Page 8

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित घरमै ८० वर्षीय रायको हत्या भएको हो।
अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी रायको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनको हत्या भएको खबर गएराति १ बजे आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपक श्रेष्ठले जनाएका छन।
खबर आएलगत्तै घटनास्थल पुगेको प्रहरीले रायलाई कोठा भित्र मृत अवस्थामा फेला पारेको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिम प्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। परिवारसहित मलंगवा बस्दै आएका राय आइतबार मात्रै रतनपुर आएको जनाईएको छ।

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले सोमबार संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ ।
नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोख बहादुर महराले राजीनामा दिएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो । दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जनाए ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भइसकेको छ । लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयकाअनुसार आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।
त्यस्तै, आजको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संविधान संशोधन आवश्यकता भएको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज रहेको र जनताको आवश्यकतालाई मध्यनजर गर्दै परिमार्जन गर्न सकिने टिप्पणी गरेका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्य पुष्टि हुनेगरी सकभर सर्वसम्मतिबाट संविधान संशोधन हुने जनाए ।
“संविधान संशोधनीय, गतिशील र जीवन्त दस्ताबेज हो । यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ । संशोधन रहरको विषय होइन । आवश्यकताको विषय हो”, प्रधानमन्त्री ओलीले भने, “कुनै आग्रह पुर्वाग्रह राखेर संविधान संशोधन यस्तो उस्तो गर्ने भन्दैनौ । देशको आवश्यकता, विकासका माग सम्बोधनका लागि जे गर्दा उपयुक्त त्यहि गर्नुपर्छ ।”
संसदमा रहेका सबै दलको सहमतिको साथ नै संविधान संशोधन हुने अपेक्षा प्रधानमन्त्री ओलीले व्यक्त गरे । “संविधान निर्माणका बखत पनि सर्वसम्मत भएको थिएन । पहिलो संशोधनका बेला पनि सर्वसम्मति थिएन । जो जसका जे जस्ता विचारधारा भएपनि हामी एक ठाउँमा आउन सक्छौँ । यदि आउन सकिएन भने संविधानले आफ्नो प्रक्रिया आफ्नो निर्धारण गरेको छ”, उनले भने ।
देश र जनताको हितको पक्षमा तथा अग्रगमनको पक्षमा रहनेगरी संविधान संशोधन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । त्यस्तै, लोकतन्त्रको रक्षा र सुदृढीकरण, सुशासन प्रवद्र्धन र विकास तथा समृद्धिका लागि संविधान संशोधन हुने प्रधानमन्त्री ओलीले भने ।
संसदमा आएका राम्रा सुझावलाई ग्रहण गर्ने र आक्रोश, उत्तेजना तथा गालीगलौजलाई आफूले बिर्सिने प्रधानमन्त्रीले जानकारी दिए । त्यस्तै भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । प्रतिशोधको राजनीति आफूले नगर्ने र आफूलाई पनि सह्य पनि नहुने उनले जनाए ।

प्रधानमन्त्रीले पाए संसद्‌को दुई तिहाई विश्वास

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाईको विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।
प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत पर्‍यो भने दिन्न भन्नेमा १ मत पर्‍यो ।
ओलीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले मत दिएका छन् ।
ओली ३० असारमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए । ओली २०४८ सालबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । उनी २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट सांसद निर्वाचित भएका थिए ।
उनले २०६४ सालको संविधान सभा चुनाव बाहेक २०४८ पछि भएका सबै निर्वाचन जितेका छन् ।
ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भएका थिए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।
त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष छन् ।

प्रमोकोड फोनपे डिरेक्ट प्रयोग गरे जित्न सकिन्छ आईफोन १५ प्रो

काठमाडौं । भुक्तानी सेवा सञ्चालक फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्तालाई सजिलो हुने कुरा विशेष रूपमा जनाएको छ । यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ ।
अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ । यो मेगा उपहार जित्ने मौका पाउन प्रयोगकर्ताले फोनपे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्सनमा विशेष प्रमोकोड ‘फोनपे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डिरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ ।

एनएमबि बैंकद्वारा ८.९२ प्रतिशतदेखी सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिङ ब्याजदर उपलब्ध गराएको छ ।
एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् ।
घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

शेयर बजारमा ६१.६१ अंकको उछाल, सवा १५ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज यो साताको पहिलो दिन पनि उच्च अंकले बढेको छ । केही दिनदेखि बजार निरन्तर बढिरहेको हो । नेप्से उचालिएसँगै कारोबार रकम पनि बढिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६१.६१ अंकले बढेको छ । २.५४ प्रतिशतले बजार बढ्दा नेप्से २४८५.९४ अंकमा पुगेको छ ।
बजारमा उछाल आएसँगै सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी ट्रेडिङ समूह ६.८० प्रतिशतले बढेको हो ।
३१५ कम्पनीका ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता शेयर किनबेच हूँदा आज १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । यूनाइटेड मोदी हाइड्रो, हिमालयन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रो, एनएमबि५०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कमारी बैंक र सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९८, ९.८६, ९.५५, ९.४९, ९.२१ र ९.०८ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सिक्लेस हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३४ करोड १० लाख ९६ हजार ३ सय ७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसको सहयोगमा गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई एमालेसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपाले भने विपक्षमा मत हाल्ने निर्णय गरिसकेका छन् ।
एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । नेपाली कांग्रेसले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसले पनि आफ्ना सांसदलाई ह्विप जारी गर्ने तयारी गरेको छ ।

महिला एसिया कपमा आज नेपालले पाकिस्तानसँग सामना गर्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले हराउँदै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
आजै हुने समूह ‘ए’को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ । भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आइतबार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।
त्यस्ते, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...