पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु

काठमाण्डौं । पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ ।
मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्माको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।
त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।

LEAVE A REPLY