एसिड आक्रमण मानवता विरुद्धको जघन्य अपराध भएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण मानवता विरूद्धको जघन्य अपराध भएको टिप्पणी गरेका छन । एसिड पीडितहरूका कथा व्यथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को आज काठमाडौंमा शुभमुहुर्तपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले एसिड आक्रमण जानाजान गरिएको जघन्य अपराध भएको जानकारी दिए ।
एसिड आक्रमण जस्ता जघन्य अपराध नियन्त्रण गर्दै निर्मूल गर्न कडा कानुनी कारबाही सँगसँगै समाजमा जनचेतना फैलाउनुपर्ने जनाउँदै अध्यक्ष ओलीले भने – एसिड आक्रमण विरूद्धका दुबै कदम (कानुनी कारबाही र जनचेतना) बाट एसिड आक्रमण अन्त्य होस् र नेपाललाई एसिड आक्रमणरहित देश घोषणा गर्न पाइयोस् जसले विश्वलाई समेत सन्देश देओस् ।
आफू प्रधानमन्त्री रहेको समयमा एसिड आक्रमणको जघन्य अपराधलाई गम्भीरतापूर्वक लिएर अत्यन्त छोटो अवधिमै कानुन बनाउने काम भएको स्मरण गर्दै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई कानुन अनुसार दण्ड दिने काम पनि नभइरहेको जनाए ।
एसिड पीडितहरूका जीवनमा नमेटिने भित्री बाहिरी घाउहरू रहेको र परिवारमा एकजना पीडितका कारण सिङ्गो परिवारले पीडा भोग्नुपर्ने अवस्था रहेको चर्चा गर्दै अध्यक्ष ओलीले जघन्य अपराधका घटनामा आजीवन कारावास जस्ता कडा भन्दा कडा सजायको व्यवस्था गर्न सकिने जनाए ।
उनले मानिसलाई हिंसात्मक गतिविधिबाट मुक्त गराउँदै जानुपर्ने जनाउँदै मृत्युदण्ड दिंदा दोषीले आफूले गल्ती गरेको पश्चाताप समेत गर्न नपाउने हुँदा मृत्युदण्डको व्यवस्था भने गर्न नहुने धारणा राखे । अध्यक्ष ओलीले एसिड बिक्रि वितरणलाई व्यवस्थित गर्न एसिड परिभाषित ढङ्गले मात्र उपलब्ध हुने व्यवस्था हुनुपर्छ भने ।
अध्यक्ष ओलीले दार्शनिक सुकरात र पाकिस्तानका राजनीतिक नेता जुल्फीकर अलि भुट्टोको हत्याको चर्चा गर्दै नेपालमा पनि २०४६ साल अघिसम्म मृत्युदण्डको प्रावधान रहेको र निर्दोष भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले राजा मार्ने झुठा अभियोग लगाई गोली हानेर मृत्युदण्ड दिएको घटना सुनाए । उनले नेपालमा अपराधका घटनामा एउटा निर्दोषलाई फसाइदिने र दोषीलाई उम्काइदिने भइरहेको छ भने ।
कार्यक्रममा मुस्कान खातुन लगायत एसिड पीडितहरूले आफूहरूले भोग्नुपरेको पीडा, समाजले गर्ने दुर्व्यवहार जस्ता अनुभव सुनाउँदै एसिड बिक्रि वितरणमा प्रतिबन्ध लगाउनुपर्ने र एसिड पीडितलाई मृत्युदण्डसम्मको कानुनी सजाय दिनुपर्ने धारणा राखे ।
चलचित्र ‘नमेटिने घाउ’ दमित ढुङ्गानाले निर्माण गर्न लागेका हुन । अध्यक्ष ओलीले चलचित्र निर्माणबाट समाजमा जनचेतना जगाउने काममा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY