काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनाए ।
यसअघि सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय
राष्ट्रिय सभाबाट टीआरसी विधेयक सर्वसम्मत पारित
काठमाडौं । राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) पारित भएको छ।
आज बसेको राष्ट्रिय सभा बैठकबाट प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त टीआरसी विधेयक सर्वसम्मत पारित भएको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका थिए ।
प्रहरीमा ३० वर्षे सेवाअवधि कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाण्डौं । सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरी नियमावलीको प्रावधान कार्यान्वयन नगर्न आदेश दिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ समेतले वारिसमार्फत बुधबार दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले सरकारमाथि गम्भीर प्रश्न तेर्स्याउँदै अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश फुयालको एकल इजलासले प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिमको ३० वर्षे अवधिको आधारमा सेवाबाट अवकास हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनु र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।
ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच संझौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्यान्तका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले हस्ताक्षर गरे ।
आध्यान्त फण्ड म्यानेजमेन्टले साना तथा मझौला उद्यमीहरुको व्यापार विस्तार तथा व्यावसायिक क्षमता अभिवृद्वि गर्न प्राविधिक सहायता तथा परामर्श लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंक र आध्यान्तबिचको सहकार्यले उद्यमीहरुलाई विभिन्न प्रकारका तालिम तथा वित्तीय पँहुच सहज बनाउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको छ ।
आध्यान्त फण्ड म्यानेजमेन्टको साना तथा मझौला क्षेत्रमा रहेको अनुभवलाई उपयोग गरी यस क्षेत्रका उद्यमीहरुको ब्यापार व्यवसाय विस्तार र उद्यमशीलताको पहुँच विस्तार गर्दै बैंकले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी गर्दै आईरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ–व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच महासंघसँगमा आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको तर्फबाट महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्नेछ ।
महासंघको अध्यक्ष उमेश प्रसाद सिंहले खुशी व्यक्त गर्दै अगामी दिनमा झन सहज तरिकाबाट उद्योगीहरुले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यवसायिक साक्षारतामा बैंकको सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।
टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले सहज कर्जा दिने
काठमाडौं । टाटा ब्रान्डका गाडी खरिदको लागि महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजमै कर्जा प्रदान गर्ने भएको छ ।
बैंक र टाटाको डिलर जेबी अटोमोटिभ कम्पनीबीच भएको सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
शेयर बजारमा ६.०१ अंकको सुधार, १९ अर्ब १६ करोड रुपियाँको कारोबार
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.०१ अंकले उचालिएको हो । ०.२० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९७४.४६ अंकमा उक्लिएको छ ।
समग्रमा बजार उचालिए पनि लगानी, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूह भने राताम्मे भए । बाँकी समूहमा हरियाली छायो । आज सबैभन्दा बढी विकास बैंक समूह ४.५२ प्रतिशतले बढ्यो ।
आज ३३३ कम्पनीका ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५.५६ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न ७ कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ । तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै सिद्धार्थ बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १ अर्ब ३ करोड ९३ लाख ४१ हजार ५ सय ४३.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३४.४७ अंकले घट्दा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३ सय ७६.१२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार जनै पूर्णिमा र मंगलबार गाइजात्रा पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो बुधबार २.११ अंकले बजार उचालिंदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२.०१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्ने
काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने जनाईएको छ ।
आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।
गत वर्षको कात्तिक २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमासमेत व्याख्या गरिरहेका छन् ।
साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै
काठमाण्डौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।
खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दैछन् ।
आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानले माल्दिभ्सलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
दुबै टोलीको समान तीन अंक छ । गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ । आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
भोलि हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।
प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
सांसद् डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्नेछिन ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
यस्तै, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने जनाईएको छ ।