मकवानपुर । आफ्नै ४ वर्षकी छोरीलाई चरम यातना दिएर घाइते बनाउने बाबुविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
महोत्तरीको एकडाडा गाउँपालिका ३ घर भई मकवानपुरको हेटौंडा ५ सिंचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डलले आफ्नै ४ वर्षकी छोरीलाई नियमित रुपमा यातना दिने गरेको पाइएपछि शनिबार साँझ प्रहरीले मण्डललाई पक्राउ गरेको थियो ।
मण्डललाई पक्राउ गरी बालबालिकाविरुद्ध कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
मण्डलले ४ वर्षकी छोरीलाई पढाउने क्रममा पेन्सिलले मुख र शरीरको विभिन्न भागमा घोची घाइते बनाएका थिए । शनिबार साँझ नै छोरीलाई आमाको साथमा हेटौडा अस्पताल पठाएको र उपचार पश्चात सेफ हाउसमा राखिएको डिएसपी भण्डारीले जानकारी दिए ।
छोरीलाई यातना दिएको छिमेकीले देखेपछि सिविन बाल हेल्पलाइन मकवानपुरलाई खबर गरेका थिए । सिविन बाल हेल्पलाइनले बालिकालाई डेराबाटै उद्वार गरेको थियो । मण्डलले छोरीसँगै श्रीमतीलाई पनि यादना दिँदै आएको जनाईएको छ ।
४ वर्षीया छोरीलाई चरम यातना दिने बाबुविरुद्ध मुद्दा दर्ता
ग्लोबल आइएमई बैंकको मधेश र गण्डकीमा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपुर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभुत बिद्यालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको हो ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एनएमबि बैंकको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग
काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपियाँ सहयोग गरेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सहमति आदनप्रदान भएको छ ।
उक्त सहयोग रकमले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत पुग्नुका साथै बाल स्वास्थ्य सुधारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकले देशभरका २०१ शाखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
गाँजाको केक बनाएर बिक्री गरेको आरोपमा १ जना पक्राउ
काठमाण्डौ । लागुऔषध गाँजा मिसाएर केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका मानन्धरको साथबाट प्रहरीले गाँजाको धुलो १ सय २१ ग्राम, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम र गाँजा ३ केजी बरामद गरेको छ ।
प्रहरीका अनुसार उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइनमार्फत डेलिभरी गर्दै आएका थिए ।
पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक
काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।
राज कुमार बगरको संगीत तथा राजु कार्की को संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । ’मन्द मन्द हावा’ गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ ।
“https://www.youtube.com/embed/RhcMOJyg39s?si=M3AqCVA3vlDUwi0E“
कुमारी बैंकबाट चार जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । कुमारी बैंकका चार जना संस्थापक सेयरधनीले ६६ हजार ७६९ कित्ता सेयर बिक्री गर्न खोजेका छन् ।
बैंकका चार जना संस्थापक सेयरधनीले सेयर बिक्री गरेर बाहिरिन खोजेपछि बैंकले सूचना जारी गरेको छ । सेयर बिक्री गर्न खोज्नेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर–५ का तुलाराम सिजाली, काठमाडौं–५ हाँडीगाँउका प्रताप मेहेर श्रेष्ठ, भक्तपुर –३ गठ्ठाघरमा बुद्धि बहादुर श्रेष्ठ र सुर्खेत जिल्लाका पदमपुरका अम्बर बहादुर तारमी मगर रहेका छन् ।
बैंकका अनुसार सिजालीले ३ हजार १६६ कित्ता, प्रताप मेहेरले ७ हजार ४१४ कित्ता, बुद्धिले ५४ हजार ९८२ कित्ता र तारमी मगरले १ हजार २०७ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बिक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने हुँदा उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन माग गरेको छ ।
आवेदन बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौंमा आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
चन्द्रागिरी हिल्स को लकइन अवधि माघ ८ गतेदेखि सकिने
काठमाडौं । चन्द्रागिरी हिल्स कम्पनीको लकइन अवधि माघ ८ गतेदेखि सकिने भएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा संस्थापक सेयरधनी, आयोजना प्रभावित, कम्पनीका कर्मचारीले खरिद गरेको सेयरको लकइन अवधि माघ ८ गतेदेखि सकिन लागेको हो । लकइनमा रहेका सबै सेयर माघ ८ गतेबाट फुकुवा हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत रहेको छ । जसमा संस्थापक सेयर ८८ प्रतिशत अर्थात १ करोड ३५ लाख १ कित्ता र सर्वसाधारणको १८ लाख ४० हजार ९०९ कित्ता रहेको छ । माघ ८ पछि दोस्रो बजारमा कारोबार अन्य सामान्य सेयर सरह नै हुनेछ ।
प्रभु इन्स्योरेन्सका सीईओ बज्राचार्यको कार्यकाल ४ वर्ष थप
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सीईओमा सन्चित बज्राचार्यको कार्यकाल थप भएको छ ।
आगामी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि बज्राचार्यलाई नयाँ कार्यकाल लागि सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव अरबिन्दकुमार कर्णले जनाएका छन् ।
कामना सेवा विकास बैंकद्वारा टोल विकास संस्थालाई सहयोग
काठमाडौं । कामना सेवा विकास बैंक शाखा कार्यालय बिर्तामोड, झापा मार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शेयर बजारमा २६.३६ अंकको गिरावट, आठ कम्पनीका लगानीकर्ताले नौ प्रतिशत बढी कमाए
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार ओरालो लाग्न थालेपछि शेयर बेच्नेहरु बढेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.३६ अंकले घटेको हो । १.२८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.९२ अंकमा पुगेको छ ।
आज ३०४ कम्पनीका १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
तेह्रथुम पावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ, धौलागिरि लघुवित्त, सिंगटी हाइड्रो, नेपाल हाइड्रो, माथिल्लो मैलुङखोला र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९८, ९.९६, ९.९६, ९.७७, ९.७१ र ९.६१ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
साताको पहिलो दिन आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २८ करोड ५६ हजार ४ सय ४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

















