काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाईको विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए ।
प्रधानमन्त्री ओलीको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत पर्यो भने दिन्न भन्नेमा १ मत पर्यो ।
ओलीको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले मत दिएका छन् ।
ओली ३० असारमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त भएका थिए । ओली २०४८ सालबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आएका छन् । उनी २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट सांसद निर्वाचित भएका थिए ।
उनले २०६४ सालको संविधान सभा चुनाव बाहेक २०४८ पछि भएका सबै निर्वाचन जितेका छन् ।
ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भएका थिए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।
त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष छन् ।














