मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।
शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
यार्सा सङ्कलन गर्न गएका चार जनाको मृत्यु
क्यानडाले दियो आयोजक अमेरिकालाई १९५ रनको लक्ष्य
काठमाण्डौं । आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगिताको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको विशाल लक्ष्य दिएको छ ।
आइबार बिहान अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा जारी खेलमा क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो ।
क्यानडाका लागि २ खेलाडीले अर्धशतक बनाए । नवनीत धलिवालले ६१ तथा निचोलास किर्टोनले ५१ रन जोडे ।
यस्तै श्रेयस मोभ्भाले अविजित ३२ रन जोडेपछि क्यनडाले विशाल स्कोर बनाएको हो ।
अमेरिकाका अलि खान, हर्मीत सिंह र कोने एन्डर्सनले १–१ विकेट लिए ।
अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन गइरहेको प्रतियोगिता नेपाली समयअनुसार जुलाई २ मा सकिँदैछ ।
प्रतियोगितामा २० टोली सहभागी छन् ।
आइतबार साँझ सवा ८ बजे सहआयोजक वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच अर्को खेल हुनेछ ।
समूह ‘डी’मा रहेको नेपालले भने पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेशजस्ता टेस्ट राष्ट्र पनि छन् ।
संघीय संसदका दुवै सदनको बैठक आज, बजेटमाथि छलफल गर्ने कार्यसूची
काठमाण्डौं । संघीय संसदका दुवै सदनमा आजदेखि आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ भने राष्ट्रियसभा बैठक १ बजेदेखि सुरु हुँदैछ ।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१, ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि आर्थिक वर्ष २०८१, ०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।
सरकारमा सहभागी दलहरूसँग परामर्श नगरी बजेट आएको ओलीको अरोप
काठमाण्डौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हालै सार्वजनिक गरेको बजेटप्रति कडा टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले अर्थमन्त्रीको भन्दा पनि पार्टीको जस्तो बजेट देखिएको टिप्पणी गरेका हुन् । एमाले संसदीय दलको शनिबार बसेको बैठकमा बोल्दै ओलीले सरकारमा सहभागी दलहरूसँग परामर्श नगरी बजेट आएको आरोप लगाए । ‘सत्तारुढ दलमा छलफल नहुँदा अर्थमन्त्रीको भन्दा पनि पार्टीको जस्तो बजेटजस्तो देखियो’, ओलीले भने ।
‘बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ’, उनले भने ।
मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरी समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौलजस्तो देखिएको पनि ओलीको टिप्पणी छ ।
बजेटमा केही कमी रहेपनि एमालेले बजेटलाई समर्थन र पारित गर्ने उनले स्पष्ट पारे । ‘बजेटलाई हामी समर्थन गर्छौं र पारित गर्छौं । यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनु हुँदैन भन्ने होइन ।’
बजेटमा रहेका आफ्ना मतहरूलाई संसदमा हुने छलफलका क्रममा स्पष्ट राख्न र प्रयाप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई ओलीले निर्देशन पनि दिए ।
नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् ।
गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । उजुरी, जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिएका थिए ।
गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेका हुन् ।
नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो ।
राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै छ । त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
तत्कालीन छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्यअनुसार युवराज दीपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर, उक्त प्रतिवेदनको दाबीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।