काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परेको हो । आठजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । जिप सडकबाट तीनसय मिटर तल खसेको जनाईएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु
महानगरले कान्ति अस्पतालको फोहोर नउठाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानी रोकेको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अस्पतालको फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै फोहोर नउठाउने निर्णय गरेको हो ।
फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी उपमेयर डंगोल नेतृत्वको टोलीले अस्पताललाई दिइएको हो।
माओवादी केन्द्रले मनायो २९ औँ जनयुद्ध दिवस
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । मंगलवार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले २९ औँ जनयुद्ध दिवस मनाएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो ।
यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरे पनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले आज सार्वजनिक बिदा दिएका छन् ।
आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिनको सम्झनामा रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन्।
रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका हुन्। यी स्थानीय तहले बिदामात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर जनयुद्ध दिवस मनाउने भएका छन्।
देशका अन्य पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन्। कालिकोटका रास्कोट, खाँडाचक्र, महाबै, पचालझरना र पलाता, गोरखाका बारपाक, सुलिकोट, अजिरकोट र गण्डकी, दाङको बंगलाचुली, सल्यानको दार्मा, रोल्पाको माडी, रोल्पा, काभ्रेको चौंरी देउराली, खोटाङको खोटेहाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र लिसंखु पाखरले पनि आज सार्वजनिक बिदा दिएका छन्।
सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि संघीय सरकारले भने सार्वजनिक बिदा दिएको छैन। गृह मन्त्रालयले हिजो नै आज बिदा नरहेको सूचना जारी गरेको थियो।
गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो।
ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो।
शेयर बजारमा ३०.५६ अंकको गिरावट, कारोबार रकम भने बढयो
काठमाडौं । शेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । २१ सय अंक माथि पुगेको बजार आज फेरि तल झरेको हो । नेप्से तल झरे पनि कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.५६ अंकले तल झरेको छ । १.४५ प्रतिशतले बजार घट्दा नेप्से २०७०.५९ अंकमा ओर्लिएको हो ।
आज ३०५ कम्पनीका १ करोड २१ लख ६५ हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार ३ सय ४.१४ कित्ता शेयर किनबेच भएको हो ।
समग्रमा बजार घटे पनि तीन कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त र सुपर माई हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाए ।
त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ३२ करोड ५० लाख ४५ हजार ७२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ र हिजो सोमबार १५.३३ अंकले बजार बढ्दा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।
राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उनी नआउने भएका छन ।
साता दिनका लागि चितवन पुगेका पूर्वराजा नआउने भए पनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् ःप्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको जनाएका छन्।
जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेकपा माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको जनाएका छन्।
जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको जनाएका छन्।
‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ।’
जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने शहीदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गरेका छन्।
उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा अपिल पनि गरेका छन्।
माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सरु हुँदै
काठमाण्डौ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आजदेखि सुरु हुँदैछ ।
आजबाट सुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलन बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुनेछ ।
पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।
सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जानकारी दिएको छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी हुने जनाईएको छ ।
प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो ।
क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप
काठमाण्डौ । क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा जम्मा एक विकेट गुमाएर भेटाएको हो । नेपालका अनिल साह र भीम सार्कीले शतक बनाए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन । एउटै खेलमा नेपालका दुई जना खेलाडीले शतक बनाएको यो पहिलो पटक हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले एक एक विकेट लिए । तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।
कांग्रेसबाट धोका भएको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको टिप्पणी गरेका छन ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको जानकारी दिएका हुन ।
कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरुले धोका पाएको जनाएका उनले सधैं गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने धारणा व्यक्त गरे ।
‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
चन्द्रागिरी हिल्सको खुद नाफा बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चन्द्रागिरी हिल्स लिमिटेडको अधिकांश सूचक सकारात्मक देखिएका छन् ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२.०७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ । साथै, कुल खर्च २६.४३ प्रतिशत बढेको कम्पनीको वित्तीय खर्च भने ४.८५ प्रतिशतले घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.४८ पैसाले बढेर ८.१९ रुपियाँ, प्रतिशेयर नेटवर्थ ८९.९ रुपियाँ र मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ ।
१ अर्ब ५३ करोड ४० लाख रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपियाँ ऋणात्मक छ ।