काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश विजयी भएको छ । श्रीलंकाले दिएको १२५ रनको लक्ष्य १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्दै बंगलादेशले २ विकेटको जित निकालेको हो ।
खराब सुरुआत गरेका बंगलादेशलाई लिटन दास र टोहिड हेरिडोको पारिले उकासेको हो । सुरुमै सौम्य सरकार र तनजिद हसनलाई गुमाएको बंगलादेशको ब्याटिङलाई लिटन दास र हेरिडोले सम्हालेका थिए । लिटन दास ३८ बलमा ३६ रन बनाएर आउट हुँदा एक छक्का र २ चौका प्रहार गरे । यसैगरी हेरिडोले २० बलमा ४० रनको आक्रामक पारि खेल्दा चार छक्का र एक चौका हाने ।
सकिब अल हसन ८ रनमा आउट हुँदा कप्तान नजिमुल होसेन ७ रनमात्र जोडेर पभेलियन फर्किए । अन्तिम २ ओभरमा ११ रन आवश्यक परेका बेला बंगलादेशका मोहम्दुल्लाहले छक्का प्रहार गर्दै जित नजिक लगेका थिए । उनले १३ बलमा १६ रनको नटआउट पारि खेल्दै जित दिलाए ।
श्रीलंकाका नुवान तुसाराले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । वानेन्दू हसरंगाले दुई विकेट हात पारे ।
डालसमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको हो । खराब सुरुआत गरेको श्रीलंकाका लागि पथुम निसनकाले सर्वाधिक ४७ रन बनाउँदा धनञ्जय डी सिल्भाले २१ तथा चरिथा असंलंकाले १९ रन बनाए ।
यस्तै, एन्जेलो म्याथ्युजले १६ रन जोड्दा कुशल मेन्डिसको ब्याटबाट १० रन बनेको छ । चार खेलाडीले खाता पनि खोल्न सकेनन् ।
बंगलादेशका रिसद होसेन र मुस्तफिजुर रहेमानले तीनरतीन विकेट लिँदा तक्सिन अहमेदले २ विकेट हात पारे । तन्जिम हसन सकिबको नाउँमा एक विकेट रह्यो ।
जितसँगै नेपाल पनि रहेको समूह ‘डी’मा बंगलादेशले २ अंक जोडेको छ । बंगलादेशले पहिलो खेलमै जित हात पार्दा श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।
रोमामाञ्चक खेलमा बंगलादेश विजयी, श्रीलंकाको दोस्रो हार
न्युजील्याण्डमाथि अफगानिस्तानको ऐतिहासिक जित

काठमाण्डौं । अफगानिस्तानले जारी टी २० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।
शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४.४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।
यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध ट (२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।
अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।
नियमावली ल्याएर गाँजा खेतीबारे अध्ययन गरिने गृहमन्त्रीको धारणा
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगकालागि गाँजाको व्यवसायिक खेतीसम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने जानकारी दिएका छन ।
सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।
गृहमन्त्री लामछिानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै नियमावली ल्याएर नै अध्ययन गर्ने दाबी गरे । त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिन सक्ने ठाउँ पनि रहेको धारणा व्यक्त गरे ।
उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँपक्ष र विपक्ष रहेन । गजब लाग्यो, यो आफैमा एउटा महत्वपूर्ण कुरा हो ।’
त्यस्तै, बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको जानकारी दिए । गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको जनाउँदै उनले अप्रत्यक्ष रूपमा खेती हुनु सामान्यजस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने गरेको जानकारी दिए ।
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त
काठमाडौं । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।
एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन् । साँझ राष्ट्रपतिलाई भेटेपछि मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’
मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।
एनएमबी बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डले सम्मानित
काडमाडौं । एनएमबी बैंक “ग्रीन बैंक अफ द इयर २०२४” अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन,मा प्रदान गरिएको हो ।
यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा भएको बैंकले जनाएको छ। एनएमबी बैंक वातावरणीय विचारहरूलाई रणनीतिक रुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।
एनएमबी बैंक २७ वर्षयता नियमित बैंकिङ सेवा सुविधा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । जुन २०२१ मा पनि ‘बैंक अफ दि इयर’ उपाधिबाट सम्मानित भएको हो ।
नबिल बैंक प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्डबाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।
बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको जनाए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ ढुंगानाले भने ।
उनले अवार्ड प्राप्तिमा सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन् । यो अवार्ड जित्नुले बैंक आफैँमा नयाँ बेन्चमार्क तय भएको बैंकले जनाएको छ । डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैंकले प्रतिबद्धता जाहेर गरेका छन् ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी बैंक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक र एनसीएचएलबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोवार गर्न सक्ने गरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ ।
यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन् ।
बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल) बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र एनसिएचएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गाकुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिति थियो ।
देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा र ७१ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रभु बैंक र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिबिच संझौता
काठमाडौं । प्रभु बैंक र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्राली (युआरएल) बीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।
स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवम् आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले संचालन गरेका मुख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहँुको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरुमा उक्त छुट प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतामा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैंक लि।सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापा लगायतको उपस्थिती थियो ।
नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैंकले सेवा प्रदान गर्दै आएको जनाएको छ ।
डेलिभरिमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनु पर्ने प्रधानमन्त्रीको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरि दिएर मात्र संघीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने धारणा व्यक्त गरेका छन ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो धारणा व्यक्त गरेका हुन ।
प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ । आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ । सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ ।’
छलफलका क्रममा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको जनाउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने जानकारी दिए ।
उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ संघीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन् । त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ । जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको जनाए । उनले भने, ‘संघीय निजामती सेवा ऐन संसद्बाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु । यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन् ।’
छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिवलगायतको उपस्थित थियो ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस
जनकपुरधाम । जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी समक्ष दावी पेश गरिएको छ । राति अबेरसम्म बसेको साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन् ।
सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन् ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन ।
साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १,१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनाईएको छ ।