काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने दाबी गरेका छन ।
शनिबार टोखा नगरपालिका वडा नम्बर ७ को तेस्रो वडा अधिवेशनमा उनले एमालेलाई एकातर्फ राखेर सबै मिलेर सिद्ध्याउने योजनामा लागेका भन्दै देश बनाउने काम एमाले बाहेक अरुले नसक्ने जानकारी दिए ।
गौरवशाली इतिहास र भविष्य नभएका पार्टीले देश विकास गर्न नसक्ने उनको भनाई थियो ।
उनले भने ‘अहिले एमाले एकातर्फ र अन्य सबै पार्टी एकतर्फ पोको परेका छन् । देखिने नदेखिने साथै देशभित्रका र बाहिरका सबै मिलेर एमालेलाई सकाउने योजनामा छन् । तर त्यो सफल हुँदैन् । एमाले बाहेकको पार्टीले यो देश चलाउन सक्दैन । अहिले देखापरेका दलहरुको पृष्ठभूमि के हो, कहाँ, कसरी जन्मिएको हो ठेगान छैन्, भोली देश कस्तो बनाउने भन्ने कुराको पनि मार्गचित्र छैन् ।’
नेकपा एमालेले अनियमितता र वेतिथि केही सहन नसक्ने जनाउँदै उनले कसैले त्यस्तो गर्यो भने त्यो एमाले हुन नसक्ने जिकीर गरे ।
एमाले बाहेकका पार्टीले देश चलाउन नसक्ने ईश्वर पोखरेलको दाबी
अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको सामान्य लक्ष्य दिएको छ।
नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको हो। दशौं विकेटका रुपमा नेपालका बलर सुवास भण्डारीले अफगानिस्तानका फरिदुन दाउदजाईलाई आउट गरेका थिए।
नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १, १ विकेट लिएका थिए।
टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए। त्यसपछि निरन्तर विकेट चन्दले लिएका छन्।
११ ओभर सकिँदा अफगानिस्तानले ४३ रन बनाएको छ। यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ।
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको अनुरोध
काठमाण्डु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरूबीच संवादमा जोड दिएका छन् ।
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको जानकारी दिए ।
निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय यूएनओडीएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको जनाउँदे विश्व शान्तिका लागि संवाद एक मात्र विकल्प भएकोमा जोड दिए ।
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरूका लागि उदाहरण बनेको छ,’ प्रचण्डले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस युक्रेन युद्ध, इजरायल हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि बिभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएको समेत जनाए ।
भेटवार्ताका क्रममा प्रचण्डले संयुक्त राष्ट्र संघको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाका बारेमा समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका प्रयासहरूमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने जनाए । ‘विश्व शान्ति तथा निसस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ,’ उनले भने, ‘हामी संयुक्त राष्ट्र संघका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलका तर्फबाट इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको जनाइन । ‘परमाणु हतियारले सुसज्जित छिमेकीहरूको बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो,’ उनले भनिन्, ‘नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।’
भेटका अवसरमा इजुमीले शान्ति मिसनमा दोश्रो योगदानकर्ता राष्ट्रका रूपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन्।
काठमाडौंको तापक्रम स्थिर
काठमाडौं । काठमाडौंको तापक्रम स्थिर रहेको छ । बिहीबार न्यूनतम ३ डिग्री सेल्सियस तापक्रम रहेकोमा आज पनि त्यति नै रहेको छ ।
“बिहान ८ः४५ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । पौने ९ बजे घटेर ३ डिग्री सेल्सियसमा आइपुगेको हो ।
काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौं । आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज जितको दबाबसहित अफगानिस्तानविरुद्ध खेल्दै छ ।
यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।
आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।
अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।
यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।
कांग्रेसको ७८ औँ स्थापना दिवस आज ः श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रमको आयोजना
काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ ।
‘नेपाली कांग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदै छौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदै छन् ।’
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भएपनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।
विश्व राजनीतिक इतिहासको रङ्गमञ्चमा कांग्रेस नै त्यस्तो एउटा दल होला, जसको नेतृत्वमा तीन वटा शासन व्यवस्थालाई परास्त गरेर नयाँ शासन व्यवस्थाको स्थापना र नेतृत्व भएको होस् ।
नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ ।
गणतन्त्र स्थापना र संविधान निर्माणमा समेत नेतृत्व गरेको कांग्रेस अहिले पनि सत्ता शक्तिको बागडोर सम्हालिरहेको छ । तर कांग्रेस स्वयम्ले समेत लामो समयसम्म देशको नेतृत्व गर्दा मुलुकको विकास र समृद्धिका लागि उल्लेख्य काम गर्न नसकेको यथार्थलाई कसैले नकार्न सक्दैन ।
नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो ।
जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मान स्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति चुनेको थियो ।
सो कार्यसमितिमा महामन्त्रीका रूपमा बालचन्द्र शर्मा, सङ्गठन विभाग प्रमुखमा डिल्लीरमण रेग्मी, सङ्गठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार सङ्गठन सदस्यमा देवव्रत परियार र सदस्यहरूमा गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पाछिरिङ शेर्पा, रुद्रप्रसाद गिरी र कार्यालय सचिवमा ईश्वर बराललाई चयन गरेको थियो ।
त्यही भेला भएको मितिलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउने गरेको छ । उता, राणा शासकबाट प्रताडित असन्तुष्ट नेता सुवर्णशम्शेर राणाको सक्रियतामा २००५ साल साउन १ गते कोलकातामा अर्को भेलाले सोही वर्षको पुस १५ गते कोलकातामै कार्यक्रम गरेर नेपाल प्रजातन्त्र कांग्रेसको गठन गरेको थियो । जसको सभापतिमा महेन्द्रविक्रम शाह चयन भएका थिए ।
त्यसको एक वर्षपछि २००६ साल चैत २७ देखि २९ गतेसम्म चलेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त महाधिवेशनले दुई पार्टीबिचको एकता गरी नेपाली कांग्रेसको जन्म भएको थियो । जसले नेपालको प्रजातान्त्रिक इतिहासमा अतुलनीय योगदान पुर्याएको मानिन्छ ।
नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो ।
संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठुलो दल कांग्रेस केन्द्र र सात प्रदेशसहित देशभर ३ सयभन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ ।
राष्ट्रियसभा निर्वाचन ः यी हुन् निर्वाचित भएका १९ जना
काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आएको छ । आज बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको हो। रिक्त हुन लागेका १९ सदस्य चयनका लागि आज मतदान भएको थियो।
निर्वाचन आयोगका अनुसार १९ सिटका लागि ५२ जना उम्मेदवार थिए। सत्ता गठबन्धनले सबै प्रदेश र एमाले राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए।
मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन्। मधेशबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन्।
बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन्।
गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन्। लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्।
कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन्। सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द निर्वाचित भएका छन्।
सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुई वटा नयाँ शाखा विस्तार गरेको छ ।
बिहीबार ललितपुर महानगरपालिका–१५ को सातदोबाटो र वडा नं. २५ को भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले शाखा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू दिने जनाए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे थियो ।
बैंकले हाल देशभर २६६ शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।
विकल र सुनिल पौडेललाई सात दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल र विकललाई विशेष अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको हो । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको थियो ।
गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई प्रदान गर्यो चेकिङ्ग बोर्ड
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेललाई करिब रु १८ लाख बराबरको १९० थान चेकिङ्ग बोर्ड हस्तान्तरण गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक प्रहरीले गर्ने चेकिङ्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक चेकिङ्ग बोर्ड प्रदान गरिएको जानकारी दिए ।
साथै उक्त चेकिङ्ग बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन आगामी पाँच वर्षसम्म आवश्यक मर्मत संभार समेत यस कम्पनीले गर्ने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनमा ट्राफिक व्यवस्थापनका क्षेत्रमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तत्पर रहेको समेत जानकारी गराए । अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत पराजुलीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक पोशराज पोखरेलले कम्पनीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । यस सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने जनाए । आगामी दिनमा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गर्दै ट्राफिक तथा सडक सुरक्षासँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्न आतुर रहेको जनाए ।