Page 11

मुगुमा भूकम्पको धक्का

काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन ।

बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिँदै

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन । विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन ।
सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेका बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेकपा (एमाले) बाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी गरिएको जनाईएको छ ।
गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए ।

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको अनुरोध

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आफ्ना शुभेच्छुकहरूलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शुभकामना तथा बधाई दिनेको ओइरो लागेपछि उनले आफूलाई भेटेर प्रत्यक्ष भेटेर शुभकामना दिनुभन्दा पनि डिजिटल माध्यमको प्रयोग गरेर शुभकामना र बधाई दिन अनुरोध गरेका हुन् । साथै उनले बधाई दिँदा माला, खादा लगायत प्रयोग नगर्न पनि अनुरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ । शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादारमाला प्रयोग नगर्न अनुरोध गर्छु ।’

महान्यायाधिवक्ताले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जानकारी दिएको छ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए।

सरकार परिवर्तनले सिंगै देशलाई आशा जगाएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले सिंगै देशलाई आशा जगाएको दाबी गरेका छन ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले आज बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको जानकारी दिएका हुन । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ । ‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ र सिङ्गै देशलाई पनि जगाएको छ’, उनले भने ।
भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले जनाए । ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुनका लागि होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’, उनले भने ।
प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले जनाए । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे ।
यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको जनउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । ‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छ, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’, उनले भने ।
अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले जनाए । नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले जनाए ।
हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उनले जनाए । त्यसलाई गृह मन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहनुभएको उनले सुनाए । प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा कसरी गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले जानकारी दिए । उनले गत वर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।
ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने जनाए । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उनले जनाए । ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको जानकारी दिए । हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको जनाउँदै उनले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने ओलीले प्रष्ट पारे ।
सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गरे । नागरिकको आत्मीयता र माया मर्न नदिने उहाँले विश्वास दिलाए । प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने जनाए।

 

विद्युतीय सवारी किन्दा एनएमबि बैंकबाट ७ वर्षसम्म स्थिर ब्याजदरमा कर्जा पाइने

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।
ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्नेछन् ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

शेयर बजारमा ७०.१८ अंकको उछाल, नौ अर्ब बढीको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८१,८२ को पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । बजार उचालिएसँग नेप्से २३ सय अंक माथि पुग्दा कारोबार रकम पनि ९ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.१८ अंकले बढेको हो । ३.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१०.५९ अंकमा पुगेको छ ।
बजारमा उछाल आए पनि म्युचुअल फण्ड ०.४२ प्रतिशतले घटेको छ भने बाँकी समूहमा हरियाली छाएको छ । हाइड्रो समूह सबैभन्दा बढी ५.४५ प्रतिशतले बढेको हो ।
आज ३१५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ५ कम्पनीका लगानीकताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा थप ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
आज ४९ कम्पनीका लगानीकर्ताले मात्रै घाटा व्यहोरे । नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२, एनआईबीएल ग्रोथ फण्ड र एलबीबीएल ऋणपत्र २०८९ का लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरे । आईसीएफसी फाइनान्स र प्राइम ऋणपत्र २०८८ का लगानीकर्ताहरुले ९.६५ र ९.१४ प्रतिशतले घाटा व्यहोरे ।
ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ र हिजो सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ बराबरको कारोबार भएको थियो ।

रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम) वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको मृत्यु भएको हो ।
बाढीले बगाउँदा १ जना वयस्क व्यक्ति बेपत्ता भएका छन् भने ६ जना घाइते हुन पुगेका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले जानकारी दिएका छन ।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, आठ वर्षीय धनसा पुन र चार वर्षीय मनिषा सार्की रहेका छन् । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् ।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् ।

प्रधानमन्त्री ओलीले साउन ६ मा संसद्मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ मा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन ।
ओलीले चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन ।
अब साउन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न गृहमन्त्री लेखकले बनाए कार्यदल

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएका लेखकले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका गृह मन्त्रालयले जानकारी दिएको छ ।
कार्यदललाई प्रतिवेदन बुझाउन १० दिन समय दिइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान पहिरोले दुई वटा बस बगाएको थियो । त्रिशूली नदीमा खसेका बस अहिलेसम्म फेला परेका छैनन् ।
सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म केही शव फेला परे पनि अन्य यात्रु र बस भेटिएका छैनन् ।

 

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...