काठमाण्डौ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आजबाट सुरु हुँदैछ ।
आज अपराह्न ४ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसद् सचिवालयले जानकारी दिएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नेछन्।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।
संघीय संसद्को तेस्रो अधिवेशन आजबाट सुरु
उपनिर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग
काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचन गरेर निर्वाचन परिणाम दिइसकेको निर्वाचन आयोगले देशैभर रिक्त रहेका स्थानमा उपनिर्वाचनको तयारी थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज आईतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् ।
प्रमुख आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ ।
आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिएको छ ।
रिक्त रहेका पदमा आयोगले उपनिर्वाचन गराउन लागेको छ । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा १, १ पद रिक्त छन् । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएका दुवै क्षेत्र रिक्त छन् ।
हाल प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा १, जिल्ला समन्वय समिति प्रमुखमा २, नगर उपप्रमुखमा १, गाउँपालिका अध्यक्षमा १, गाउँपालिका उपाध्यक्षमा २ र विभिन्न पालिकाका १७ वडाध्यक्ष गरी २५ पद रिक्त छन् ।
राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ गते गर्न प्रस्ताव
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।
शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको हो ।
राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने छ ।
आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदै छन ।
नेपाल लाइफले बीमालेख नविकरण गर्दा बिलम्ब शुल्क छुट दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्क छुट दिने भएको छ । माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्क छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
१८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।
बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले उल्लेख गरेको छ ।
शेयर बजारमा ५.३१ अंकको गिरावट, कारोबार रकम तीन अर्ब २१ करोड
काठमाडौं । साताको पहिलो दिन आज पनि शेयर बजार ओरालो झरेको छ । गत साताको अन्तिम दुई दिन घटेको बजार आज तेस्रो दिन पनि लगातार घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३१ अंकले घटेको हो । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से २०६१.७० अंकमा ओर्लिएको छ ।
आज ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
समग्रमा बजार घटे पनि यूनिक नेपाल लघुवित्त, मोलुुङ हाइड्रो, समाज लघुवित्त, भगवति हाइड्रो र किसान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.४६, ८.२०, ६.७८ र ६.६७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै महिला लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
लगातार उच्च कारोबार भइरहेको हिमालय रि कै आज पनि उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार ८ सय ९.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
एमाले संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक आज पनि बस्दैछ ।
सोमबारदेखि बोलाइएको हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक राखेको हो ।
शनिबारदेखि बसेको बैठकमा हिउँदे अधिवेशनमा कस्ता मुद्धाहरू उठाउने भन्ने विषयमा छलफल चलिरहेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा सांसदहरूबीच छलफल भइरहेको छ ।
रास्वपाको राष्ट्रव्यापी दबाब अभियान आजदेखि सुरु
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दैछ । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्दैछन् ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।
मेलम्ची खानेपानी आयोजनाको काम यथासीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको नेतृत्व भने सांसद सोविता गौतमले गर्दै छिन ।
सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जानकारी दिएको छ ।
रास्वपाले विकास निर्माणमा दबाब दिने उदेश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ । अभियानमा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएका कुनै पनि सामाग्रीको प्रयोग नगर्ने समेत रास्वपाले जनाएको छ ।
एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज शनिबार बस्ने भएको छ ।
शनिबार मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ । आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
त्यसअघि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदै
काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
उनले भने, “सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमितरुपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएका छन् ।”
नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ ।
तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गर्ने भएपछि त्यसको कार्यान्वयनका लागि दुवै सदनका नेतृत्व प्रतिबद्ध हुनुहुन्छ । विधेयक अधिवेशनकारुपमा रहने यस हिँउदे अधिवेशनका लागि हाल संघीय संसद्मा २४ विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा भने छलफल पुरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ ।
जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारुपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । संघीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।
संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य समय र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ । सो क्रममा कतिपय अवस्थामा सांसदले सरकारका काम कारबाहीलाई प्रभावकारी तुल्याउन सार्वजनिक महत्व, जरुरी, सार्वजनिक, स्थगन, सङ्कल्प, संशोधन, खर्च कटौतीजस्ता प्रस्ताव प्रस्तुत गरी छलफल गराउने परम्परा छ ।
यस अधिवेशनको सौन्दर्यकारुपमा प्री बजेट छलफलसमेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिए । सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै उक्त कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ । उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ ।
अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो । त्यस बेला सांसदले दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यस पटक प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो ।
अहिले प्रतिनिधिसभामा नेपाली काग्रेसका ८८, नेकपा (एमाले) का सभामुुखसहित ७८, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभामुखसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपाल (जसपा) का १२, नेकपा (एकिकृत समाजवादी) का १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार सांसदको प्रतिनिधित्व छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीका एक–एक तथा दुई स्वतन्त्र सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ । भूगोल र जनसङ्ख्याका आधारमा कायम गरिएको निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीद्वारा निर्वाचित एक सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित एक सय १० समेत गरी प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय रहने संवैधानिक व्यवस्था छ ।
प्रबुद्ध वर्गको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभा भने प्रदेशगतरुपमा निर्वाचित भएर आउने ५६ र सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत हुन तीन जना रहने व्यवस्था छ । हिउँदे अधिवेशन सरकारले दिने ‘बिजनेस’ र सदनका गतिविधिका आधारमा कति समय चल्छ भन्ने निर्धारण हुनेछ ।
यसअघिका अधिवेशनजस्तै पहिलो बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षबाट स्वागतसहितको शुभकामना तथा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिने छ । बैठकको अन्य कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने छ ।
भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र नेपाल आउँदै
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन ।
मोदीको नेपाल भ्रमणबारे सरकारी तहमा गोप्य तयारी चलिरहेको जनाईएको छ । मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउने सम्भावना रहेको जनाईएको छ ।
मोदीको भ्रमणलाई लक्षित गर्दै भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएकोसमेत जनाईएको छ । भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको हो ।
यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने जनाईएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्न नेपाल आउन लागेका हुन ।
भारतमा आगामी मे मा लोकसभाको निर्वाचन हुँदैछ ।