काठमाण्डौ । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ । मंगलवार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि माओवादीले २९ औँ जनयुद्ध दिवस मनाएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले २९ वटा मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । २०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो ।
यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरे पनि माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले आज सार्वजनिक बिदा दिएका छन् ।
आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिनको सम्झनामा रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन्।
रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका हुन्। यी स्थानीय तहले बिदामात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर जनयुद्ध दिवस मनाउने भएका छन्।
देशका अन्य पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन्। कालिकोटका रास्कोट, खाँडाचक्र, महाबै, पचालझरना र पलाता, गोरखाका बारपाक, सुलिकोट, अजिरकोट र गण्डकी, दाङको बंगलाचुली, सल्यानको दार्मा, रोल्पाको माडी, रोल्पा, काभ्रेको चौंरी देउराली, खोटाङको खोटेहाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र लिसंखु पाखरले पनि आज सार्वजनिक बिदा दिएका छन्।
सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि संघीय सरकारले भने सार्वजनिक बिदा दिएको छैन। गृह मन्त्रालयले हिजो नै आज बिदा नरहेको सूचना जारी गरेको थियो।
गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो।
ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो।