काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने अडान लिएको छ ।
व्यक्ति नतोकी छानबिन गठन गर्ने प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।
वैशाख २८ देखि शुरू हुने प्रतिनिधि सभाको अधिवेशनको तयारी बारे मंगलवार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले रविमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने अडान लिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता बैठकमा सहभागी थिए ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे चारैतर्फबाट कुरा उठिरहेकोले आफूहरू संसदीय छानबिनको मागबाट पछि नहट्ने जानकारी दिए ।
कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै संसदीय छानबिनको माग गर्दै आएको थियो ।
‘रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलले गरेको अभियोगपत्रमा रविको नाममा ऋण गएको, कुनै पक्रिया नपुगेको उल्लेख छ । गोरखा मिडियाको प्रबन्ध निर्देशक देखाएर कुनै प्रक्रिया नपुर्याएर ऋण गएको भनेर लेखिएको छ’, लेखकले भने, ‘गृहमन्त्री प्रश्नैप्रश्नको घेरामा उभिनु भएको छ । देशको उपप्रधानमन्त्री कानून भन्दा माथि हो ।’
सभामुखले बोलाएको बैठकमा गृहमन्त्री लामिछाने पनि सहभागी थिए ।
सत्तापक्ष व्यक्ति नतोकि संसदीय छानबिनका लागि लचिलो बन्ने संकेत देखिएपनि कांग्रेसले मानेको छैन ।