काठमाडौं । चितवनमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब साढे ८ बजे भरतपुर महानगरपालिका–७ स्थित क्यान्सर अस्पतालको १ नम्बर गेटनजिक सो दुर्घटना भएको हो ।
टाइगरचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बीएबी २८७५ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–६, रामराज्यपुरका ३४ वर्षीय कुलप्रसाद सापकोटा घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो ।
उपचारका क्रममा बिहीबारै बेलुका पौने ९ बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ती दुवै सवारीसाधन र कारका चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ४९ वर्षीय मेघराज सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कारको ठक्करबाट चितवनमा एकजनाको मृत्यु
उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ ।
निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुने आयोगले जानकारी दिएको छ ।
आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस मनाईदै
काठमाण्डौ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै आज उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । पृथ्वी जयन्तीका अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिइएको छ।
यस अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।
विसं १७७९ मा जन्मिका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए।
पछिल्ला वर्षमा उनको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुन ः सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिएका छन् ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । शाहको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो ।
समाचार लेखेको भन्दै पत्रकारमाथि कुटपिट
रौतहट । समाचार लेखेको विषयमा रौतहटमा पत्रकारमाथि निर्घाट कुटपिट भएको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवमाथि कुटपिट भएको हो ।
यादवलाई प्रतिक्षालय निजी प्रयोजनका निम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले कुटपिट गरेका हुन ।
पत्रकार साहको आँखामा गम्भीर चोट लागेको छ ।
यसैबीच प्रेस चौतारी रौतहटले घटनाको निन्दा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै साहमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाहीको माग गरिएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७१.८१ कायम गरिएको नेप्सेले जानकारी दिएको छ । यसअघि रु. ४९५.४० थियो ।
समायोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
लुम्बिनी विकास बैंकको १६ औं साधारण सभाबाट सम्पन्न
काठमाडौं । लुम्बिनी विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ ।
साधारण सभाले आब २०७९, ८० को बार्षिक प्रतिबेदन पारित गरी आब २०८०, ८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु परित गरेको छ ।
साथै शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभामा आब २०७९, ८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।
बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश
काठमाडौं । तपस्वी भनिएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
श्रेस्तेदार अधिकारीका अनुसार बिहीबार बम्जनतर्फका पाँच र दुईजना सरकारी वकिल गरी सातजनाले बहस गरेका थिए ।
विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएकोसहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट भने बाल यौन दुरुपयोग मुद्दामा पक्राउपुर्जीजारी भएको थियो ।
अदालतले बिहीबार बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानिलकण्ठबाट मंगलबार पक्राउ गरेका बम्जनलाई बुधबार सार्वजनिक गरेर सर्लाही पठाएको हो ।
फरार रहेका बम्जनलाई सीआईबीका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । उनलाई गाडीबाट सर्लाही लगिएको हो ।
रुसी सेनामा रहेका थप एकजना नेपालीको मृत्यु
काठमाडौं । रूसी सेनामा रहेका थप एकजना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनार रहेका छन । सुनारसँगै हालसम्म ११ जना नेपालीले युक्रेनी सेनासँगको भिडन्तमा ज्यान गुमाइ सकेका छन ।
रूसी सेनामा रहेको केही बेपत्ता हुनुहुन्छ भने चारजना युक्रेनी सेनाको कब्जामा छन ।
एनएमबी बैंकको अध्यक्षमा मनोज कुमार गोयल
काठमाण्डौ । एनएमबी बैंक सञ्चालक समितिको अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन्।
बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न २८औँ वार्षिक साधारण सभाले गोयललाई अध्यक्ष चयन गरेको हो।
बैंकका निवर्तमान सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सञ्चालक समिति सदस्य निर्वाचित भएका थिए।
यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए। एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो।
साथै, निर्वाचित सञ्चालकको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको बैंकले जानकारी दिएको छ।
राष्ट्रियसभा निर्वाचन ः सुदूरपश्चिममा भट्टको उमेदवारी कायम
काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै उजुरी दिएका थिए । जोशीले उमेदवारी खारेजीको माग गरेका थिए । तर, भट्टको योग्यता पुगेकाले उमेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिममा तीन पदका लागि ६ उमेदवार छन् । उनीहरूको नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशमा नेकपा ९माओवादी केन्द्र०का दलित समूहका उमेदवार विष्णु विकविरुद्ध उजुरी पनि खारेज भएको छ ।
एमालेकै उमेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी कायम रहेको जानकारी दिएको छ ।

















