काठमाण्डौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्षमा नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई साथ दिने भएका छन् । बुधबार बिहान खनाल निवास डल्लु भएको छलफलमा भुसाललाई पार्टी अध्यक्षमा समर्थन गर्ने सहमति भएको हो ।
यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै आएका थिए । ‘एकीकृत समाजवादीको नयाँ नेतृत्वमा अब घनश्याम भूसाल अगाडि बढ्नुहुन्छ । उहाँलाई नै झलनाथ खनालको साथ हुने भएको छ’, छलफलमा सहभागी नेताले भने ।
एकीकृत समाजवादीको महाधिवेशन १६ असारदेखि काठमाडौंमा सुरु हुँदैछ । झलनाथ खनालको उत्तराधिकारीका रुपमा घनश्याम भूसाल अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।
तत्कालीन एमाले र २०७८ भदौमा बनेको एकीकृत समाजवादीभित्र खनाल र भूसालबीच निकटको सम्बन्ध थियो । दशौं राष्ट्रिय महाधिवेशनमा खनाल र भूसाल दुवैले अध्यक्षको दाबी गरेका थिए । दुवै नेताका पार्टीभित्र धेरै मानिस साझा थिए । त्यसैले खनाल र भूसाललाई मिल्न दबाब थियो ।
छलफलमा खनाल र भुसालसहित प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, युवा नेताहरूमा नरेश शाही र सन्दिप राई सहभागी थिए । पछि खनाल र भुसालबीच एक्लाएक्लै छलफल भएको थियो ।
अध्यक्ष माधवकुमार नेपालले भने फेरि पनि नेतृत्वमा निरन्तर रहन प्रयत्न गरिरहेका छन् । अध्यक्ष नेपालले सर्वसम्मति नभएर चुनाव लडेर भएपनि नेतृत्वमा रहनेगरी तयारी गरिरहेका छन् ।
महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
एकीकृत समाजवादीको अध्यक्षमा घनश्यामलाई झलनाथको साथ
छानबिन समितिले माग्यो गोरखा मिडियामा रकम गएको सहकारीको कागजात
काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ ।
संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।
समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।
यी मध्ये पोखराको सूर्यदर्शन लगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो । तत्कालीन समयमा वर्तमान गृहमन्त्री रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए । समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ ।
समितिले विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रबाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय गरेको छ ।
प्रभु बैंकका ग्राहकलाई मुस्ताङका १० भन्दा धेरै होटलमा छुट
काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरुलाई विशेष छुट प्रदान गर्न मुस्ताङमा रहेका विभिन्न होटलहरुसँग सम्झौता गरेको छ । बैंकले विभिन्न १० भन्दा धेरै होटेलका संचालकहरुसँग छुट्टाछुट्टै समारोहमा सम्झौता गरेको हो।
प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा ती होटलहरुमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्नसक्ने छन् ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि आवास तथा खानामा ती होटलले १० प्रतिशतसम्म छुट दिने सहमति भएको छ ।
प्रभु बैंकले सम्झौता गरेका होटल तथा रेस्टुरेन्टहरुमा होटल डे पुराङ, युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड साम्बाला, मुक्तिनाथ होटल सनराइज, जोमसोम एयरपोर्ट, होटल मन्डला लोमान्थाङ, होटल त्रिवाटिका, इको हिल रिसोर्ट, होलिडे क्याम्प, होटल ताङसारा, लुम्बिनी एन्ड रेस्टुरेन्ट, सी यु लज एन्ड रेस्टुरेन्ट र मार्फा अर्कार्ड होटल रहेका छन् ।
शेयर बजारमा ११.६० अंकाको गिरावट, चार अर्ब पाँच करोडको कारोबार
काठमाडौं । दुई दिन लगातार झिनो सुधार देखिएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.६० अंकले तल झरेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.१६ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि वित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमशः ०.४५, ०.१४ र ०.२२ प्रतिशतले बढेका छन् । अरु राताम्मे भएका छन्, सबैभन्दा बढी विकास बैंक समूह १.०३ अंकले घटेको छ ।
आज ३०५ कम्पनीका ८७ लाख २७ हजार १ सय ६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७ सय ३४.२२ रुपियाँ बराबरको कारोबार भएको हो ।
सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले ९.५५ प्रतिशतले नाफा कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
त्यस्तै नेपाल फाइनान्सको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड ४६ लाख १८ हजार ८ सय ३०.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार ५.३७ प्रतिशतले घट्दा ४ अर्ब ३७ करोड, ४५ लाख ९७ हजार ४ सय ५८.६५ रुपियाँ, सोमबार बजार ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार १ सय १६.१५ रुपियाँ र हिजो मंगलबार बजार ५.६० अंकले बढ्दा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३.८९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
विराटनगरमा ५०० भन्दा बढी घर डुबानमा
विराटनगर । रातभर वर्षाका कारण विराटनगरमा ५०० भन्दा बढी घर डुवानमा परेका छन । विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् ।
नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
पहिरोले घर बगाउँदा लमजुङमा ४ जना बेपत्ता
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल प्रस्थान गरिसकेको जनाइएको छ ।
पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु
काठमाण्डौं । पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ ।
मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्माको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।
त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।
आज एसइईको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन ।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।
कार्यालयले गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
परीक्षा नियन्त्रक पौडेलले यसवर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाएका छन । यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
२ करोड लुटपाट गर्ने ४ जना पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ ।
भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोली भन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको जनाईएको छ ।
उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यारत छन । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ ।
त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन ।
बजेट राम्रो भएकाले बहुमतले पास भएको ओलीको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बजेट राम्रो भएको जानकारी दिएका हुन । ूराम्रो छ र बहुमतले पास गर्यो,ू उनले भने ।
तर, यसअघि बजेट आएलगत्तै ओलीले संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको जनाए ।