काठमाडौं । आगामी आर्थिक वर्ष २०८१, ०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन ।
सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
प्रतिनिधिसभाबाट आर्थिक वर्षको बजेट बहुमतले पारित
एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने ‘प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं ।’
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।
त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने जानकारी दिईएको छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जानकारी दिएको छ । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।
कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिट सर्वोच्च अदालतद्धारा खारेज
काठमाण्डौं । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार फैसला सुनाउँदै अदालतले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट खारेज गरेको छ ।
सर्वोच्चले केदार कार्कीको रिट खारेज गरेसँगै कोशीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले वैधानिकता पाएको छ ।
गत जेठ ३१ गतेदेखि ४ दिन न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेद र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुँदै आएको रिटमा मंगलबार बहस सकिएपछि रिट खारेजीको फैसला भएको छ ।
केन्द्रमा गठबन्धन फेरिएसँगै संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री भएका केदारलाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएको १ महिना अर्थात् वैशाख २६ गतेभित्र केदारले प्रदेश सभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले केदारलाई पदमुक्त गरेर हिक्मतलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित हिक्मतले बहुमतको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
प्रभु बैँकका कर्मचारीहरुलाई नेपाल क्यान्सर हस्पिटलमा छुट दिने सम्झौता
काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।
एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यद्घारा हस्ताक्षर गरियो ।
सम्झौता अनुसार प्रभु बैँकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।
समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो ।
स्तन सम्बन्धि क्यान्सरका डा।प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा।अनु बज्राचार्य ले चेतना मुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।
बैंकले नेपालभरका ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
नेपाल चीन परराष्ट्रसचिवस्तरीय बैठक आज बस्दै
काठमाडौं । नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ ।
बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आर्इसकेका छन ।
यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले बैठकको नेतृत्व गर्दै छन ।
बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले व्यापार, लगानी र पर्यटन प्रवद्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनिया सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ ।
बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई शीघ्र सम्पन्न गर्नेबारेसमेत छलफल हुने परराष्ट्रले जनाएको हो ।
यसैबीच तीन दिने नेपाल भ्रमणमा रहेका वेइडोङले सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा हिजो साँझ भएको भेटमा प्रधानमन्त्री दाहाल र उपविदेशमन्त्री सुनबीच नेपाल(चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँगसमेत शिष्टाचार भेटवार्ता गर्नेछन ।
संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ ।
संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।
यस्तै, पुनले नै ‘आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधयेक, २०८१ माथि विचार गरियोस्’ भनी तीन वटा प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन् । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने क्रमले आज पनि निरन्तरता पाउने कार्यसूचीमा उल्लेख छ ।
मंगलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।
बम्जन बाल यौन दुराचारमा दोषी ठहर
काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।
जीबी राईको पक्राउका लागि व्यग्र प्रतिक्षामा रहेको गृहमन्त्रीको दाबी
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई फर्काउन नेपाल र मलेसिया कानुनी परामर्शमा रहेको दाबी गरेका छन ।
गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा जीबी राई पक्राउ गर्न सरकार प्रयत्नशिल रहेको जनाउँदै जीबी राईलाई नेपाल ल्याउन कानूनी कठिनाइ भैरहेको जानकारी दिए ।
उनले जीबी राई पक्राउको विषयमा आफू पनि व्यग्रप्रतिक्षामा रहेको जनाउँदै छिटै उनलाई नेपाल ल्याइने जनाएका हुन । उनले अदालत र राहदानी विभागले जीबी राईको राहदानी रोक्का गर्न अस्वीकार गरेको संसदमा जानकारी दिए ।
सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई रोकेको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य रोकेको जानकारी दिएको हो ।
कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।
पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।
स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
काठमाण्डौं । आर्थिक वर्ष २०८१, ८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् ।
७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज आफ्नो एक वर्षे आय व्यवको विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
हिजोसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन्।
आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ ।