काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक रहेको टिप्पणी गरेका छन् । उनले परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर पर्दा खराब कर्जा बढ्ने र नाफा खुम्चिने अवस्था बनेको जानकारी दिए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जाँदा बैंकिङ सेक्टर पनि राम्रो बन्ने जनाए ।
‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ।’
अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरुले ७,८ प्रतिशत बढी लाभांश दिनसक्ने अवस्था नरहेको उनको भनाइ छ।
‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो । आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ । रिटर्न अन इक्वीटी कति छ । लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ ।’
रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए। साथै, पछिल्लो समय कर्जा रिकोभरीको समस्याले बैंकहरुको एनपीएल बढेको जनाए । तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ। आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले जनाए ।
‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ। कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन ।’
परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगानाले जनाए ।
बैंकिङ क्षेत्रमा देखिएको समस्या चाँडै समाधान हुने सीईओ ढुंगानाको दाबी
शेयर बजारमा २६.८१ अंकको गिरावट, कारोबार रकम तीन अर्ब आठ करोड
काठमाडौं । शेयर बजार उच्च अंकले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।
साताको पहिलो दिन आज बजार २६.८१ अंकले तल झरेको हो । १.३३ प्रतिशतले बजार घटेसँगै नेप्से १९७९.०२ अंकमा आइपुगेको छ ।
आज ३१७ कम्पनीका ८५ लाख ८६ हजार ९ सय ३० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७०.५१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजुमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै समाज लघुवित्त, मोलुङ हाइड्रो, सामलिङ पावर, बलेफी हाइड्रो र जोशी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.५६, ९.२१ र ७.७७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
टस जितेर बलिङ रोज्दै नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साढे ९ बजे सुरु हुनेछ ।
आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ।
बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरुलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीन जनाको नाम सार्वजनिक गरिने जनाईएको छ।
साथै स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि सञ्चालनमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ ।
तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको थियो । चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । ६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।
तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । ६ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए ।
कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले जनाए । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।
आजदेखि देशैभरि दादुरा–रुबेला खोप अभियान सुरु
काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । यो अभियान चैत ७ गतेसम्म जारी रहनेछ ।
सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।
विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुदैँछन ।
काठमाडौंका १० स्थानीय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भएपनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जानकारी दिईएको छ ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला
काठमाण्डौ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
“हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ”, उनले भने, “बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।”
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।
श्रीस्वस्थानी व्रत आज समापन गरिंदै
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज समापन गरिंदैछ । आजभन्दा एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो ।
व्रत समाप्तिको अवसरमा आज काठमाडौंको साँखुको शालीनदीमा व्रतालुहरूको विशेष भीड लाग्ने गरेको छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुने गरेको छ ।
हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् ।
रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री वृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन् ।
धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ ।
एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी
काठमाडौं । नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन ।
ढुंगाना दुई सय ८७ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धीहरु डेजी पाण्डेले दुई सय १८ मत र दुर्गाप्रसाद जोशीले ६३ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही एक सय ९३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी दलबहादुर विष्टले एक सय ८८ मत ल्याएका थिए । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, गजेन्द्रबहादुर स्वारले २७ मत पाएका थिए ।
सचिवमा ममताप्रसाद चौधरी विजयी भएका छन । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी विष्णुकुमार चन्दले एक सय ६८ मत र दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरे ।
उपसचिव (खुला) मा चुडामणी भट्ट विजयी भएका छन । उनी दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धीहरु भुवन रिजालले एक सय २३ मत, नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका थिए ।
उपसचिव (महिला) मा गंगा चौधरी एक सय ९६ मतसहित विजयी भईन ।उनको प्रतिस्पर्धीहरु शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएका थिए ।
ओलीलाई प्रधानमन्त्री प्रचण्डले दिए जन्मदिनको शुभकामना
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जन्मदिनको शुभकामना दिएका छन ।
प्रचण्डले टेलिफोन गरेर अध्यक्ष ओलीलाई शुभकामना दिएका हुन ।
‘ प्रधानमन्त्री तथा नेकपा (ओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने ।