याजदर तोक्दा नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत ब्याज तोकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८.६ प्रतिशत ब्याजदर तोक्दा सिटिजन्स बैंकले ९.१५ प्रतिशत ब्याजदर तोकेका छन् ।
एभरेष्ट बैंक र एनएमबि बैंकले माघमा ब्याजदर हेरेफेर गरेका छैनन् । पुसको जति नै रहेको छ । एनएमबी बैंकको माघमा लागुहुने ब्याजदर ९ प्रतिशत छ भने एभरेष्ट बैंकको ८ प्रतिशत नै छ । बैंकिङ प्रणालीमा कर्जाको माग घटेर निक्षेप बढ्दा बैंकहरुले ब्याजदर घटाएका छन् ।

मुक्तिनाथ विकास बैंकको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरामा सम्पन्न सत्रौं वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको छ ।
२०७९, ८० को नाफाबाट ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश पारित गरिएको हो ।
सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा सम्पन्न भएको हो । सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत सञ्चालक पदमा चयन भएका छन् ।

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्नेछ ।
बैंकले १७औं वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी १,२५० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।
देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

शेयर बजारमा ३१.६२ अंकको सुधार, पाँच अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको पहिलो दिन बजार उचालिएसँगै नेप्से २१ सय अंकमाथि चढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.६२ अंकले उचालिएको छ । १.५१ प्रतिशतले बजार बढ्दा नेप्से २१२०.६२ अंकमा पुगेको छ ।
आज विभिन्न १५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । हिमालयन पावर, कालिका पावर, तेह्रथुम पावर र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
त्यस्तै त्रिशुली जलविद्यूत, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, हिमालयन रि–इन्स्योरेन्सका लगानीकर्ताकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् भने दिव्यश्वरी हाइड्रो, रसुवागढी हाइड्रो, दोल्ती पावर, अपर साङ्गे हाइड्रो पिपुल्स पावर र माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले क्रमशः ९.९८, ९.९८, ९.९१, ९.६४, ९.२२ र ९.०३ प्रतिशतले नाफा कमाएका हुन् ।
समग्रमा बजार बढे पनि मेगा म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । ३५ करोड ६८ लाख ३८ हजार ७ सय २० रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

आफताब आलमको मुद्दामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा सुनुवाइका लागि आजलाई पेसी छ।
रौतहट जिल्ला अदालत आलमको मुद्दामा आइतबारदेखि फैसला केन्द्रित सुनुवाइ सुरु गर्ने छ।
यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो।
अदालतको आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन।
२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो। उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो।
आलमले २०६४ सालको संविधान सभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
उक्त मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध आलमले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। उच्च अदालत वीरगन्जले २०७६ माघ २४ गते जिल्लाको आदेश नै सदर गरेको थियो।
आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेपछि आलम सर्वोच्च पुगेका थिए। सर्वोच्चले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। सर्वोच्च अदालतले गत वैशाख २३ गते धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेपछि अन्तिम सुनुवाइको बाटो खुलेको थियो।
आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो। त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ।
आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...