काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ ।
बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा सांसदहरूले आफ्ना धारणा राख्ने जानकारी दिईएको छ ।
आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै
एमालेले जनतामा आशा जगाउने काम गरेको महासचिव पोखरेलको दाबी
दैलेख । नेपाल कम्युनिष्ट पाटी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको दाबी गरेका छन ।
एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।
उनले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको जनाउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । उनले एमालेले अघि सारेको मिसन–८४ को नारालाई सबैले एक भएर अघि बढाउँदै विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउनु आवश्यक रहेको जानकारी दिए ।
नेताका टाउका जोडेर पार्टी एकता नहुने भन्दै उनले कार्यकर्ताका मन जोड्दै कम्युनिष्ट आन्दोलन बलियो बनाउनतर्फ एमाले अग्रसर भएको उल्लेख गरे । पोखरेलले दैलेख ऐतिहासिक विरासत बोकेको जिल्ला रहेकाले कम्युनिष्ट आन्दोलन अघि बढाउन यहाँको नाम सधैँ अगाडि आउनेसमेत जानकारी दिए ।
आज माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार, बैठक आज (आइतबार) र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’माथि विशेष समीक्षा गर्ने कार्यसूची छ ।
समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम–कारबाही र आउँदो फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल गरिने जानकारी दिईएको छ ।
माओवादी केन्द्रले चारमहिने अभियानमा पार्टीको संगठन निर्माण, पुनर्निर्माणका अलावा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइतेरअपांगता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गएको भदौ १६ देखि सुरु गरिएको सो अभियान पुस १७ गतेसम्म चलेको थियो ।
बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।
आज सोनाम ल्होसार मनाइँदै
काठमाडौं । तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्।
नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन्। ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भइ सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।
तामाङ समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट सुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको तामाङ समुदायले जानकारी दिएका छन्।
ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।
समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील रहेको प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको दाबी गरेका छन । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको जानकारी दिएका छन ।
संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको जनाएका छन ।
उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरे । “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो”, प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन ।
श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको जनाएका छन । प्रधानमन्त्री दाहालले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन ।
साथै प्रधानमन्त्री दाहालले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन ।
ओलीद्वारा सोनाम ल्होछारको शुभकामना
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
ओलीले शनिबार सामाजिक सञ्जालमार्फत ल्होछारको शुभकामना दिएका हुन ।
‘आज सोनाम ल्होछार, बुबाआमा दाजुभाइ दिदीबहिनी सबैलाई शुभकामना , सबै निरोगी होउन्, सबैको कल्याण होस्, सबैको भलो होस् , शुभकामना ।’ अध्यक्ष ओलीले भनेका छन । ‘तिनी सोनाम् ल्होछार , आबाआमा, ज्योज्योआले, नानाआङा भेनानदा ज्याबाडान्बा , भेनान् ल्हेगै, भेनालान् ज्याबा तागै ,भेनालान् बिबह्राङ तागै ज्याबा डान्बा ’
कोशी प्रदेशका मुख्यमन्त्रीद्धारा सरकार विस्तार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीमध्ये प्रदीपकुमार सुनुवारले स्वास्थ्य, रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी, नारायण बुर्जा मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा र राजेन्द्र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, इन्दिरा थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री र सुनिता कुमारी राम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकी छन्।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफैंले राखेका छन्। नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम कांग्रेसका हुन्। उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीनजना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन्।
यस्तै, माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन्। वरीयतामा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन्। गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन्।
बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्रीको उदघोष
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको उदघोष गरेका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा उनले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक भएको जानकारी दिए ।
हरेक वर्ष पुरानै वर्षको ‘फोटोकपी’का रुपमा नयाँ बजेट आउने परिपाटी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक सार्वजनिक बहसको केन्द्रिकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरिएको जनाए । सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावलाई केन्द्रिकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गरिने उनको भनाइ थियो ।
विषयगत विज्ञले उठाएका सवाल महत्वपूर्ण रहेको जनाउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको ढाँचा र समयतालिकामा परिमार्जन गर्ने प्रक्रियाअन्तर्गत नै छलफल आयोजना गरेको स्पष्ट पारे ।
“सबैको विवेकलाई केन्द्रित गरेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हामीले सबै क्षेत्रमा आमूल सुधारतर्फ सोच्नैपर्छ”, उनले भने, “यसपटक नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय बहसको परिस्थिति सिर्जना गरेर सबैका सुझाव सङ्केन्द्रित गर्छौं । नीति तथा कार्यक्रम पहिला जनता, बुद्धिजीवी र जनप्रतिनिधिमा पठाइन्छ । त्यसलाई अन्तिमरूप दिएपछि मात्र सम्माननीय राष्ट्रपतिले संसद्मा पढ्नुहुन्छ ।”
देशमा आर्थिक सङ्कट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको जटिल परिस्थितिमा सरकारको नेतृत्व लिएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्कटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको जनाए । “म सङ्कटका बेला प्रधानमन्त्री भएँ । देशलाई सङ्कटबाट मुक्त गर्न मैले लगातार कोसिस गरिरहेको छु”, उनले भने, “तीन तहको सरकार नै प्रभावकारी बनाउने गरी छलफल गरेका छौँ । प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन सकिँदैन । यसमा हामी गम्भीर छौँ । हामीले फड्को हान्न सक्नुपर्छ ।
संघीय संरचनामा खर्च बढेको तर आम्दानी घटेको अर्थमन्त्रीको टिप्पणी
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संरचनामा खर्च बढे पनि आम्दानी नबढेको टिप्पणी गरेका छन् ।
नेपाल व्यवस्थापन संघले ललितपुरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको जानकारी दिएका छन ।
उनले स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको जनाए । उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको उल्लेख गरे ।
अर्थमन्त्री महतले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको जनाए । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उनले जनाए । नेपाली सेनामा झण्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले जनाए ।
उनले भने, ‘सामाजिक सुरक्षामा हामी दक्षिण एसियामा अन्य देशभन्दा माथि छौं । भारत, बंगलादेशभन्दा माथि छौं । हामीले उदारताका साथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गरिसकेका छौं । ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन अनुदानका विषयहरू सुनिश्चित गरेका छौं । सुरक्षा निकायको आकार पनि द्वन्द्वपछि दोब्बर नै भयो । सशस्त्र प्रहरी छुट्टै गठन भयो, कर्मचारीतन्त्र पनि ठूलै छ । यी कारणले गर्दा आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको छ,’ उनले भने ।
संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढ्दा आन्तरिक स्रोत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्व धान्न कठिन हुँदै गएको उनले जानकारी दिए ।
अघि बढ्यो बाँसबारी जग्गा फिर्ताको प्रक्रिया
काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ ।
डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै बिहीबार चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।
टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो ।
बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।