Page 17

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच संझौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८, स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहकाबीच हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र बैंकको गोल्छा चोक, शाखा प्रमूख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणाली द्वारा हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको छुट व्यवस्था रहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

दाँतको उपचार गर्न प्रधानमन्त्री प्रचण्ड गए वीर अस्पताल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा दाँतको उपचार गराएका छन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहानदेखि दाँत दुखिरहेपछि उपचारको लागि वीर अस्पताल पुगेका थिए ।
डा. रितु श्रेष्ठ नेतृत्वको टीमले उनको उपचार गरेको छ ।

मातातीर्थ औँसीमा नबिल बैंकद्वारा सन्देशमूलक भिडियो सार्वजनिक

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको हो ।
विशेष गरी सहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ । आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी आमा, उनको व्यस्तता, बच्चा बच्ची र परिवारप्रतिको उनको दायित्व यो भिडियोमा देखाइएको छ । त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खल्ने भूमिका पनि यो भिडियोमा देखाइएको छ ।
जम्मा दुई मिनेट ४५ सेकेन्डको छोटो भिडियोले सहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करियरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ । यस भिडियोले देखाइएकोे आमाको दैनिकी अधिकांश नेपालीहरुको घरको कथासँग मेल खान्छ ।
नेपालको अग्रणी बैंक नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ । मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमा (ममी) प्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।
बैंकले चालु आर्थिक वर्ष २०८०,८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्न गइरहेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जानकारी दिएको छ ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

आज मातातीर्थ औँसी मनाइँदै

काठमाण्डौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।
वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।
धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजाअर्चना गरिरहेका जनाईएको छ ।

सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको ब्रेक थ्रुु आज

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको आजुब्रेक थ्रुु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको छ।
१३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजनाले जानकारी दिएको छ ।
सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ३ महिना २ दिनअगावै सम्पन्न भएको हो । २०७९ असोज २८ देखि सुरुङ खन्न सुरु भएको थियो । आयोजनाको २०७७ फागुन २० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो । कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको थियो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आज सुहाङ नेम्वाङले सांसद पदको शपथ लिँदै

काठमाण्डौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।
सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।
उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।
खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए ।

गृहमन्त्रीमाथि संसदीय छानबिनको मागबाट पछि नहटने कांग्रेसको अडान

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने अडान लिएको छ ।
व्यक्ति नतोकी छानबिन गठन गर्ने प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।
वैशाख २८ देखि शुरू हुने प्रतिनिधि सभाको अधिवेशनको तयारी बारे मंगलवार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले रविमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने अडान लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता बैठकमा सहभागी थिए ।​​
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे चारैतर्फबाट कुरा उठिरहेकोले आफूहरू संसदीय छानबिनको मागबाट पछि नहट्ने जानकारी दिए ।
कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै संसदीय छानबिनको माग गर्दै आएको थियो ।
‘रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलले गरेको अभियोगपत्रमा रविको नाममा ऋण गएको, कुनै पक्रिया नपुगेको उल्लेख छ । गोरखा मिडियाको प्रबन्ध निर्देशक देखाएर कुनै प्रक्रिया नपुर्‍याएर ऋण गएको भनेर लेखिएको छ’, लेखकले भने, ‘गृहमन्त्री प्रश्नैप्रश्नको घेरामा उभिनु भएको छ । देशको उपप्रधानमन्त्री कानून भन्दा माथि हो ।’
सभामुखले बोलाएको बैठकमा गृहमन्त्री लामिछाने पनि सहभागी थिए ।
सत्तापक्ष व्यक्ति नतोकि संसदीय छानबिनका लागि लचिलो बन्ने संकेत देखिएपनि कांग्रेसले मानेको छैन ।

पेमेन्ट गेटवे खरिद काण्डका दोषी पौडेललाई ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाण्डौं । विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार काण्डका दोषी सुनील पौडेललाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलका लागि न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको छ ।
उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ । नबिल बैंक लिमिटेडले “८ प्रतिशत नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने बैंकले जानकारी दिएको छ । यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट निष्कासन गर्न थालिएको हो । सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...