काठमाडौं। हिमालयन बैंकको साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकको आइतबार सम्पन्न ३१ औं वार्षिक साधारण सभाले कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी सेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थपेर एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
सभाले एफपीओ निष्कासनको संख्या निर्धारण गर्ने अख्तियारी भने संचालक समितिलाई प्रदान गरेको छ।
साधारण सभाले बैंक तथा यसका सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ। हिमालयन बैंकले गत वर्ष सिभिल बैंकलाई प्राप्ति गरेको थियो। यस्तै, बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरेको थियो।
सभामा संचालक समितिका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तन गरी हिमालयन लघुवीत्त वित्तीय संस्थाको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए।
श्रेष्ठले बैंकले धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिजको नाममा अर्को सहायक कम्पनी खोल्ने प्रक्रिया अगाडि बढाइएको जानकारी पनि दिएका थिए।