काठमाडौं । आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट मंगलबार १ बजे संघीय संसद्को संयुक्त सदनमा पेश गर्ने तय भएको छ ।
आइतबारको संसद् बैठकमा सभामुख देवराज घिमिरले मंगलबार १ बजे संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री बर्षमान पुनले आगामी आवको राजश्व तथा व्यय अनुमान (बजेट) प्रस्तुत गर्ने जनाएका छन ।
त्यसका लागि दुवै सदनका सांसद्हरुलाई १२ः४५ बजे नै उपस्थीति हुन निर्देशन जारी गरिएको छ । बजेट भाषणपछि ४ बजेपछि प्रतिनिधि सभाको बैठक हुने पनि सभामुख घिमिरेले जानकारी दिए । संविधानमै गरिएको व्यवस्थाअनुसार साउन १ गतेबाट सुरु हुने नयाँ आर्थि बर्षका लागि डेढ महिना अघि अर्थात् जेठ १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यता छ ।
सोहीअनुसार अहिले सरकार बजेट निर्माणको अन्तिम कसरतमा छ ।
पछिल्लो समय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । अवरुद्धका कारण सुरुको समयमा संसद् बैठक बस्न नसकेपनि पछिल्लो समय सत्तापक्षले पेलेर नै बैठक गरिरहेको छ ।
प्रमुख प्रतिपक्ष दलको अवरोध पनि कायमै छ । त्यो अवस्थामा आगामी आवको बजेट अध्यादेशबाट आउने जोखिम बढेको थियो । सरकारले यो अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने संकेत पनि गरेको थियो । तर, सभामुख घिमिरेले बजेट प्रस्तुतका लागि मंगलबार १ बजे संघीय संसद्को संयुक्त बैठक बोलाएका छन् । यसअनुसार सत्तापक्षले पेलेर नै बजेट ल्याउने करिब पक्का भएको छ ।
मंगलबार १ बजे बजेट भाषण हुने
सहकारी ठगीविरुद्ध कांग्रेसले प्रदर्शन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।
“३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् । हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,” कांग्रेसले भनेको छ । प्रदर्शनका लागि लागि कांग्रेसले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
नेशनल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म छुट
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै विभिन्न मितिमा जारी भई व्यतित भएका बीमलेख यही जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको हो ।
कम्पनीले ०७७ सालदेखि हालसम्म व्यतित भएका बीमालेखमा १०० प्रतिशत, ०७४ साल चैत २ गतेदेखि ०७७ साल चैत १ गतेसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ साल चैत्र १ गतेसम्म व्यतित बीमालेखमा ६० प्रतिशत छुट दिने जानकारी दिएको छ ।
साथै, नवीकरण मितिले दुई वर्षभित्र अवधि समाप्ति हुने बीमलेखमा छुट नहुने र बीमा अवधिभर यो सुविधा एकपटक मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।
संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै
काठमाण्डौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे बालुवाटारमा बस्नने भएको हो । शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरू सहभागी रहेका थिए ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक साढे ११ बजेका लागि बोलाइएको छ ।
जेठ १ गते संयुक्त सदनको बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफललाई आजको बैठकमा अघि बढाउने सम्भावित कार्यसूचीमा उल्लेख छ । आजका लागि डाकिएको दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर त्यसलाई पारित गर्ने कार्यसूची छ ।
नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले बनाएको छ ।
यस्तै, प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८०,८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन भने उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि राष्ट्रिय सभामा उत्पति भएको विद्युत व्यापार विद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूचीमा राखिएको छ । साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्नेछन ।
यस्तै, नेमकिपाका सांसद प्रेम सुवालले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस” भन्ने सूचना प्रस्तुत गरेपछि उद्योगमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश स्वीकृत गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन ।
राष्ट्रिय सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । प्रधानमन्त्री दाहालले राष्ट्रपति बाट जेठ १ गते संघीय संसद्को दुवै सदनमा गरेको संयुक्त बैठक सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१÷०८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन । दाहालले नै सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिइसकेपछि अध्यक्षले आर्थिक वर्ष २०८१, ८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेश भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।
कार्यदलको बैठक सकियो, शीर्ष नेताहरुबीच छलफल हुने
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठक सकिएको छ ।
शनिबार सिंहदरबारस्थित कानून मन्त्रालयमा सम्पन्न बैठक सहमति नजिक पुगेपनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानूनमन्त्री पदम गिरीले जानकारी दिए ।
उनले व्यक्तिको नाम उल्लेख नगरी समस्याग्रस्त रहेका सहकारीको नाम उल्लेख गर्ने र ऋण लिएका कम्पनीको नामसमेत उल्लेख गरेर छानबिन समिति गठन गर्ने विषयमा करिब सहमति भएको जानकारी दिए ।
अब कार्यदलमा भएको छलफललाई आजै बालुवाटारमा बस्ने शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने मन्त्री गिरीले जनाए ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन ।
मन्त्री महासेठलाई मेयर बालेनले दिए एक ट्रक धुलो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् ।
काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका नाममा यहाँका नागरिकले धेरै धुलो र कष्ट व्यहोर्नुपरेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यो नियन्त्रणमा ध्यान नदिएको र काम अगाडि नबढाइएको भन्दै उनले धुलो पठाउने घोषणा गरेका हुन् ।
“यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला,” उनले फेसबुकमा लेखेका छन् ।
काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा उक्त क्षेत्रकै धुलो मुख्य कारण रहेको उनको भनाइ छ । “।।।जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ,” उनले लेखेका छन् ।
सहकारीसम्बन्धी छानबिन समितिको कार्यादेश बनाउन कार्यदल बैठक बस्दै
काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
शुक्रबार बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे कानुन मन्त्रालयमा बस्नेछ ।
गोर्खा मिडियामा गृहमन्त्री रवि लामिछाने प्रवन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलनमा उनी संलग्न रहेको कांग्रेसको दाबी छ । गोर्खा मिडियामा रकम स्थानान्तरण भएका सबै सहकारीको छानबिन हुनुपर्ने कांग्रेसको माग छ ।
सूर्यदर्शन, सुप्रीम, स्वर्णलक्ष्मी, लगायतबाट गोर्खा मिडियामा रकम गएको थियो । त्यस समय लामिछाने उक्त मिडियामा प्रबन्ध निर्देशक थिए ।
कानुन मन्त्रालयमा शुक्रबार बिहान बसेको कार्यदलको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ प्रस्ताव अघि सारेको थियो । गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा किटान नगर्ने तर उनी जोडिएका सहकारीको नाम उल्लेख गर्नुपर्ने प्रस्ताव कांग्रेसले राखेको थियो ।
कांग्रेसको उक्त प्रस्तावमा आ(आफ्नो दलमा छलफल गर्नका लागि सत्ता पक्षले समय मागेको थियो ।
कानुनमन्त्री गिरी संयोजक रहेको कार्यदलमा नेकपा एमालेबाट प्रमुख सचेतक महेश वर्तौला, कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की र रास्वपाबाट सांसद शिशिर खनाल सदस्य छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।
जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार मात्र हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो ।
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत धनुषामा भएको बहसपछि आज सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । यसअघि प्रहरीले थप पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले समय माग गरेको थियो ।