सरकार परिवर्तनले सिंगै देशलाई आशा जगाएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले सिंगै देशलाई आशा जगाएको दाबी गरेका छन ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले आज बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको जानकारी दिएका हुन । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ । ‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ र सिङ्गै देशलाई पनि जगाएको छ’, उनले भने ।
भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले जनाए । ‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्विकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुनका लागि होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’, उनले भने ।
प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले जनाए । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे ।
यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको जनउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । ‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छ, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’, उनले भने ।
अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले जनाए । नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले जनाए ।
हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उनले जनाए । त्यसलाई गृह मन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहनुभएको उनले सुनाए । प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा कसरी गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले जानकारी दिए । उनले गत वर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।
ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने जनाए । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उनले जनाए । ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको जानकारी दिए । हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको जनाउँदै उनले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने ओलीले प्रष्ट पारे ।
सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गरे । नागरिकको आत्मीयता र माया मर्न नदिने उहाँले विश्वास दिलाए । प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने जनाए।

 

LEAVE A REPLY