काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।
सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग प्रदान
शेयर बजारमा ६.४६ अंकको गिरावट, कारोबार रकम दुई अर्ब २४ करोड
काठमाडौं । शेयर बजार निरन्तर ओरालो झरेसँगै कारोबार रकम समेत खुम्चिदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.४६ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२६.५९ अंकमा ओर्लिएको छ ।
आज ३१३ कम्पनीका ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ ह्जार ७ सय ९९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, हिमालय उर्जा, समाज लघुवित्त, बोटलर्स नेपाल तराई र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ८.५० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै ७.८४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड १२ लाख २८ हजार ५ सय ६९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । उक्त कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता रु. ६३३.२० रुपियाँमा झरेको छ ।
साताको पहिलो दिन आइतबार २७.२१ अंकले बजार घट्दा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६.१७ रुपियाँ र हिजो मंगलबार १.७६ अंकले बजार घट्दा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८.४३ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने प्रजातन्त्र दिवसको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।
बारामा बोलेरो र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए ।
घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन् ।
नामिबियाविरुद्ध नेपाल ब्याटिङमा, टिममा एक परिवर्तन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बुधबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेर नामिबियाका कप्तान गेरहार्ड इरास्मसले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।
नामिबियाविरुद्ध नेपालले टिममा एक परिवर्तन गरेको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा गुल्सन झालाई बेन्चमा राख्दै करण केसीलाई मौका दिएका छन् । यसअघि करणले नेदरल्यान्ड्सविरुद्ध प्लेइङ्ग–११ मा स्थान बनाउन सकेका थिएनन् ।
एमाले बैठक आजदेखि, ४ एजेण्डामा समूहगत छलफल हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ ।
बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार बिहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा केन्द्रीत हुनेछ । पार्टीको समग्र सांगठनिक कामको समीक्षा, पार्टीको शुद्धिकरण तथा सुदृढिकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय समसामयिक प्रस्तावहरू पेश भएका छन् ।
समूहगत छलफल र प्राप्त निष्कर्षहरूमाथि छलफल गरेपछि बैठक बिहीबार सम्पन्न गर्ने कार्यसूूची रहेको छ ।
धम्क्याएर ५० लाख रकम मागेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन् ।
आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई जनाएका छन् ।
आरोपीहरुले काठमाडौं उपत्यकामा पकट–पटक फोन गरेर धम्क्याएर ५० लाख रकम मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई मच्छेगाउँबाट पक्राउ गरेर आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।
फर्स्ट माइक्रोफाइनान्समा रहेको संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक
काठमाडौं । प्रभु बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्न लागेको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता ३१५ रुपैयाँका दरले ३ करोड ७८ लाख बिक्री गर्न लागेको हो ।
बैंकले उक्त सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई चैत ११ गतेसम्म फस्र्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर वा प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा खरीद गर्ने सेयर संख्या र मुल्य खुलाई शिलबन्दी निवेदन पेश गर्न अनुरोध गरेको छ ।
ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा पाँचथरको डेरीमा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, १२ नम्बर वडाका वडाध्यक्ष कमलप्रसाद चापागाईँ तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन्।
यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २ सय ७५ पुगेको छ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानीलगायतका सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ।
७७ वटै जिल्लामा रहेको बैंकले आफ्नो ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ।
देउवा–प्रचण्डले एमालेलाई प्रलोभन देखाएको ओलीको टिप्पणी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौँ भन्दै प्रलोभन देखाएको टिप्पणी गरेका छन ।
पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौं भनेको काम नगरेको र असम्भव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने जनाए ।
उनले भने, ‘उहाँहरुको योजना के भने हामीलाई चक्लेट, ललिपप् देखाउने र सिद्धान्त छोडेर मिल्छौँ भन्ने हो । उहाँहरुको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो । प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौँ भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो ।’
राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनि उनको भनाई छ ।
उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बद्नाम गर्न खोजियो । सीट मागेको भनेर हल्ला गर्नुभयो । एमालेले सिट लेनदेन गर्न खोजेको छ । सीट मागिरहेको छ भनेर हामीलाई बद्नाम गर्न खोज्नुभयो । जुन कुरा गलत थियो र उचित थिएन् ।’
सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले जनाए ।
‘सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्तावपछि कांग्रेसका सभापतिसँगपनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो । त्यसलाई अस्वीकार नगरे पनि हामीलाई विश्वास थिएन । उहाँहरु यथास्थितिमा टीआरसी टुङ्ग्याउने पक्षमा हुनुहुन्थ्यो । त्यो हामीलाई मान्य थिएन्,’ ओलीले भने ।
कृषि विकास बैंकको साधारणसभा फागुन ३० गते
काठमाडौं । कृषि विकास बैंकको १७औं वर्षिक साधारणसभा फागुन ३० गते बस्ने भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्नेछ ।
त्यसैगरी, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह, बैंकको सहायक कम्पनी, कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । अतः फागुन १५ गतेसम्म कायम शेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।