काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।
समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालले आईसीसी टी–२० विश्वकपको यात्रा पूरा गरेको छ । १४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो ।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ । नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो ।
नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अष्टेलिया रहेको समुह ‘ए’ मा रहनेछ ।
बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो । कुशल मल्लले बनाएको २७ रन नै सर्वाधिक रह्यो । दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए ।
छैटौँ विकेटका लागि कुशल र ऐरीले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन । बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
बंगलादेशका लागि तान्जिम हसन सकिब नेपालविरुद्ध घातक बने । उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ७ रन दिदा ४ विकेट लिए । मुस्ताफिजुर रहमानले तीन विकेट लिए । सकिब अल हसनले दुई तथा तास्कीन अहमदले एक विकेट लिए ।
त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो ।
तिव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सोमपाल कामी, रोहित पौडेल र सन्दीप लामिछानेले समान २ विकेट आफ्नो नाममा गरे ।
नेपाललाई हराउँदै बंगलादेश सुपर – ८ मा
आज बकर इद मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको जनाएका छन । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सरेका थिए , यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, उनले भने ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जन्नत) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ । उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुसी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गोबिन्द र विपिकाले गरे प्रगतिशील विवाह
काठमाण्डौं । अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय विशेष समिति संयोजक गोबिन्द बिष्टले विपिका रावलसँग विवाह गरेका छन्।
शुक्रबार काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांकृतिक प्रतिष्ठानमा बिष्ट र रावलबीच प्रगतिशील विवाह भएको हो। अत्यन्तै कम खर्चमा आयोजना गरिएको विवाह कार्यक्रम दुलाहदुलहीले एकअर्कालाई माला र अबिर लगाइ प्रतिबद्धतापत्र पढेर सम्पन्न भएको हो।
विवाह कार्यक्रममा बिष्ट र रावलले देश, जनता र कम्युनिस्ट मूल्य मान्यतालाई आत्मसात गर्दै सँगै जीवन यात्रा गर्ने प्रतिबद्धता गरेका छन्। त्यसैगरी उनीहरुले आफूहरु जीवनका हरेक परिस्थितिमा एकअर्कामा समर्पित हुने मात्रै नभएर पार्टी र परिवर्तनप्रति पनि उत्तिकै समर्पित हुने प्रतिबद्धता गरे। उनीहरुले विवाहमा हुने फजुल खर्चलाई १ लाखको अक्षय कोष जम्मा गरेर समाज रुपान्तरण कार्यमा लगाउने घोषणा समेत गरेका छन्।
विवाह कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सहसंयोजक तथा प्रवक्ता धर्मेन्द्र वास्तोला (कञ्चन) ले प्रगतिशील विवाहले समाजमा विद्यमान परम्पराको विरुद्धमा गएजस्तो देखाएपछि दिर्घकालिन पक्षलाई मजबुद बनाउने जनाए। उनले नवविवाहीत बिष्ट दम्पत्तिले घोषणा गरेको अक्षय कोषको प्रशंसा गर्दै धन्यवाद समेत दिए।
यस किसिमको प्रगतिशील विवाहले महंगी बढेर विवाह गर्न नै नसकिने भयो भन्ने युवाजमातमा यसरी कम खर्चमा पनि विवाह गर्न सकिन्छ भन्ने एक किसिमको उदाहरण समाजमा प्रस्तुत गर्ने अखिल (क्रान्तिकारी) का नेता हस्त विकले जनाए।
विभिन्न पार्टी, विद्यार्थी संगठनहरुका नेता, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)का अध्यक्ष नरेन्द्र विश्वकर्मा, हास्य कलाकार सुवोध गौतम लगायतको उपस्थितिमा विवाह कार्यक्रम गरिएको थियो। विवाहको भोजमा समेत अत्यन्तै न्यून खर्च गरिएको थियो। कुनै क्याटरिङमार्फत नभएर संगठनका सबैजनाले आफैंले बनाउने, पकाउने, खुवाउनेदेखि भाडासम्म माझेर भोजको व्यवस्था गरिएको थियो। खानामा पनि चिउरा, मासु, र पेयपदार्थमा मोहीको व्यवस्था गरिएको थियो।
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान
काठमाण्डौं । निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई नियुक्त गर्न संवैधानिक परिषदले सिफारिस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो।
प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
अन्य संवैधानिक अंगको पदाधिकारीमा भने नियुक्तिको सिफारिस हुन सकेन।
प्रस्तावित सदस्यहरूको योग्यतामा प्रश्न उठेपछि सहमति हुन नसकेको हो।
संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्।
बैठकममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति थियो।
निर्वाचन आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा एक–एकजना सदस्य नियुक्तिको तयारी परिषद सचिवालयले गरेको छ।
संवैधानिक परिषदको सिफारिस संसदीय अनुमोदन भएमा राष्ट्रपतिले संवैधानिक पदाधिकारी नियुक्त गर्ने प्रावधान छ।
प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबार पुगेका हुन् ।
आइतबार मात्रै सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१, ८२ को बजेट सार्वजनिक गरेका छन्। तर, प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्ता गठबन्धनकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । यता केन्द्र सरकारले ल्याएको बजेटमाथि पनि सत्ता गठबन्धनका दलहरुले असन्तुष्टि जनाइरहेका छन् ।
बजेटको विषयमा असन्तुष्टि बढ्न थालेपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन्। उनीहरुबीच बजेटको असन्तुष्टिबारे छलफल भएको जनाइएको छ ।
प्रभु बैंकको नयाँ शाखा कालीकोटको मान्मामा
काठमाडौं । प्रभु बैंकले आजदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं. १ स्थित मान्मामा ३०५ औं शाखा बिस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको मान्मा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ ।
शेयर बजारमा १७.०४ अंकको गिरावट, करीब साढे ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घट्दा नेप्से पुनः २१ सय अंकभन्दा तल झरेको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजनक रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.०४ अंकले घटेको हो । ०.८० प्रतिशतले बजार घट्दा नेप्से २०९५.२५ अंकमा झरेको छ ।
बजार तल झरे पनि होटल समूह ०.०४ प्रतिशतले बढ्यो भने बाँकी सबै राताम्मे भए । लघुवित्त समूह सबैभन्दा बढी १.७१ प्रतिशतले घटेको हो ।
आज ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, शिवश्री हाइड्रो, कुथेल बुखरी हाइड्रो र दिव्यश्वरी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९४, ८.१७, ७.३५ र ६.७१ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै भगवती हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ४० लाख ५३ हजार ४ सय ९२.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
भोलि सोमबार भने सरकारले बक्र इदको सार्वजनिक बिदा दिएका कारण शेयर बजार बन्द रहने छ ।
स्कटल्यान्डले अष्ट्रेलियालाई दियो १८१ रनको लक्ष्य
काठमाण्डौं । स्कटल्यान्डले आईसीसी टी२० विश्वकप २०२४ मा अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो ।
युवा अलराउण्डर ब्रेन्डन म्याकमुलेनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । जर्ज मुन्शे २३ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।
ओपनर माइकल जोन्स २ रनमै आउट भएका थिए । त्यसपछि जर्ज मुन्शे र ब्रेन्डन म्याकमुलेन ४८ बलमा ८९ रनको सानदार साझेदारी गरेका थिए ।
मुन्शे म्याक्सवेलको नवौं ओभरको अन्तिम बलमा डीप मिडविकेटमा क्याच आउट हुँदा स्कटल्यान्ड ९२.२ को अवस्थामा थियो । त्यसपछि भने आक्रामक क्रिकेट खेल्न सकेन ।
कप्तान रिची बेरिंग्टन ३१ बलमा १ चौका र २ छक्कासहित ४२ रनमा नट आउट रहे । म्याथ्यु क्रस १८ र माइकल लिक्स ५ रनमा आउट भए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । एश्टन अगर, नाथन एलिस र एडम जाम्पाले १.१ विकेट लिए ।
समूह बी मा स्कटल्यान्ड ३ खेलमा २ मा जित र १ खेल नतिजाविहीन हुँदा ५ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । ४ खेलमा ५ अंक भएको इंग्ल्यान्डको नेटरनरेट ३.६११ र स्कटल्यान्डको २.१६४ छ । स्कटल्यान्ड विजयी भएमा सुपर ८ मा पुग्नेछ । स्कटल्यान्ड पराजित हुँदा इंग्ल्यान्ड सुपर ८ मा पुग्नेछ । अष्ट्रेलिया सुरुवाती तीन खेलमा जितका साथ सुपर.८ मा पुगी सकेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलले निरन्तरता पाउने जानकारी दिईएको छ ।
आज पनि तीन वटा मन्त्रालयको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने जनाईएको छ ।
त्यसैगरी, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खचए रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सय दिनमा कुनै नराम्रो काम नगरेको गृहमन्त्रीको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सरकारमा सहभागी भएको एक सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरेका हुन्।
यस्तै उनले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको जानकारी दिएका छन। उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ। यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा।’
उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको जनाउँदै उनले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरे।
















