रौतहट । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए ।
गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ ।
उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए ।
गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौंमा ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ ।
गोली प्रहार गर्ने तीनजना भारतीय नागरिक सार्वजनिक
सरकारका नीति परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने अर्थमन्त्रीको टिप्पणी
काठमाण्डौँं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने टिप्पणी गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कले आज आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा संसद्मा छलफल चलिरहेको जनाउँदै अर्थमन्त्री पुनले सरकारले लिने नीतिहरु परिवर्तन नहुने तर कार्यशैली परिवर्तन हुने जानकारी दिए ।
“सरकारका नीतिहरु आधारभूत रुपले परिवर्तन हुँदैनन् । संविधानअनुसारका विभिन्न कानुन बनेका छन् र त्यसैका आधारमा हाम्रा ऐन, नियम कानुन बनेका छन् । तिनैका आधारमा हाम्रा सामाजिक आर्थिक नीतिहरु अघि बढ्छन्”, अर्थमन्त्री पुनले भने, “तर सरकार परिवर्तन हुँदा व्यक्तिका काम गर्ने शैली परिवर्तन हुन सक्छन् । फरक शैलीको काम गर्ने तरिकाले नतिजामा पनि फरकपन आउँछ ।”
अर्थतन्त्रमा देखिएको शिथिलता, बेरोजगारीलगायत कारण चौतर्फी रुपमा निराशा छाइरहेको बेला सरकारले आशा जगाउने गरी काम गर्ने उनले दाबी गरे । “अहिले चारैतिर व्यवस्था बदलियो तर नागरिकको अवस्था फेरिएन भनेर गुनासो आइरहेका छन् । यो गुनासो र युवाको आकाङ्क्षालाई सम्बोधन गर्दै यो देशमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछु”, अर्थमन्त्रीले भने “आफ्नै माटोमा काम गर्छु भन्नेलाई सरकारले सहयोग गर्छ । कहाँनेर सहयोग गर्न सकिन्छ भनेर हामी समीक्षा गर्छौ। जनताको अवस्था किन परिवर्तन भएन भनेर समीक्षा गर्न हामी तयार हुनुपर्छ । सेवा प्रवाहमा हामी कहाँनेर चुक्यौँ भनेर सरकारले समीक्षा गर्छ ।”
भोजपुरमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट
विराटनगर । भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।
मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि लाखौँको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
टोखाबाट पक्राउ परेका दिपेश पुनलाई लगियो भैरहवा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ । शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै विमानमार्फत भैरहवा लगिएको प्रहरीले जानकारी दिएको छ ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।
तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो । उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो ।
जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।
यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ ।
सत्ता गठबन्धनको कार्यदलको बैठक ९ः३० बालुवाटारमा बस्दै
काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने जानकारी दिईएको छ ।
साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको जनाईएको छ ।
गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो ।
नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्स मृत फेला
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छिन । घटनाको प्रकृति अनुसार उनको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सिरहाको फुलकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर फालेको अवस्थामा विराटनगर महानगरपालिका–४ स्थित एक घरमा भेटिएको हो । उनी उक्त स्थानमा रहेको धिरेन्द्र गिरीको घरमा डेरा बस्दै नोबेल शिक्षण अस्पतालमा काम गर्दै आएकी थिईन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार उनी बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको थियो ।
घाँटी र शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको शरीरभरि चोटैचोट देखिएको छ ।
प्रहरीले घटनास्थलको अध्ययन गरी अनुसन्धान सुरु गरेको जनाएको छ । कसले किन हत्या गरेको भन्ने खुलेको छैन ।
मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो । बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकिङ्ग सेवा सुविधा, डिजिटल बैंकिङ्ग प्रविधि, बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको जनाएको छ ।
डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
माओवादी केन्द्रको विधानले अन्तिम रूप पायो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विधानलाई अन्तिम रूप दिएको छ । विधान अधिवेशनबाट पारित भएको विधानलाई स्थायी कमिटीबाट परिमार्जनसिहत पारित गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“विधान अधिवेशनबाट मूल स्प्रिट पास भएको थियो । अहिले त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल गर्यौँ,” उनले भने, “त्यो सम्पादनसहित फाइनल भएको छ ।”
माओवादीले विधान अधिवेशनमा आएका सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको हो ।
त्यस्तै, राष्ट्रियसभा अध्यक्ष बनेपछि नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरिएको सापकोटाले जनाए ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक साँझ ५ बजे बस्ने
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
उक्त बैठकमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुने जनाईएको छ । सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।
नेपाल लाइफद्वारा नयाँसालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विसं २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहकहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालकहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरे ।
आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।
कम्पनीको २०८० पुस मसान्त सम्ममा लगानी रु. १८७.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्व रुपियाँ र शेयरधनी कोष १० अर्व ३३ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप प्रादेशिक कार्यालय र १८५ वटा शाखा÷उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । साथै कम्पनीले हालसम्म रु २४४.२९ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ ।
















