काठमाडौं । वाणिज्य बैंकहरूले असारका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार ११ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।
जेठ महिनामा औसतमा ६.९९ प्रतिशत विन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६.८६ प्रतिशत विन्दुमा झरेको छ ।
असार महिनाका लागि बैंकहरुको यस्तो निक्षेपको औसत ब्याजदर ०.१२ प्रतिशत विन्दुले घटेको हो ।
त्यस्तै, बैंकहरुको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ०.१३ प्रतिशत विन्दुले घटेको छ ।
घटाउनेमध्येमा ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७.५ प्रतिशत रहेको बैंकको ब्याजदर असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशत विन्दुले घटेर ५.५ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक रहेका छन् ।
हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशत विन्दु ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.२५ प्रतिशतका दरले ब्याज दिने सूचनामा उल्लेख छ ।
सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक नै रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ । जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको थियो ।
असारका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
नेदरल्याण्ड्सलाई हराउँदै बंगलादेश ‘सुपर ८’ नजिक
काठमाण्डौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।
वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक १३४ रनमा समेटियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।
बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो ।बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए ।
यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।
त्रिशुलीमा खस्यो बस ः २० जना घाइते, पाँचको अवस्था गम्भीर
काठमाण्डौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेको छ ।
चितवनको फिस्लिङ बजारनजिक बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले जानकारी दिएका छन ।
उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९ च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रबार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो ।
दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जनाए ।
बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।
स्पीडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशुली किनारमा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते भएका छन् ।
बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूचीे
काठमाडौं । प्रतिनिधि सभाको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने जनाईएको छ ।
बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र नेमकिपाका सांसद प्रेम सुवालले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’’ भनी खर्च कटौतीको प्रस्ताव गर्नेछन ।
यसैगरी, सांसद नागिना यादवले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दा अर्का सांसद तेजुलाल चौधरीले खानेपानी मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन ।
सांसद मैना कार्की र रोशन कार्कीले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालयका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन ।
यस्तै, सांसदद्वय डा. धवलशमशेर जगबहादुर राणा र राजेन्द्र बजगाँईले ‘‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
रूग्ण उद्योगहरू पुनः सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं ः प्रचण्ड
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने जानकारी दिएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको जनाए ।
ती उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा उनले जोड दिए ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौं । त्यसैले कुन–कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं । अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौं ।’
प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रष्ट हुनुपर्ने जानकारी दिए ।
उनले भने, ‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन् । सार्वजनिक निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौं ।’
छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायतको उपस्थिति थियो ।
कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएको मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले जानकारी दिए ।
सुनार कार्यालयकै महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले कार्यालयभित्र अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।
मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने एसएसपी यादवले जानकारी दिए ।
विभाजन र गुटबन्दी गर्नेहरुलाई एमालेमा ठाउँ नदिने ओलीको चेतावनी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने चेतावनी दिएका छन् ।
बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई पार्टीभित्र ठाउँ छैन’, उनले भने, ‘आन्तरिक सङ्घर्षका लागि ठाउँ छैन छलफल र विचार विमर्श गर्नलाई ठाउँ छ ।’ भित्री पार्टी सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै उनले भित्री पार्टी छलफल भन्नुपर्ने पनि जानकारी दिए ।
अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउन खोजेको पनि जनाए । पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने ओलीको कार्यकर्तालाई सुझाव छ । ‘हाम्रो एकताकै कारण पार्टी सिद्ध्याउँछु भन्नेहरू असफल भएका हुन् । हाम्रो सुझबुझ र सचेत एकताले हो नै उनीहरू असफल भएका हुन्’, अध्यक्ष ओलीको भनाइ छ । पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने भन्दै ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको जानकारी दिए ।
‘एउटा करायो केपी ओलीले १०८ केजी सुन चढाएँ भनेर पित्तल चढायो । छानबिन गरिपाऊ भन्यो । पशुपतिमा चढाएको जलहरी भत्काएर, तौलिएर, घोटेर । कहाँ गयो त्यो कराउने रु’, ओलीको प्रश्न छ । उनले गिरीबन्धु टिस्टेटमा ५१ र १९ विगाहा विक्री गरेर कांग्रेसले बेचेर खाएको भन्दै उनले आफूले कानुन बनाएपछि खान नपाउँदा स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।
प्रभु बैंक र धुलिखेलको आगन्तुक रिसोर्टबीच संझौता
काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई धुलीखेलमा अवस्थित आगन्तुक रिसोर्टले विशेष छुट दिने भएको छ । प्रभु बैंकले एक समारोहबीच आगन्तुक रिसोर्टसँग नयाँ संझौता गरेको हो ।
प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नयाँ सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
उक्त रिसोर्टबाट चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड जस्ता प्रसिद्ध धार्मिक स्थल अवलोकन गर्न सकिन्छ । साथै गणेश हिमाल, जुगल हिमाल जस्ता अन्य विभिन्न हिमश्रृंखला पनि देख्न सकिन्छ ।
काठमाडौंको कोलाहलबाट केहीबेर बाहिर निस्कन र रमाइलो गर्नका लागि यो एक उपयुक्त स्थान हो । आन्तरिक एवंम बाह्य पर्यटनका लागि काभ्रे जिल्ला रमणीय स्थलको रुपमा प्रख्यात छ । उक्त रिसोर्टबाट सूर्योदयदेखि सूर्यास्तसम्मको दृश्य अवलोकन गर्न सकिन्छ ।
शेयर बजारमा ९.३२ अंकको गिरावट, कारोबार, रकम भने बढयो
काठमाडौं । शेयर बजारमा साताको अन्तिम दिन आज करेक्शन आएपछि कारोबार रकम ह्वात्तै बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३२ अंकले तल झरेको हो । ०.४३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २११२.२९ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक र फाइनान्स समूह क्रमशः १.३१ र २.०३ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी उत्पादनमूलक समूह १.०३ प्रतिशतले घटेको छ ।
आज ३१३ कम्पनीका १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ८.११ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा करेक्शन देखिए पनि तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, कुथेली बुखरी हाइड्रो र साधना लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेपाल फाइनान्स लिमिटेडको उच्च करोाबार भएको छ । उक्त कम्पनीको २८ करोड ४७ लाख ३९ हजार ६सय ९७.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ४.५९ प्रतिशतले घट्दा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२.४४ रुपियाँ, सोमबार ८.९० अंकले बजार बढ्दा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७ सय ८२.२८ रुपियाँ, मंगलबार ३३.१५ अंकले बजार बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७ सय ३९.०६ रुपियाँ र हिजो बुधबार ६.३७ अंकले बजार बढ्दा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५.१३ रुपियाँ बराबरको कारोबार भएको थियो ।
















