काठमाडौं । चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बिहान ८ बजेका लागि तय गरिएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्थालगायतसँग छलफल हुनेछ ।
बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ११ बजे बस्नेछ । नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थासँग छलफल हुने जनाईएको छ ।
दिउँसो साढे १ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ । बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
आज चारवटा संसदीय समितिको बैठक बस्दै
तनहुँमा मिनी ट्रकसँग जुध्दा मोटरसाइकल चालकको मृत्यु
तनहुँ । तनहुँमा मिनी ट्रकसँग ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय सफल राना मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार आइतबार राति पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ क ५०१२ नं.को मिनी ट्रक र सोही दिशा तर्फ आउँदै गरेको प्र.३ ०२ ००९ प ८५३० नं. को मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल आँबुखैरेनी तनहुँ पठाएकोमा थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मिनी ट्रक र त्यसका चालक ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको पनि उनको भनाई छ ।
आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै
काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जानकारी दिएको छ ।
रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय वार्षिकरुपमा औसतमा २२ सय जनामा यो रोग फेला पर्छ । गत वर्ष मात्रै २५ सय २२ जना नयाँ बिरामी फेला परेको शाखाले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफले गर्यो २ लाख ३२ हजार रुपैयाँ दाबि भुक्तानी
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीकीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि बापतको २ लाख ३२ हजार २०० रुपैयाँ हस्तान्तरण गरेको हो ।
कम्पनीले मृतककी श्रीमती समिला खातुनलाई उक्त दाबी बापतको रकम दिएको हो । सो बीमालेख बापत बीमितले दुई किस्ता गरी जम्मा २८ हजार रुपैयाँ भुक्तानी पश्चात मन्सुरीको निधन भएको थियो ।
दाबी भुक्तानी हस्तान्तरण सम्बन्धी कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, कर्मचारी रामस्वरुप प्रसाद साह, श्रीतु अर्याल, सुवणर् गाउँपालिका वडा प्रमुख, मृतकका आफन्त तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरुलाई खादा माला र सम्मान पत्रवाट सम्मानित गरिएको थियो ।
तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य हुनु भएका ४ जना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको प्रतिष्ठित संस्थाको लागि योग्य हुनु अभिकर्ताहरुको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास ब्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराएका थिए । समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरन्जनात्मक एवं ब्यक्तित्व विकास सम्बन्धमा प्रस्तुती रहेको थियो ।
सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको जनाएका थिए ।
आईएमई लाइफको ब्राण्ड एम्बेसडर दिपक र दिपा
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् ।
शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको जनाए।
साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपकराज गिरी र दिपाश्री निरौलाले आईएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको जनाए।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् ।
माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो ।
आज अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।
एसिड आक्रमण मानवता विरुद्धको जघन्य अपराध भएको ओलीको टिप्पणी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण मानवता विरूद्धको जघन्य अपराध भएको टिप्पणी गरेका छन । एसिड पीडितहरूका कथा व्यथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को आज काठमाडौंमा शुभमुहुर्तपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एसिड आक्रमण जानाजान गरिएको जघन्य अपराध भएको जानकारी दिए ।
एसिड आक्रमण जस्ता जघन्य अपराध नियन्त्रण गर्दै निर्मूल गर्न कडा कानुनी कारबाही सँगसँगै समाजमा जनचेतना फैलाउनुपर्ने जनाउँदै अध्यक्ष ओलीले भने – एसिड आक्रमण विरूद्धका दुबै कदम (कानुनी कारबाही र जनचेतना) बाट एसिड आक्रमण अन्त्य होस् र नेपाललाई एसिड आक्रमणरहित देश घोषणा गर्न पाइयोस् जसले विश्वलाई समेत सन्देश देओस् ।
आफू प्रधानमन्त्री रहेको समयमा एसिड आक्रमणको जघन्य अपराधलाई गम्भीरतापूर्वक लिएर अत्यन्त छोटो अवधिमै कानुन बनाउने काम भएको स्मरण गर्दै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई कानुन अनुसार दण्ड दिने काम पनि नभइरहेको जनाए ।
एसिड पीडितहरूका जीवनमा नमेटिने भित्री बाहिरी घाउहरू रहेको र परिवारमा एकजना पीडितका कारण सिङ्गो परिवारले पीडा भोग्नुपर्ने अवस्था रहेको चर्चा गर्दै अध्यक्ष ओलीले जघन्य अपराधका घटनामा आजीवन कारावास जस्ता कडा भन्दा कडा सजायको व्यवस्था गर्न सकिने जनाए ।
उनले मानिसलाई हिंसात्मक गतिविधिबाट मुक्त गराउँदै जानुपर्ने जनाउँदै मृत्युदण्ड दिंदा दोषीले आफूले गल्ती गरेको पश्चाताप समेत गर्न नपाउने हुँदा मृत्युदण्डको व्यवस्था भने गर्न नहुने धारणा राखे । अध्यक्ष ओलीले एसिड बिक्रि वितरणलाई व्यवस्थित गर्न एसिड परिभाषित ढङ्गले मात्र उपलब्ध हुने व्यवस्था हुनुपर्छ भने ।
अध्यक्ष ओलीले दार्शनिक सुकरात र पाकिस्तानका राजनीतिक नेता जुल्फीकर अलि भुट्टोको हत्याको चर्चा गर्दै नेपालमा पनि २०४६ साल अघिसम्म मृत्युदण्डको प्रावधान रहेको र निर्दोष भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले राजा मार्ने झुठा अभियोग लगाई गोली हानेर मृत्युदण्ड दिएको घटना सुनाए । उनले नेपालमा अपराधका घटनामा एउटा निर्दोषलाई फसाइदिने र दोषीलाई उम्काइदिने भइरहेको छ भने ।
कार्यक्रममा मुस्कान खातुन लगायत एसिड पीडितहरूले आफूहरूले भोग्नुपरेको पीडा, समाजले गर्ने दुर्व्यवहार जस्ता अनुभव सुनाउँदै एसिड बिक्रि वितरणमा प्रतिबन्ध लगाउनुपर्ने र एसिड पीडितलाई मृत्युदण्डसम्मको कानुनी सजाय दिनुपर्ने धारणा राखे ।
चलचित्र ‘नमेटिने घाउ’ दमित ढुङ्गानाले निर्माण गर्न लागेका हुन । अध्यक्ष ओलीले चलचित्र निर्माणबाट समाजमा जनचेतना जगाउने काममा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेस
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाए।
निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाएका हुन्।
रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो।
क्याबिनेटबाट थप तीन हजार सहिद थपिएको प्रधानमन्त्रीको उदघोष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि छुट भएका थप तीन हजार सहिदको नाम क्याबिनेटबाट निर्णय भइसकेको र अब राजपत्रमा प्रकाशित हुने उदघोष गरेका छन्।
शनिबार सहिद प्रतिष्ठान नेपालको १४ औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले भने, ‘छुट भएका झन्डै तीन हजार सहिद घोषणा क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ। अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ।’
प्रधानमन्त्री प्रचण्डले अझै केही छुट भएको छ भने बाँकीको पनि सूचीकृत गरिने जानकारी दिए। उनले यो निर्णय आफैंमा सामान्य निर्णय नभएको पनि दाबी गरे। ‘यसले हाम्रो क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र सहिदहरूलाई राष्ट्रिय सहिदको रुपमा सम्मानित गरेको छ। हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निर्णयले पूरा गराएको छ’, उनले भने।
१५, १६ वर्षअघि घोषणा गरिएका सहिदहरू औपचारिक रुपमा राष्ट्रिय दर्जा प्राप्त गर्न नसकेको उनको भनाइ थियो। ‘किनभने त्यसलाई औपचारिक ढंगले दर्ता नगरिएको हुनाले, त्यसलाई राजपत्रमा प्रकाशित नगरिएको हुनाले, राष्ट्रिय सहिदको मान्यता प्राप्त गर्न हाम्रा हजारौं सहिदहरू बञ्चित भए’, उनले भने। यसपटक आफूले त्यही अधुरो कामलाई पूरा गर्नैपर्छ भन्ने संकल्प लिएकाले जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिदको रुपमा सम्मान गर्ने काम पूरा भएको जनाए।
उनले जनयुद्धको विषयलाई, सहिदहरूको विषयलाई, बेपत्ता योद्धाहरूको विषयलाई टुंगो लगाउन आफूले नेतृत्व गर्नैपर्छ भन्ने संकल्प लिएर अगाडि बढेको जनाए। त्यही संकल्पकै कारण जनयुद्ध दिवस घोषणा गरिएको उनको भनाइ छ। त्यसको विरोध भएको भए पनि त्यसो गर्नु आफ्नो र आफूहरूको आन्दोलनको जिम्मेवारी भएको उनको भनाइ छ।