काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोवार गर्न सक्ने गरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ ।
यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन् ।
बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल) बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र एनसिएचएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गाकुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिति थियो ।
देशैभर रहेका २८७ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा र ७१ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको जनाएको छ ।